शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल

शुक्रबार, २० माघ २०७९, २३ : ०३
शुक्रबार, २० माघ २०७९

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् । रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग शुक्रबार साँझ भैरहवामा छलफल गर्दै पौडेलले भने, ‘औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउँदै छौँ । अर्को वर्षदेखि बजेट रकामान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउँछौँ ।’

उनका अनुसार संघ, प्रदेश, स्थानीय सरकार मात्रै नभई सरकारी कार्यालयले आवको मध्यमा आएर बजेट रकमान्तर गरेर नयाँ काम गर्ने पुरानो परम्परा रहँदै आएको छ । उनले योजना छरपस्ट बनाउने र कार्यान्वयन गर्ने बेला फितलो हुने प्रचलनलाई रोक्न बजेटको रकमान्तरणमा रोक लगाउन लागेको स्पष्ट गरे ।

अर्थमन्त्री पौडेलले सरकार खर्च कटौतीको विन्दुमा पुगेकाले अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन पनि आग्रह गरे । पौडेलले अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम तथा योजना पूरा गर्नेतर्फ ध्यान नदिँँदा ती आयोजना पूरा नभएको, शर्त कार्यान्वयन नभएको उल्लेख गर्दै विदेशी दातृ निकायले दिने सहयोगमा पनि अफ्ठ्यारो भइरहेको बताए । 

विमानस्थलको समस्या समाधान गरिन्छ
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विषयलाई केही व्यक्तिले गलत ढङ्गले प्रचार गरिरहेको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरे । पौडेलले भने, ‘गौतमबुद्ध विमानस्थललाई सेतो हात्ती हो, यसले केही प्रतिफल दिँदैन भनेर मानक स्थापित गर्न खोजिएको छ । त्यो गलत हो ।’ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विगतमा समस्या आउँदा पनि समाधान गरिएको र वर्तमान अवस्थामा देखिएका समस्या पनि समाधान गरिने उनले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत पुस ६ गते यता अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । गत वर्षको जेठ २ गते जजिरा एअरलाइन्सले भैरहवाबाट सिधा कतार उडान गरेको थियो । त्यसपछि जजिराको नियमित उडान थियो ।
जजिराको उडानपछि धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले भैरहवाबाट उडान गर्नेगरी तयारी थालेको भएपनि खास गरिकन विमानस्थलको इन्स्ट्रुमेन्ट ल्यान्ड सिस्टम (आईएलएस)को सम्बन्धमा भारतले लिखित सहमति नदिँदा समस्या सिर्जना भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप