शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी गुरुयोजनाका लागि बजेटको कुनै कमी हुँदैन : अर्थमन्त्री पौडेल

शनिबार, २१ माघ २०७९, १६ : ०४
शनिबार, २१ माघ २०७९

बेलहिया । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् । भैरहवामा आज कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक छलफल कार्यक्रममा मन्त्री पौडेलले बुद्धकालीन सभ्यताको संरक्षण गर्दै बृहत्तर लुम्बिनीको विकास जरुरी रहेको बताए । उनले लुम्बिनी गुरुयोजनाका लागि आवश्यक बजेटको व्यवस्थापनमा कुनै कमी नहुने उल्लेख गरे ।

“गुणस्तर र समयलाई ध्यान दिँदै लुम्बिनीसँग जोडिएका बुद्धकालीन सम्पदासहित बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण अगाडि बढाएका छौं”, उनले भने । गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसबाट समग्र लुम्बिनीको विकासमा टेवा पुग्ने बताए । उनले तराईका समथर भूमिमा उत्पादन तथा रोजगारी वृद्धि गरी देशको कूल ग्रार्हस्थ्य उत्पादनमा सरकारले जोड दिइरहेको बताए ।

“भेरी बबई सिँचाइ आयोजना, राप्तीको पानी कपिलवस्तुमा पुर्याउने, नौमुरे आयोजना, कालीगण्डकी तिनाउ डाइभर्सनलगायत आयोजनाबाट पश्चिम तराईमा  कृषि उत्पादनमा टेवा मिलेको छ”, उनले भने ।

मन्त्री पौडेलले बाँकेको कोहलपुर, दाङ उपत्यका तथा बुटवलको भैरहवामा गरी लुम्बिनीमा तीनवटा आधुनिक र व्यवस्थित सहरसहितको महानगर बनाउने तयारीमा सरकार रहेको जानकारी दिए । लुम्बिनी प्रदेश निजी क्षेत्रका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै मन्त्री पौडेलले यो क्षेत्र उद्योगी र व्यवसायीका लागि उर्वर थलोका रुपमा विकास भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप