बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

दीर्घ तथा स्वस्थ जीवन जिउन मध्यम उपवास

शनिबार, १६ वैशाख २०७४, १० : ३५
शनिबार, १६ वैशाख २०७४
डा. दिनेशप्रसाद बराल सोहम योग तथा प्राकृतिक चिकित्सा केन्द्र, लोकन्थली प्राकृतिक चिकित्सा पद्धतिअनुसार अपनाइने पाँच विधि जल चिकित्सा, माटो चिकित्सा, वायु चिकित्सा, सूर्य–किरण चिकित्सा र आकाश चिकित्सा हो । तीमध्ये एक महत्वपूर्ण चिकित्सा आकाश भन्नाले खालीपन तथा शून्यतालाई जनाउँछ । यसको प्रयोग उपवासका माध्यमबाट गरिन्छ । स्वस्थ रहन प्राकृतिक चिकित्साका विभिन्न विधिमध्ये एक महत्वपूर्ण चिकित्सा पद्धति हो, उपवास चिकित्सा । उप भनेको नजिक र वास भनेको बस्नु अर्थात् आफ्नै नजिक बस्नुलाई उपवास भनिन्छ । यसमा अन्न नखाई पानी मात्र खाएर लामो समयसम्म भोकै बस्ने गरिन्छ । उपवास चिकित्सालाई छोटो, मध्यम र लामो गरी तीन प्रकारमा विभाजन गरिएको छ । त्यसमध्ये मध्यम उपवास भन्नाले तीन दिनभन्दा माथि सात दिनसम्म गरिने उपवास हो । मानिसको उमेर, शारीरिक अवस्था, रोगको प्रकृति आदिमा उपवास गर्ने समय निर्भर हुन्छ । परम्परादेखि नै धार्मिक आस्थाका कारण एक दिनको व्रतका रूपमा पानी मात्र खाएर उपवास बस्ने प्रचलन छ । व्रत र उपवासमा केही भिन्नता छ । व्रतमा फलफूल, दूध तथा एक छाक मात्र खाने या दिनभरि भोकै बसेर साँझ परेपछि खाने चलन हुन्छ । त्यस तरिकाबाट गरिने व्रतले केही न केही फाइदा त पु¥याउँछ, तर पूरा लाभ प्राप्त हुँदैन । उपवासले सम्पूर्ण शरीरलाई पुनर्ताजगी र ऊर्जामय बनाउँछ । उपवासबाट बढीभन्दा बढी फाइदा पाउन अघिल्लो रातबाट रसाहार सुरु गर्न सकिन्छ । उपवासको समय शरीर शोधनका लागि एनिमा, चिसो कटिस्नान, तातो कटिस्नान आदि उपचार गरेर शरीर पूर्ण रूपमा शुद्धीकरण गर्न सकिन्छ । मध्यम उपवासले बिस्तारै शरीरमा जम्मा भएका विकारहरू निष्कासन हुँदै जान्छ । जसको कारण शरीरमा छुट्टै ऊर्जा प्राप्त हुन्छ । शरीरका विभिन्न अंग मिर्गौला, सानो आन्द्रा, ठूलो आन्द्रा, छाला, फोक्सो आदिले पूर्ण कार्य गर्न पाउँछ । यसले शरीरमा लागेका सामान्य रोगहरू हराएर पुनर्ताजगी प्राप्त हुन्छ । विधि -उपवास बस्नुभन्दा अगाडि आफू सात दिनको मध्यम उपवास बस्दै छु भनेर शारीरिक र मानसिक रूपले तयार हुनुपर्छ । यसबाट धेरै लाभ प्रात गर्नेछु भनी दृढ संकल्पसाथ सुरु गर्नुपर्छ । -दिनको मध्यम उपवास बस्न अघिल्लो रातबाट नै रसाहारमा बस्ने । -मध्यम उपवासमा शुद्ध पानी र गाह्रो भएमा महपानीसमेत समय–समयमा आवश्यकताअनुसार दुई–तीन घन्टाको फरकमा पिउन सकिन्छ । -उपवास समयमा बिहान शोधनको उपचार गर्ने, दिउँसो आराम गर्ने । -उपवासको समयमा सामान्य हिँडडुल गर्न, पुस्तक अध्ययन गर्न सकिन्छ तर बल पर्ने काम तथा अभ्यास नगर्ने । -प्राकृतिक ठाँउहरूमा मौसमअनुसार बिहान–साँझ हिँडडुल गर्ने । -सरल आसनमा प्राणायाम तथा ध्यान गर्ने ।   सावधानी -प्राकृतिक चिकित्सकको निगरानीमा मात्र गर्ने ।   -कमजोरी महसुस भएमा प्राकृतिक चिकित्सकको परामर्शमा अमिलो नहुने जातका फलफूलको रस पिउन दिने ।   -उपवासको सात दिन पूरा गरेपछि तोड्दा फलफूलको शुद्ध ताजा जुस, फलफूल खाँदै बिस्तारै तरकारीको सुप, त्यसपछि जाउलो जस्ता खाना खाने । सात दिनपछि मात्र पूर्ण भोजनमा प्रवेश गर्ने ।   -उपवास सुरु गरेपछि अमिलो पानी आउने, छाती पोल्ने हुन सक्छ । त्यस्तो समय एनिमा, तातो कटिस्नान जस्ता शरीर शोधनका उपचार दिने ।   -उपचार सुरु गरेको दिनमा कुजल पनि दिन सकिन्छ । जसको कारण पेट पोलेको ठीक हुन्छ ।   -गर्भवती महिला, डाइबेटिजका बिरामी, निम्न रक्तचाप भएका र कमजोरीपन हुनेले उपवास गर्नु हुँदैन ।   फाइदा -उपवासबाट शरीरमा पुनर्ताजगी पैदा हुन्छ, जसको कारण शरीरका हरेक अंगले प्राकृतिक रूपमा काम गर्न सक्छन् ।   -पाचन प्रणाली सक्रिय बनाउनुका साथै अपच, ग्यास्ट्राइटिस, कब्जियत, पायल्स, आउँ, कोलाइटिसजस्ता पेटसम्बन्धी रोगहरू निको पार्न मद्दत गर्छ ।   -मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ ।   -स्नायु प्रणालीलाई सक्रिय बनाउँछ ।   -फोक्सो, कलेजो तथा मिर्गाैलाजस्ता अंगको कार्यक्षमता बढाउँछ ।   -स्वस्थ व्यक्तिले पनि एक वर्षमा एकपटक मध्यम उपवास गरेमा शरीर स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।   -रक्तसञ्चार क्रियालाई सक्रिय बनाउनुका साथै रगतमा हुने चिल्लो कोलेस्ट्रोल कम गर्छ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप