शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा रेभेन्यू मोड्यूल सञ्चालनमा

आइतबार, २२ माघ २०७९, १७ : ५०
आइतबार, २२ माघ २०७९

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा रेभेन्यू मोड्यूल सञ्चालनमा ल्याउने कार्यको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीबाट आजदेखि प्रारम्भ भएको रेभेन्यू मोड्यूल प्रणालीको प्रयोग सम्बन्धित स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सही ढङ्गले सञ्चालन गर्न निर्देशनसमेत दिएका हुन् । 

उनले महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायहरूले कानुनी अधिकारको प्रयोग गर्दै दैनिक कार्य सञ्चालनका काम भन्दा माथि उठेर थप सिर्जनशील प्रयासहरू गर्नुपर्ने धारणा व्यक्त गरे । आन्तरिक लेखा परीक्षण तथा सरकारी लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

कार्यक्रमको प्रारम्भमा महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले स्वागत मन्तव्य राख्दै महालेखा नियन्त्रक कार्यालय तथा मातहतका कार्यालयहरूको संक्षिप्त परिचय दिई भइरहेका कामकारबाहीका सम्बन्धमा समेत प्रकाश पारे ।  

कार्यक्रममा आफ्नो धारणा राख्दै अर्थ मन्त्रालयका राजस्वसचिव डा. रामप्रसाद घिमिरेले सरकारी निकायहरूमा निष्क्रिय रहेका खाताहरूको खोजी गर्नुपर्ने र सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताउँदै रेभेन्यू मोडलको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गरे । साथै, अर्थ मन्त्रालयका सचिव तोयम रायाले सञ्चालनमा रहेका प्रणालीहरूको निरन्तरताको लागि स्रोतको सुनिश्चितता एवम् सञ्चित कोष व्यवस्थापन प्रणालीका सम्बन्धमा प्रकाश पार्दै सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही रहेको धारणा व्यक्त गरे । हाल महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेका प्रणालीहरूको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सदाझैँ सहयोग प्राप्त हुने धारणा व्यक्त गरे ।

सो कार्यक्रममा  ८१  वटा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरू तथा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरूको विद्युतीय अनलाइनका माध्यमबाट सहभागिता रहेको थियो। आजबाट प्रारम्भ भएको रेभेन्यू मोड्यूल प्रणाली धुलिखेल नगरपालिकामा पूर्णरूपमा सञ्चालनमा आएको र अन्य स्थानीय तहहरूमा क्रमशः लागू गर्दै जाने लक्ष्य लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप