बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने

बिहीबार, १२ फागुन २०७३, १६ : २५
बिहीबार, १२ फागुन २०७३

काठमाडौँ  – महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ ।

अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप एक लाख प्रदान गर्ने गर्दछ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बिहिबारको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सो जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा महिलाको स्तन र पाठेघरका गरी बर्सेनि चार हजार नयाँ रोगी थपिने गर्छन् । मन्त्रालयले पाठेघर क्यान्सर रोगको पहिचानका लागि सबै महिलाको पाठेघर बायप्सी परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको छ ।

मन्त्री खड्काले भने, ‘महिला अनमीमार्फत पहिलो चरणमा सबै महिलाको पाठेघरको बायप्सी परीक्षण गरी क्यान्सरका सिन्ड्रम देखिए नदेखिने व्यवस्था मिलाउन लागेका छौँ, यो कार्य तुरुन्त सुरु हुन्छ ।’

यसका लागि मन्त्रालयले अर्थमन्त्रालयसित थप बजेट मागसमेत गरेको छ । उनले मन्त्रालयको योजनालाई सहयोग गर्न अमेरिका चीन, युन वुमन, अस्ट्रेलिया, डेनमार्कका नेपालस्थित राजदूतसित छलफल गरेको जानकारीसमेत बैठकमा दिए ।

हाल मन्त्रालयको महिला, ज्येष्ठ नागरिक तथा बालबालिका र समाजकल्याणका लागि दुई अर्ब ४२ करोड बजेट रहेको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकले स्वास्थ्य मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई महिलालाई हुने स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्न निर्देशनसमेत दिएको थियो ।

सुरुको पहिलो तहमा ती स्थानमा क्यान्सरको लक्षण देखिएमा पूर्ण उपचार हुन सक्ने व्यवस्था नेपालमा नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप