शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा तीन महिनाभित्र भ्रष्टाचार मुक्त बनाउँछु : मुख्यमन्त्री यादव

बुधबार, ०४ माघ २०७९, १९ : ०६
बुधबार, ०४ माघ २०७९

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गरेका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारलाई शून्यमा पु¥याउने प्रतिबद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाई थियो । उनले भ्रष्टाचार छानबिनका लागि आफूले ५ सदस्यीय छानबिन समिति गठन गरेको पनि स्मरण गराए । मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढ्ने कार्ययोजनासमेत सार्वजनिक गरे । सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाई थियो ।  

त्यस अवसरमा उनले आवश्यक परे पुरक बजेट ल्याउन सकिने पनि बताए । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहेका थिए । यादवले प्रदेशसभाको दोस्रो ठुलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गर्नु भएको छ भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।

गत पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।

त्यस्तै, कांग्रेस संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि पक्षमा मतदान गरेको छ ।

अब मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही छैनन् । मुख्यमन्त्री यादवले कांग्रेससहित १० वटै दलको विश्वास जुटाउन सफल भएका छन् । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप