मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादी पोलिटब्युरो बैठक : रामकुमारीदेखि मुकुन्द न्यौपानेसम्मलाई कारबाहीको माग

मङ्गलबार, १९ पुस २०७९, १४ : ११
मङ्गलबार, १९ पुस २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीदेखि नेता मुकुन्द न्यौपानेलगायत झन्डै १२० जना नेताहरुमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ ।  सोमबारबाट जारी सो पार्टीको मंगलबारको पोलिटब्युरो बैठकमा चुनावी समीक्षाका क्रममा नेताहरूले यस्तो माग गरेका हुन् । 

‘मंसिर ४ को निर्वाचनमा भोट हाल्न नजाने १२० जनजाति केन्द्रीय सदस्यसहित नेता मुकुन्द न्यौपाने र सचिव रामकुमारी झाँक्रीमाथि कारबाही गर्नुपर्छ भन्ने धारणा नेताहरूले राखेका छन्’, एक पोलिटब्युरो सदस्यले बैठकमा नेताहरूले राखेको धारणालाई उद्धृत गर्दै रातोपाटीसँग भने, ‘भोट हाल्न समेत नजाने नेतामाथि छानबिन हुनुपर्छ र तत्काल कारबाही गर्नुपर्छ ।’

नेता न्यौपाने र सचिव झाँक्रीले फरक पार्टीको पैरवी गरेकाले उनीहरूमाथि कारबाही हुनुपर्ने माग उठेको हो । पछिल्लो समय नेता न्यौपानेले एमालेसँग पार्टी एकता गर्नुपर्छ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् । त्यस्तै झाँक्रीले पनि एमाले र माओवादीको पैरवी गरेको भन्दै बैठकमा एक पार्टीको जिम्मेवार नेताले अर्को पार्टीको पैरवी गर्न मिल्छ ? भन्दै प्रश्न गरिएको थियो । पार्टीका जिम्मेवार कतिपय नेताहरूले आफूअनुकुल गुटबन्दी गर्ने गरेकाले उनीहरूमाथि समेत छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठेको पोलिटब्युरो सदस्य दिलु पन्तले बताइन् । 

उनले समग्र विषयमा छलफल भइरहेको र निर्णयमा पुगिनसकेको भन्दै पार्टी पुनर्निर्माण,वर्गीय आन्दोलनलाई निरन्तरता,जनताको जनजीवन, उखु किसानका समस्या लगायतमा छलफल भइरहेको जानकारी दिइन् । ‘प्रश्नहरु उठेका छन्, त्यसबारे अध्यययन अनुसन्धान हुन्छ । पार्टीभित्र छलफलको विषय बन्छ । यदि कारवाही गर्नुपर्ने भए पार्टीले निर्णय गर्छ’, नेतृ पन्तको भनाइ छ । आजै सकिने बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय समेत गर्ने तयारी गरेको छ ।

याे पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप