मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबले रोनाल्डोमाथि किन यति धेरै पैसा वर्षायो ?

बुधबार, २० पुस २०७९, १६ : ४१
बुधबार, २० पुस २०७९

रियाद । कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो आँखा भरी आँसु लिएर मैदान छाडेको एक महिना पनि भएको छैन ।

पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी अरब राष्ट्र बनेको थियो ।

विश्वकप जित्ने उनको सपना चकनाचुर भएको केही हप्तापछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोपेली फुटबल क्लब म्यानचेस्टर युनाइटेड छोडेर साउदी अरबको अल–नासरमा आबद्ध भएका छन् ।

अल नासर र रोनाल्डोबीचको सम्झौता अहिलेसम्मकै सबैभन्दा महँगो सम्झौता भएको बताइएको छ । अल–नासरले रोनाल्डोलाई सन् २०२५ सम्म हरेक वर्ष १७.७ करोड पाउन्ड तिर्नेछ ।

मंगलबार रोनाल्डो औपचारिक रूपमा आफ्नो नयाँ क्लबमा सामेल हुँदा उनले युरोपमा धेरै कीर्तिमान बनाएको र अब साउदी अरबमा केही कीर्तिमान बनाउन चाहेको बताए ।

पछिल्लो विश्वकप रोनाल्डोका लागि खास थिएन । पछिल्ला दुई खेलमा उनलाई सुरुमै मैदानबाहिर बस्न बाध्य पारिएको थियो । रोनाल्डोले यो सिजन म्यानचेस्टर युनाइटेडका लागि १६ खेलमा तीन गोल मात्र गरेका थिए, जसमध्ये एउटा पेनाल्टी पनि थियो ।

यसका बाबजुद पनि रोनाल्डो अल–नासरमा सामेल भएकोमा मध्यपूर्वका देशहरूमा ठूलो उत्साह देखिएको छ ।

अल–नासर क्लबले पनि टिमको जर्सीसहित रोनाल्डोको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेर यो उत्साह देखाएको छ ।

यद्यपि, केही विज्ञहरूले ३७ वर्षीय रोनाल्डोसँग अल–नासरको महँगो सम्झौतालाई साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सुधारवादी नीतिसँग पनि जोडिरहेका छन्, जसको लक्ष्य पश्चिमी देशहरूलाई पछाडि छोडेर साउदी अरबलाई विश्वव्यापी शक्तिको रूपमा स्थापित गर्ने हो ।

ronaldo1साउदी अरबमा फुटबलको क्रेज बढ्दै गएको छ

साउदी अरबको फुटबल टिमले सुरुवाती खेलमा कतार विश्वकपमा २२ नोभेम्बरमा भएको प्रतिस्पर्धामा ठूलो परिवर्तन गर्दै अर्जेन्टिनाको २–१ ले हराएको थियो ।

खेलको दिन साउदीका मन्त्रालयहरू, सरकारी निकायहरू, विद्यालयहरू र विश्वविद्यालयहरू समेत समय अगावै बन्द गरिएको थियो ताकि मानिसहरूले रोमाञ्चक खेल हेर्न सकून् ।

साउदी अरबको विजयपछि राजा सलमानले भोलिपल्ट राष्ट्रिय बिदाको घोषणा गरेका थिए ।

साउदीको विजयले देशको लागि मात्र नभई सम्पूर्ण क्षेत्रको लागि उत्साह भरिएको थियो । सामाजिक सञ्जालमा अन्य अरब देशका मानिसहरूले पनि साउदीको जितलाई आफ्नो जितका रूपमा हेर्न थाले ।

यो जित संयोग थिएन । साउदी अरबका खेलकुद मन्त्री राजकुमार अब्दुलाजिज बिन तुर्की अल फैसलले आफ्नो टोलीले तीन वर्षदेखि यस अवसरको तयारी गरिरहेको बताए । यसरी खेलकुद मन्त्रालयले फुटबलको प्रवर्द्धन गर्दा यसको दिशा र लक्ष्यको प्रष्ट सङ्केत हुन्छ ।

ronaldo2खेलकुद साउदीको भिजन २०३० को महत्वपूर्ण पक्ष हो

युवराज मोहम्मद बिन सलमान कतार विश्वकपमा फिफा प्रमुख जीभी इन्फान्टिनोसँग धेरै पटक देखिए । सन् २०१६ मा मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ अन्तर्गत खेलकुदलाई प्राथमिकतामा राखिएको थियो ।

त्यसयता साउदी अरबको खेलकुद जगतमा ठूलो परिवर्तन देखिएको छ ।

भिजन २०३० अन्तर्गत तीन लक्ष्य राखिए । जसको उद्देश्य खेलमा मानिसहरुको सहभागितालाई २०३० सम्म ४० प्रतिशतसम्म बढाउनु, विदेशमा साउदीका खेलाडीको प्रस्तुतीलाई सुधार्नु र खेल अर्थव्यवस्थालाई वृद्धि गर्नु हो ।

फुटबल पत्रकार उरी लेवीले मोहम्मद बिन सलमानको भिडियो ट्वीट गरेका छन् । उनले रोनाल्डोको साउदी अरब पुग्नु ठूलो परिवर्तनको संकेत भएको बताए ।

भिडियोमा साउदी युवराजले मध्यपूर्व अब नयाँ युरोप बन्ने बताएका छन् ।

युवराजले भिडियोमा भनिरहेका छन्, ‘आगामी पाँच वर्षमा साउदी अरब पूर्ण रूपमा फरक हुनेछ । बहराइन पूर्ण रूपमा फरक हुनेछ । कुवेत... कतार पनि... उनीहरूसँग हाम्रो मतभेदका बाबजुद पनि उनीहरु एक बलियो अर्थव्यवस्था हुन् र अर्को पाँच वर्षमा नितान्त फरक हुनेछन् । यूएई, ओमान, लेबनान, जोर्डन, इजिप्ट, इराक र यहाँ जे मौका छन्... यदि अर्को पाँच वर्षमा हामी सफल भयौँ भने धेरैजसो देशले हाम्रो पदचिन्हमा चल्नेछन् ।’

‘आगामी ३० वर्षमा मध्यपूर्वमा नयाँ विश्वव्यापी पुनर्जागरण हुनेछ । यो साउदीको लडाइ हो । यो मेरो लडाइ हो र म यस लडाइमा मर्न चाहन्न जबसम्म म मध्यपूर्वलाई विश्वको नेतृत्व गरिरहेको देख्दिनँ । लक्ष्य शतप्रतिशत पूरा हुनेछ ।’

अक्सफोर्ड युनिभर्सिटीमा पढेर भूराजनीतिक विषयमा आफ्नो धारणा राख्ने गोकुल साहनीले पनि एमबीएसको सोही भिडियो सेयर गर्दै धर्मलाई प्राथमिकतामा राखेर सायद साउदी अरब अहिले मानक र व्यवहारिक ‘शक्ति’ बनेको भनेर लेखेका छन् ।

saudiरोनाल्डोबाट साउदी अरबलाई कस्ता फाइदा हुनेछ ?

क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि अल–नासरले ट्वीट गर्यो, ‘इतिहास बनिरहेको छ । यो सम्झौताले हाम्रो क्लबलाई मात्रै नभई हाम्रो लिग, हाम्रो देश र भावी पुस्ता, केटा र केटीहरूलाई उनीहरुको सर्वश्रेष्ठ प्रदर्शन दिनका लागि पनि प्रोत्साहन दिनेछ ।’

सम्झौताको घोषणा गर्दै रोनाल्डोले भने,‘‘म फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित छु ।’

‘अल–नासरले जुन उद्देश्यसहित काम गरिरहेको छ र पुरुष र महिला फुटबलको हिसाबले जसरी साउदी अरबमा विकसित भइरहेको छ, त्यो प्रेरणादायी छ । हामी विश्व कपमा साउदी अरबको हालैको प्रदर्शन देख्न सक्छौँ कि यो फुटबलको हिसाबले एक निकै क्षमतावान देश हो ।’

निस्सन्देह, यो सम्झौताले रोनाल्डोलाई इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबलर बनाएको छ, तर साउदी अरबले पनि उनको स्टारडमबाट फाइदा लिन सक्छ ।

मिडल इस्ट इकोनोमी वेबसाइटले लेखेको छ – रोनाल्डोले २०३० फिफा विश्वकप आयोजना गर्ने साउदी अरबको बोलीलाई बलियो बनाउन सक्छन् । विशेषगरी रोनाल्डोको आगमनसँगै अहिले मिडियाको पूर्ण ध्यान साउदी फुटबलमा केन्द्रित भएको छ ।

वेबसाइटले साउदी पर्यटन मन्त्री अहमद अल–खतिबलाई उद्धृत गर्दै भन्यो, ‘साउदी अरब फिफा विश्व कप २०३० का लागि इजिप्ट र ग्रिससँग संयुक्त आयोजनाको प्रस्ताव दिन सक्छ ।’

अहमद अल(खतिबले एक अन्तर्वार्तामा भने, ‘हामी इजिप्ट र ग्रीससँग मिलेर प्रस्ताव बनाउने सोचिरहेका छौं र हामी सफल हुनेछौं भन्ने आशा छ । तीनवटै देशहरूले पूर्वाधारमा ठूलो लगानी गर्नेछन् र पूर्ण रूपमा तयार हुनेछन् । र मलाई थाहा छ कि त्यतिबेलासम्म साउदी अरबमा गज्जबको रंगशाला बनिसकेको हुनेछ ।’

साउदी अरबले यसअघि नै वार्षिक फर्मुला १ रेस र एसियाली शीतकालीन खेलकुद २०२९ लगायत अन्य अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना पाइसकेको छ ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप