सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नेपाल टी–२० लिग

‘फिक्सिङको जानकारी गराउँदा पनि क्यानले बेवास्ता गर्‍यो’

बिहीबार, २८ पुस २०७९, ०९ : २६
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनीले गत वर्ष नेपाली टी–ट्वान्टी आयोजना गर्ने सम्झौता गरे । भारतीय कम्पनीको आगमनले क्यान खुसी थियो । तर, क्रिकेट विज्ञहरूमा भने निराशा थियो । कारण – सन् २०१७ मा भारतीय कम्पनीले नै आयोजना गरेको एसियन प्रिमियर लिगमा म्याच फिक्सिङको आरोप लागिसकेको थियो । 

भारतमा बेटिङ कम्पनीको रूपमा चिनिने सेभेन थ्री स्पोर्ट्सलाई किन नेपाली क्रिकेट बेच्न लागेको भनेर प्रश्न नउठेका होइनन् । तर, क्यानले ती प्रश्नहरुलाई नजर अन्दाज गर्‍यो । अहिले उक्त कम्पनीले आयोजना गरेको नेपाल टी–२० लिग ‘स्पट फिक्सिङ’को बादलले घेरिएको छ । यस विषयलाई लिएर सीआईबीले छानबिन पनि थालिसकेको छ । प्रतियोगिताको मुख्य जिम्मेवार मानिएको सेभेन थ्री स्पोर्ट्सका मुख्य सञ्चालक जतिन अहलुवालिया  फरार छन् । सीआईबीले उनको खोजी जारी राखेको छ । 

गत मंगलबार लिगका कमेन्टेटर सचिन तिलिल्सिनाले लिगको स्पट फिक्सिङको विषयलाई पहिलो पटक उठान गरे । विराटनगरले रोहित कुमार पौडेललाई कप्तानको जिम्मेवारीबाट हटाउनु, एकै ओभरमा तीन नो बल हुनु, अपत्यारिलो तरिकाले छक्का प्रहार हुन जस्ता कुरा उनले उठाए । 

सचिनले यी कुरा आफूले क्यानलाई पहिले नै बताएको तर, क्यानले बेवास्ता गर्दा आफूले भिडियोमार्फत सबै कुरा भन्नु परेको रातोपाटीलाई बताए । यदि क्यानले जिम्मेवार बनेर समयमै यो विषयको अनुसन्धान गरेको भए फिक्सिङ गर्न खोज्नेलाई कारबाहीको दायरामा ल्याउन सकिने बताए । 

‘क्यानले फिक्सिङको विषयमा जानकारी छैन भनेर भन्नु गैरजिम्मेवारपन हो । क्यानभित्र सबै खालका निकाय भएका कारण छानबिन गर्न र जानकारी पाउन सजिलो हुन्छ । त्यसो गर्न छाडेर क्यान आफै फिक्सिङको जानकारी गराउनुस् भन्दै हिँड्न शोभनीय देखिँदैन’

‘मैले प्रतियोगिताका दौरान देखिएका धेरै शंकास्पद कुरा क्यानलाई जानकारी गराएको थिएँ । अपत्यारिलो नो बल, खेलमा देखिएको खेलाडीको प्रदर्शनजस्ता कुरा क्यानलाई रिपोर्ट गरेको थिएँ । तर क्यानले त्यसलाई पूर्णरुपमा बेवास्ता गर्‍यो । त्यसको परिणाम अहिले नेपाली  क्रिकेटले भोग्दैछ,’ सचिनले रातोपाटीसँगको कुराकानीमा भने । 

सचिनका अनुसार आफूले खेलाडीहरूसँग आन्तरिक रूपमा कुराकानी गर्दा पनि उनीहरूले लिगमा समस्या भएको बताएका थिए । यता रोहितको कप्तानीको विषयमा पनि आफूले जानकारी पाउने बित्तिकै क्यानलाई जानकारी गराउँदा क्यानका म्यानेजरले पछि समस्या समाधान गरेर रोहितलाई नै कप्तानी दिएको बताए । 

‘फिक्सिङको अर्को कुरा विराटनगरले कप्तान परिवर्तन गर्दा पनि झल्केको थियो । रोहितलाई कप्तानीबाट हटाएर विदेशी खेलाडी आन्द्रे म्याकार्थीलाई कप्तान बनाउँदा पनि रोहितले क्यानको कार्यवाहक सचिवलाई जानकारी गराएपछि पुनः उनलाई कप्तान बनाइयो । यसरी फिक्सिङको सङ्केत बारम्बार हुँदा पनि क्यानले आँखा चिम्लेर बस्दा अहिले समस्या विकराल बन्यो,’ सचिनले भने । 

क्यानले प्रतियोगिता दौरान फिक्सिङको सम्भावित म्यानेजर या खेलाडीको नाम थाहा पाउँदा उनीहरूलाई पदबाट हटाएको तर कारबाही गर्न नसकेको उनले बताए ।

सचिनले आफूले जानकारी गराएको विषयमा क्यानले अहिले लिखित रूपमा जानकारी नगराएको भन्दै पन्छिन खोज्नु गलत भएको बताए । क्यानले फिक्सिङ भएको भए जानकारी गराउनु भन्नु आफैमा गैरजिम्मेवार पूर्ण अभिव्यक्ति भएको उनको जिकिर छ । 

‘क्यानले फिक्सिङको विषयमा जानकारी छैन भनेर भन्नु गैरजिम्मेवारपन हो । क्यानभित्र सबै खालका निकाय भएका कारण छानबिन गर्न र जानकारी पाउन सजिलो हुन्छ । त्यसो गर्न छाडेर क्यान आफै फिक्सिङको जानकारी गराउनुस् भन्दै हिँड्न शोभनीय देखिँदैन,’ सचिनले भने । 

क्यानले प्रतियोगिता दौरान फिक्सिङको सम्भावित म्यानेजर या खेलाडीको नाम थाहा पाउँदा उनीहरूलाई पदबाट हटाएको तर कारबाही गर्न नसकेको उनले बताए । क्यानले केही कुराको जानकारी पाउँदा खेलाडी या म्यानेजरलाई पदबाट हटाउनुको साटो कारबाही गरेको भए झनै राम्रो देखिने उनको भनाई छ ।  

‘फिक्सिङ गरेको या फिक्सिङको केही सङ्केत देखिँदा जानकारी आउने बित्तिकै केही खेलाडीलाई पदबाट हटाइयो । तर क्यानले कारबाही भने गर्न सकेन । यदि कारबाही गरेको भए क्यानलाई जिम्मेवार भएको रूपमा लिइन्थो । अनि यो फिक्सिङको विषयलाई चर्को विषय मानिन्नथ्यो,’ सचिनले भने । 

विदेशी खेलाडीहरू लामो समय नटिक्नुको कारण पनि फिक्सिङ नै हुनसक्ने सचिनले बताए । ३२ जना विदेशी खेलाडी मध्ये केही खेलाडी मात्र लिग सकिने समयसम्म बसेका थिए । केही खेलाडीहरू लिगको पहिलो र दोस्रो खेल सकिएसँगै विदेश लागेका थिए । 

‘लिगमा धेरै विदेशी खेलाडीहरू आधा खेल खेलेर नै घर फर्किए । लिग नै पूरा नगरेर घर फर्किनु भनेको फिक्सिङको एक आधार पनि स्पष्ट देखिन्छ । त्यो विषयमा क्यनको ध्यानै जान सकेन,’ सचिनले भने । 

क्यान र सेभेन थ्री स्पोर्टस्ले आयोजना गरेको प्रतियोगिताको उपाधि लुम्बिनी अल स्टारले जितेको । प्रतियोगिता सकिए पनि सीआईबी र गृह मन्त्रालयसँगै अख्तियारको छानबिन जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप