बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री पौडेलद्वारा बजेटरी सहायता बढाउन विश्व बैंकलाई आग्रह

शुक्रबार, ०६ माघ २०७९, १४ : ००
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । शुक्रबार विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् ।

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भइ प्राप्तिका लागि आवश्यक पूर्व कार्यहरु  पुरा गर्न अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । उनले विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याहरुको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताए । 

विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै पौडेलले माथिल्लो अरुण, ग्रामिण सडक लगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी  गराए ।  अर्थमन्त्री पौडेलले विश्व बैंकसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहयोगले थप उचाइ लिने विश्वास व्यक्त गर्दै आयोजनाहरु सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने समेत बताए । 

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरु प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे ।  उनले विश्व बैंकको सहायतामा सञ्चलित आयोजनाहरुमा देखा परेका समस्याहरु समाधानका लागि सहजीकरण गर्न अर्थमन्त्री पौडेललाई आग्रह समेत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप