सानो घरको कोठा यसरी सजाउनुहोस्
बुधबार, २६ माघ २०७३, १३ : ०९
हेमा लामा, इन्टेरियर डिजाइनर
घर तथा कोठाको आन्तरिक सजावट गर्दा हामी आफ्नो आवश्यकता र इच्छालाई मात्र प्राथमिकता दिन्छौँ । जसले गर्दा सामग्री धेरै हुने र स्थान सानो हुँदा दैनिक क्रियाकलापमा असहज भइरहेको हुन्छ । कोठा फर्निस गर्ने क्रममा स्पेस म्यानेजमेन्ट तथा वस्तुको मेजरमेन्टमा विशेष ध्यान दिनुपर्ने हुन्छ । हिजोआज थोरै जग्गामा घर निर्माण गर्ने क्रम बढ्दो छ । जसले गर्दा कोठाको आकार पनि सानो हुनु स्वाभाविकै हो । यस्तो अवस्थामा कोठा फर्निस गर्ने क्रममा सकेसम्म विज्ञको सल्लाह सुझाब आवश्यक पर्छ ।
कोठा सानो भए तापनि घरको प्रवेशद्वार या मूलढोका कम्तीमा ४२ इन्च भएमा फर्निचरका सामग्री ल्याउन सजिलो हुन्छ ।
लिभिङ रुम सानो छ भने सोफा, टेबल या अन्य फर्निचर बजारमा पाइने रेडिमेडभन्दा कोठाको आकारअनुसार सुहाउने गरी बनाउनु उपयुक्त हुन्छ ।
सोफा र टेबलबीचको दूरी कम्तीमा पनि दुई फिट या १८ इन्चको हुनु राम्रो हुन्छ ।
टेलिभिजन राख्दा ठूलाठूला टिभी क्याबिनेटभन्दा भित्तामा नै टेलिभिजन झुन्ड्याउनु राम्रो हुन्छ । कुनै एउटा भित्तालाई आकर्षक ढंगले कलर या अन्य मसिनो बुट्टा भएको वालपेपरले सजाउन सकिन्छ ।
टिभीलाई भुइँबाट ३० इन्चभन्दा माथि राख्नु हुँदैन । टेलिभिजनको तल लो क्याबिनेट मात्र राखेर पनि टिभी क्याबिनेटको आवश्यकतालाई परिपूर्ति गर्न सकिन्छ ।
लिभिङ रुममा दैनिक आवश्यक पर्नेभन्दा अन्य सामान अव्यवस्थित तरिकाले राख्नु हुँदैन ।
लिभिङ रुमबाट नै माथिल्लो तलामा जाने भ¥याङ छ भने त्यसको मुनिको भागलाई पनि सोकेस या क्याबिनेट बनाएर प्रयोग गर्न सकिन्छ । सोकेस बनाएर पनि विभिन्न सामग्री सजाउन सकिन्छ ।
सानो कोठा भए भित्ताको कलर पनि उज्यालो रङ गर्दा बढी आकर्षक हुन्छ ।
प्यासेज या अन्य वालमा स्पेस हेरेर विभिन्न साइजका ऐनाहरू राखेर पनि कोठा ठूलो देखाउन सकिन्छ ।
किचेनको व्यवस्थापन
घर सानो भएका कारण किचेन र डाइनिङलाई एउटै स्थानमा प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा हामीले बुद्धिमानीपूर्वक किचेन सजाउनुपर्ने हुन्छ । किनकि, हाम्रो सबैभन्दा धेरै समय किचेनमा बित्ने हुन्छ ।
स्थानअनुसार स्ट्रेट किचेन वा एल सेट किचेन कन्सेप्ट बढी उपयुक्त हुन्छ । यस्तो अवस्थामा भुइँभन्दा भित्ताको प्रयोग बढीभन्दा बढी गर्नुपर्ने हुन्छ ।
किचेनको माथि प्रयोग गरिने टप क्याबिनेटमा सिसाको खापा प्रयोग गर्दा राम्रो हुन्छ । सकेसम्म ओपन सेल्फ राख्न सकेमा कोठा ठूलो देखिन्छ ।
किचेनमा काम गर्ने व्यक्तिका लागि किचेन क्याबिनेटबाट अर्को भित्तासम्मको खाली स्थान कम्तीमा चारदेखि ६ फिट हुन आवश्यक छ ।
डाइनिङ टेबल प्रयोग गर्नुपरेमा फोल्डिङ टेबल उपयुक्त हुन्छ । स्क्वायर या रेक्ट्यांगल आकारका टेबल अथवा सोफालाई डाइनिङका लागि प्रयोग गरी स्पेस म्यानेजमेन्ट गर्न सक्छौँ । सोफाको चौडाइ भने बढीमा २० इन्च हुन जरुरी छ । यसमा प्रयोग हुने फेब्रिक पानीले असर नगर्ने हुनुपर्छ ।
डाइनिङ टेबल बनाउँदा घर्राको प्रयोग गर्न सके त्यसमा चम्चा, काँटालगायतका अन्य साना सामग्री राख्न सकिन्छ ।
सामान्यतया सानो कोठा भएको घरमा ओपन किचेन कन्सेप्ट नै बढी उपयुक्त हुन्छ ।
बेडरुमको सजावट
सानो बेडरुमलाई ठूलो देखाउन विभिन्न उज्यालो वाल कलर तथा उज्यालो रङकै अन्य सामग्री प्रयोग गर्नुपर्छ ।
बेड छनोट गर्ने क्रममा घर्रा भएको अथवा स्टोरेज बेड प्रयोग गर्नु राम्रो हुन्छ । बेडलाई कोठाको बीचमा नराखी एक छेउको भित्तामा राख्नु उपयुक्त हुन्छ ।
दराज या अन्य क्याबिनेट बनाउन पनि लम्बाइभन्दा उचाइ बढाउनु उपयुक्त हुन्छ । यसो गर्दा थोरै स्पेसमा धेरै सामान राख्न सकिन्छ ।
यसरी सजाउने क्रममा बेड र दराजको अग्र भागको दूरी कम्तीमा चार फिटको हुन आवश्यक छ ।
बेडको टाउकोपट्टिको भित्तामा पनि विभिन्न ह्यांगिङ सेल्फ राखेर किताब या अन्य स–साना वस्तु राख्न सकिन्छ ।
रुमको कुनै खाली भित्तामा ऐनाको प्रयोग गर्दा कोठा ठूलो देखाउन सहयोग गर्छ ।
यसरी फर्निस गर्ने क्रममा कोठाका विभिन्न कुनालाई बुद्धिमानीपूर्वक उपयोग गर्नुपर्छ । त्यसका लागि कुनै स्ट्यान्ड, ह्यांगर वा सेल्फ राखेर आकर्षक ढंगले सामान सजाउन सकिन्छ ।
फर्निचरको प्रयोग गर्दा सकेसम्म मल्टी पर्पोज भएमा उपयुक्त हुन्छ ।
बजारमा पाइने विभिन्न सजावटका सामग्रीभन्दा स्थानलाई मध्यनजर गर्दै आफैँले अर्डर गरेर सामान ल्याउँदा बढीभन्दा बढी सजिलो हुन्छ । यसो गर्दा स्पेस पनि बढी खाली हुन्छ र कोठामा अन्य काम गर्न या बस्न पनि सहज हुन्छ ।
यसरी विभिन्न उपाय अपनाएर कोठा या घर सजाउँदा आफ्नो दैनिक क्रियाकलाप सजिलो हुनुका साथै हेर्दा पनि आकर्षक देखिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण