बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘ज्यान बुटवलमा मन गुल्मीमा’

शुक्रबार, १४ जेठ २०७३, ०७ : ५७
शुक्रबार, १४ जेठ २०७३

गुल्मी– गत वैशाख १८ गते गुल्मीको वडागाउँमा आगोलागी भएदेखि गुल्मी पुर्खेयौली घर भई बुटवलमा बसोवास गर्दै आएकाहरुले भने– ‘त्यस दिनदेखि हाम्रो ज्यान मात्रै बुटवलमा छ, मन चाँही पुरै गुल्मीमा छ ।’

वडागाउँको दजाकोटका अग्नी पिडितहरुलाई राहत वितरण गर्न आएकी बुटवल–५ गोलपार्ककी ६६ वर्षीया श्यामकला सतुङ्गेले गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलसँग आफ्नो छातीमा हात राखेर भनिन– ‘ सिडियो साव मेरो गाउँ दजाकोटलाई म आफ्नै हातले सहयोग गर्न दिनुहोस्, मेरो सिंगापुरमा भएको छोराले जति पनि सहयोग गर्छ ।’

उनी बसाई सराई गरेको १२ वर्षपछि आफ्नो पुर्खेयौली घर वडागाउँमा राहत लिएर आईन् । २०५९ सालमा वडागाउँको दजाकोटबाट बसाई सराई गरेर हिँडेका सतुङ्गेका छोरा मदनबहादुर सतुङ्गे सिंगापुरमा छन् । उनले त्यहाँबाट आफू एक्लैले ३ लाख १० हजार रुपैयाँ पठाएर आज आमा श्यामकलाको हातबाट दजाकोटका अग्नी पिडितहरुलाई हस्तान्तरण गराए ।

उनले भनिन्– ‘दजाकोटमा आगोलागी भएदेखि न मेरो छोराको मन त्यहाँ छ न मेरो मन बुटवलमा छ, जतिबेला पनि कसरी बसे होलान् दजाकोटका आफ्ना मान्छेहरु भन्ने चिन्ता मात्रै भई रह्यो ।’ उनले सिंगापुरमा छोरा मदनले त्यहाँ रहेका अरु गुल्मेलीहरुसँग सहयोग जुटाउन सुरु गरेको र करिव ५ लाख थप सहयोग आउने बताईएको छ ।

श्यामकला मात्रै होईन नेपाल मगर महिला संघ बुटवल उप–महानगरपालिकाकी कोषाध्यक्ष मायाँ गलामीलाई आफ्नो घर गुल्मीको ग्वाघा हो भन्ने मात्रै थाहा छ त्यहाँ भने पुगेकी छैनन् । तर पनि उनलाई गुल्मीमा आगोलागीको क्षतिले मन पोल्यो र उनी पनि सहयोग संकलनमा जुटिन् र त्यो सहयोग रकम लिएर पहिलो पटक गुल्मीको वडागाउँमा पाईला टेकिन् ।

सहयोग हस्तान्तरणको नेतृत्व गर्दै आएका बुटवल–८ तिलोत्तमा निवासी गुल्मेली समाज रुपन्देहीका अध्यक्ष इन्जिनियर हिराबहादुर भलामी पनि छातीमा हात राख्दै गुल्मीप्रतिको माया दर्शाए । उनले भने– ‘सिडियो साव हामी बडागाउँका अग्नी पिडितहरुलाई देशमै नमुना सहयोग होस् भन्ने उद्देश्यका साथ जुटेका छौं, म अहिले बुटवल बसे पनि मेरो घर तम्घासको यहि जिल्ला प्रहरी कार्यालय अगाडी हो । मनमा चिन्ता वडागाउँका अग्नी पिडित कै छ ।’

नेपाल मगर महिला संघ बुटवलमा अधिकांश सदस्यहरु गुल्मीकै रहेको वा कुनै न कुनै नाता सम्वन्ध गुल्मेलीसँग जोडिएकोले एकमत भएर संघकी अध्यक्ष ओमी पुनको संयोजकत्वमा सहयोग संकलन अभियानलाई तिव्र पारियो । उनको नेतृत्वमा ८० हजार मुल्य बराबरको कपडा–लत्ता र ३ लाख रुपैयाँ नगद संकलन गरियोे ।

उक्त राहत लिएर गुल्मी आउने धोको बोकेकी अध्यक्ष पुनकी आमा बिरामी परेपछि आउन पाईनन तर छोरी रोजीलाइ पठाईन र मोवाईल मार्फत बडागाउँका अग्नी पिडितहरुलाई माया र सद्भाव दर्शाईन् ।

सहयोग हस्तान्तरण गर्न नेपाल मगर महिला संघबाट वडा नम्वर– ८, ट्राफिक चोक घर भएकी गुल्मी चोयँगाकी चेली पम्फा मिदनु, वडा नम्वर–१२ कालिका नगरबाट रोजी पुन, मणीग्रामबाट ओमकुमारी गाह, गोलपार्कबट धर्मबहादुर थापा मगर र सुष्मा थापा मगर आएका थिए ।

उनीहरुले कुल ६ लाख १० नगद र ८० हजार मुल्य वरावरको सहयोग हस्तान्तरण गरेर फर्किएका छन् । सहयागदाता वुटवलवासीलाई प्रमुख जिल्ला अधिकारी कँडेलले जिल्लावासी र अग्नी पिडितहरुको तर्फबाट आभार प्रकट गरे ।

उता स्थानिय समितिको तर्फबाट हरिप्रसाद छन्त्यालले कृतज्ञता जाहेर गरेका थिए । यो मात्र होईन वडागाउँका अग्नी पिडितहरुलाई अधिकांस सहयोग वुटवलमा वस्ने गुल्मेलीहरुले स्थानिय तहबाट र देश विदेशबाट बढि मात्रमा गरेका छन । यसबाट के बुझ्न सकिन्छ भने अघि पछि जहाँ वसे पनि चाड पर्व, हर्ष खुशीको बेलामा र विपदका वेलामा ज्यान जहाँ भए पनि मन चाँही पुर्खेयौली गाउँ मै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप