शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल

बिहीबार, २५ असार २०८३, २३ : ४१
बिहीबार, २५ असार २०८३

सारांश

  • आत्मदाह प्रयास गरेका गणेश नेपालीको थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने विषयमा सरकारले छलफल थालेको छ।
  • प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरुङलाई वीर अस्पताल पुगेर गणेशको स्वास्थ्य अवस्थाबारे जानकारी लिन निर्देशन दिएका थिए।
  • राहदानी विभाग अगाडि काठमाडौं महानगर प्रहरी बलले मोटरसाइकलमा ह्वील लक लगाएपछि भएको विवादका क्रममा गणेशले शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए।

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका लागि आवश्यक परे भारतको नयाँ दिल्ली लैजाने विषयमा सरकारले छलफल थालेको छ।

घटनालाई गम्भीर रूपमा लिँदै प्रधानमन्त्री बालेन शाहले बिहीबार राति गृहमन्त्री सुधन गुरुङलाई वीर अस्पताल पुगेर घाइते गणेशको स्वास्थ्य अवस्थाबारे जानकारी लिन निर्देशन दिएका थिए। सोहीअनुसार गृहमन्त्री गुरुङ अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकसँग छलफल गरेका छन्।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार गणेशले आत्मदाहको प्रयास गर्नु अत्यन्त गम्भीर घटना भएकाले उनको ज्यान बचाउन सरकारले सबै सम्भावित प्रयास गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

सोहीअनुसार गृहमन्त्रीसँगको भेटमा उपचारमा संलग्न चिकित्सकले गणेशलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने विकल्पबारे सुझाएको बताइएको छ। यद्यपि यस विषयमा अन्तिम निर्णय भने भइसकेको छैन।

यसअघि बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि राइड सेयरिङ एपमार्फत सेवा दिँदै आएका गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। काठमाडौं महानगर प्रहरी बलले उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि भएको विवादका क्रममा उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।

हाल गम्भीर अवस्थामा उनको वीर अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप