शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दुई नेताको फोनपछि रोकियो रास्वपा, प्रचण्ड ‘सेफ जोन’ मा !

बिहीबार, १९ माघ २०७९, २१ : ३९
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । आज मिति २०७९ साल माघ महिनाको १९ गते बिहीबार । आज दिनभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिन सक्ने आंकलनसहित राजनीतिक माहोल तातियो । तर, रास्वपाले अन्तिम समयमा आएर सरकारबाट बाहिरिने तयारीलाई स्थगित गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको आग्रहमा दुई दिन पर्खिने निर्णय भएको सो पार्टीको भनाइ छ । यद्यपि पार्टीभित्रै सरकारबाट बाहिरिनुपर्ने र बसिरहनु पर्ने भन्नेबीचमा देखिएको दुई लाइनका कारण पनि रास्वपा अलमलमा परेको नेताहरुको भनाइ छ । यिनै विषयसहित रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर हामी आएका छौँ–

रास्वपाले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ । बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर यस्तो निर्णय गरेको हो ।

बैठकपछि प्रचण्ड र ओलीले अध्यक्ष रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले कुर्ने निर्णय गरेको बताए । ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल गर्‍यौँ । ३९ जना सबैले भनाइ राख्नुभयो । बैठक बसिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रका संयोजक केपी ओलीको फोन आयो । र दुवैले सन्देश पनि पठाउनुभयो । उहाँहरूले दुई दिनको समय माग्नुभयो’, प्रवक्ता ढकालले भने, ‘त्यसलाई ध्यान दिएर २ दिनपछि निर्णय गर्ने सहमति भयो ।’

उनले २ दिनभित्र संयन्त्रको बैठक बसेर सकारात्मक जवाफ नआए जस्तोसुकै निर्णय गर्न सकिने बताए ।

उनले नेताहरूले २ दिन कुर्न गरेको आग्रहमा राजनीतिक इमानदारिता देखाउन पनि कुर्नुपर्ने भएको उल्लेख गर्दै गृह मन्त्रालय आफ्नो पार्टीले पाउने र सरकारका न्यूनतम साझा कार्यक्रम लागु गर्न भनेर नै यसअघि सरकारमा गएको बताए ।

नागरिकता विवादमा मुछिएपछि पद गुमाएका रवि लामिछानेले नागरिकता सक्रिय भएसँगै गृह मन्त्रालय पाउनुपर्ने अडान राखेका थिए । तर उनलाई गृह मन्त्रालय दिन नसकिने प्रधानमन्त्री प्रचण्डले बताएपछि रास्वपाले सरकारबाट बाहिरिने धम्की दिँदै आएको थियो ।

पार्टीमा यस विषयमा समेत दुई धार देखिएको थियो । त्यही कारण ठोस छलफल गर्न भन्दै बोलाएको बैठकले नेताहरूको आग्रहमा २ दिने कुर्ने निर्णयमा पुगेको हो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका छन् ।

 उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।’

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको थियो । नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारमा सोही पदमा फर्कन दौडधुप गरेपछि विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।

रास्वपाले हाललाई गृह मन्त्रालय पार्टीको भएकाले पार्टीले नै पाउनुपर्ने अडान लिएको छ । तर, व्यक्तिको विषयमा भने राप्रपाले मुख खोलेको छैन । प्रवक्ता ढकालले सत्ता साझेदार दलले नाम पठाउन भनेपछि पार्टीले निर्णय गरेर पठाउने बताउँदै आएका छन् ।

यसैगरी पार्टीका नेता गणेश कार्कीले माओवादी अध्यक्ष प्रचण्डहरुले विधि र नैतिकताको कुरा गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीहरुले समर्थन र सद्भाव देखाउनुपर्ने दिनको अपेक्षा नगरेको बताएका छन् ।

कार्कीलेसामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीलाई हेरेर ‘प्रचण्ड’हरुले विधि र नैतिकताको कुरा गर्ने । हामीलाई ओली‘हरु’ले समर्थ र सद्भाव देखाउनुपर्ने । यस्ता दिनको त हामीलाई अपेक्षा नै थिएन । यस्ता दिन त हामीले चाहेकै थिएनौं, तर भोगिरहेका छौ ।’

रवि सरकारबाट बाहिरिए के हुन्छ ?

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताएका छन् ।  प्रचण्डले सरकार केही नहुने र आफूले बुझेसम्म सो दलले समर्थन फिर्ता पनि नलिने प्रचण्डको भनाइ छ । ‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन’, पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने । 

तर पार्टी बैठकमा भने प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने परिस्थिति बनेको ब्रिफिङ गरेको एक नेताले बताए । सोही ब्रिफिङ गरेर प्रचण्डले शुक्रबारसम्मका लागि बैठक स्थगित गराएका थिए ।

 यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव विजय पौडेलले पेरिसडाँडामा प्रचण्डलाई भेटेका छन् । सो क्रममा रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको परिस्थितिमा एकीकृत समाजवादीको भूमिका  विषयमा छलफल भएको स्रोतले बताएको छ । सो क्रममा पौडेलले रास्वपाले जे गरेपनि सरकारलाई एकीकृत समाजवादीको समर्थन रहने विश्वास प्रचण्डलाई दिलाएको बताइएको छ ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय पाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताए । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ ।

प्रचण्ड रास्वपा सरकारबाट बाहिरिइ हाले पनि सरकार नढल्नेमा विश्वस्त देखिन्छन् । कांग्रेसले समेत आफूलाई विश्वासको मत दिएको अवस्थामा रास्वपासँगै एमालेसमेत बाहिरिएपनि कांग्रेससँग सहकार्य गर्ने बाटो खुलै रहेको प्रचण्डको बुझाइ छ । सोही बुझेका प्रचण्डले आफू सेफ साइटमा रहेको महसुश गरेर रविको माग पूरा गर्न टसमस नभएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप