बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलको संसदमा घुसे बोलसोनारोका समर्थक, दुई सय जना पक्राउ

सोमबार, २५ पुस २०७९, ०९ : ५९
सोमबार, २५ पुस २०७९

दक्षिणपन्थी नेता जैर बोल्सोनारोका हजारौं समर्थकले आइतबार ब्राजिलको संसदमा आक्रमण गरेका छन् । मानिसहरुले सर्वोच्च अदालत र राष्ट्रपति निवासलाई समेत घेरा हालेका छन् ।

ब्राजिलको फुटबल टिमको जर्सी लगाएका हजारौं प्रदर्शनकारी हातमा झण्डा लिएर संसदमा प्रवेश गरेका थिए । केही व्यक्तिहरू स्पिकरको मञ्चमा चढेर प्रदर्शन गरिरहेका देखिए ।

केही प्रदर्शनकारीहरू संसदको छतमा चढेर झ्यालका सिसा फुटाइदिएका थिए ।

भीषण झडपपछि प्रहरीले आइतबार साँझसम्म राजधानी ब्रासिलियाका महत्वपूर्ण भवनहरू आफ्नो नियन्त्रणमा लिएको थियो ।

राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘फासीवादी आक्रमण’ भनेका छन् ।

ब्राजिलमा आइतवार भएको हिंसापछि जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल भवनमा भएको यस्तै झडपको सम्झना जनताको मनमा ताजा भएको छ । त्यसबेला डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै ठूला व्यक्तित्वले यो हिंसाको निन्दा गरेका छन् ।

गत हप्ता मात्रै ब्राजिलको राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका लुला दा सिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरुलाई कडा कारबाही गर्ने वाचा गरेका छन् ।

brazilयसअघि लुला दा सिल्भाले ट्विट गर्दै भनेका थिए, ‘हामी सरकार गठनमा व्यस्त छौं र आइतवार उनीहरूले हाम्रो मौनताको फाइदा उठाए र तपाईंहरुलाई त थाहा नै छ कि पूर्व राष्ट्रपतिका थुप्रै भाषण यस्तो गर्नका लागि उक्साउँछ । यो उनको पार्टी र उनको जिम्मेवारी हो ।’

देशका न्याय मन्त्री फ्लाभियो डिनोले स्थानीय मिडियालाई अहिलेसम्म २०० जनालाई पक्राउ गरिएको जानकारी दिए ।

बोल्सोनारोले गत वर्ष अक्टोबरमा भएको निर्वाचनको नतिजा स्वीकार गर्न निरन्तर अस्वीकार गर्दै आएका छन् । उनी गत हप्ता लुला दा सिल्भाको सपथ ग्रहण समारोहमा पनि सहभागी भएनन् ।

तर, ६७ वर्षीय बोल्सोनारोले जिम्मेवारीबाट टाढिँदै हिंसाको निन्दा गरेका छन् । बोल्सोनारो हाल अमेरिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप