शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

एटिएमबाट सुरक्षित कारोबार गर्ने यो हो तरिका

बुधबार, १३ पुस २०७३, १६ : २७
बुधबार, १३ पुस २०७३
ध्रुवकुमार पौडेल, प्रमुख सञ्चालन अधिकृत, सिद्धार्थ डेभलपमेन्ट बैंक बैंक तथा वित्तीय संस्थाको बढ्दो पहुँचसँगै यसको दायरा पनि फराकिलो हुन थालेको छ । एटिएम कार्डको सुविधाबाट ग्राहकले आवश्यकताअनुसार नजिकै रहेको एटिएम बुथबाट निश्चित रकम निकाल्न सक्छन् । यसले गर्दा चेक लिएर बैंकसम्म जानुपर्ने, लाइन बस्नुपर्नेजस्ता झन्झट व्यहोर्नुपर्दैन । अझ विभिन्न मार्ट तथा सपिङ सेन्टरमा यस्तै कार्डमार्फत खरिद पनि गर्न सकिन्छ । नगद बोकिराख्नुपर्ने झन्झटबाट मुक्ति पाइने तथा सुरक्षित पनि हुने कारण एटिएम कार्डको प्रयोग बढ्दो छ । तर, सुविधाको सही तरिकाले प्रयोग गर्दा पाइने फाइदासँगै सामान्य गल्ती या असावधानीले ठूलै नोक्सानी पनि व्यहोर्नुपर्ने हुन सक्छ । एटिएम कार्ड प्रयोग गर्ने ग्राहकले कार्डबाट हुने कारोबारलाई सुरक्षित बनाउन अपनाउनुपर्ने उपायबारे सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत ध्रुवकुमार पौडेलका सुझाब यस्ता छन् : एटिएम कार्डको पिनकोड (पर्सनल आइडेन्टिफिकेसन नम्बर) गोप्य राख्नुपर्छ । यो नम्बर अरूलाई भन्ने वा कुनै कागजात, डायरी र यसलाई कुनै कागजात र इलेक्ट्रोनिक डिभाइसमा लेखेर राख्नु हुँदैन । एटिएम कार्ड अरूको पहुँचबाट सधैँ टाढा राख्नुपर्छ । यसलाई सकेसम्म सधैँ आफ्नै साथमा राख्नु फाइदाजनक हुन्छ । एटिएम प्रयोगकर्ताले एटिएम बुथमा अपरिचित व्यक्तिबाट सहयोग माग्नु हुँदैन । एटिएम बुथमा कहिल्यै पनि हेल्मेट र मास्क लगाएर छिर्नु हुँदैन । बैंकबाट एटिएम कार्ड प्राप्त गर्नेबित्तिकै सिग्नेचर प्यानलमा दस्तखत गर्नुपर्छ । जसले गर्दा तपाईंको कार्ड अन्य कसैले प्रयोग गर्न सक्दैन । बैंकबाट सुरुमा प्राप्त गरेको कार्डको पिन नम्बर प्रयोग गर्नु उपयुक्त हुँदैन । त्यसलाई तुरुन्तै परिवर्तन गर्नुपर्छ । एटिएम कार्डबाट पैसा निकाल्दा सधैँ अरूले नदेख्ने गरी सीधा उभिएर पिन नम्बर हाल्नुपर्छ । एटिएम प्रयोग गर्दा आफ्नो वरिपरि कोही उभिएको छ-छैन ख्याल राख्नुपर्छ । एटिएम बुथबाट प्राप्त रसिद त्यही बाकस या अन्य स्थानमा फाल्नु हुँदैन । त्यसलाई सुरक्षित तरिकाले डिस्पोज गर्नुपर्छ। पिन नम्बर बैंकका कर्मचारीलाई समेत बताउनु हुँदैन । अनलाइन साइटहरू प्रयोग गर्दा विश्वासिला वेबसाइटहरू मात्र प्रयोग गर्नुपर्छ । कार्ड हराएमा तुरुन्त बैंकमा जानकारी गराई कार्ड बल्क गराउनुपर्छ । वेलावेलामा पिन नम्बर परिवर्तन गर्ने बानी बसाल्नुपर्छ । एटिएम मेसिनमा कुनै तार तथा कार्ड छिराउने ठाउँ र पिन प्याड फरक देखिएमा त्यस्तो मेसिन प्रयोग गर्नु हुँदैन । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप