कहिले चल्छ वसन्तपुरमा द्रुतगतिको वाइफाई ?

गएको वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा चर्चित केन्द्र थियो काठमाडौँ महानगरपालिका । सबैभन्दा बढी जनसङ्ख्या भएको महानगरपालिका भएको कारणले पनि यो चर्चित थियो । त्योभन्दा बढी चर्चित त यहाँका उम्मेदवार र उम्मेदवारले गरेका वाचा वा प्रतिबद्धता थियो ।
निर्वाचनलगत्तै काठमाडौँ महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भए । शाक्यले १ सय दिनमा गर्ने १ सय १ कामको सूचीसमेत सार्वजनिक गर्दै जनताको दैलोमा पुगेर भोटसमेत मागे । काठमाडौँलाई स्मार्ट सिटी बनाउनेदेखि मास्क मुक्त सहर, सार्वजनिक स्थानमा फ्री वाइफाई, मेयर फुड पार्लरसम्मका गफ थिए ।
शाक्यको योजना सफल पार्न भन्दै महानगरबासीले शाक्यलाई मेयर पनि बनाइदिए । तर निर्वाचनको परिणाम घोषणा भएको ९ महिना बितिसक्दा पनि १ सय दिनमा गर्ने भनेको ५ प्रतिशत काम पनि शाक्यले पूरा गरेका छैनन् ।
शाक्यले गरेका १ सय १ प्रतिबद्धताको बुँदा नम्बर ४ मा लेखिएको थियो, ‘महानगरपालिकाभित्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरू जस्तैः स्वयम्भू, पशुपतिनाथ, बौद्ध, वसन्तपुरलगायतका स्थानलाई द्रुतगतिको निःशुल्क वाइफाई क्षेत्र बनाउने ।’
सामान्यतः द्रुतगतिको इन्टरनेट वा वाइफाई भन्नाले ब्रोडब्यान्ड इन्टरनेटलाई जनाउँदा जहाँ १ एमबी प्रतिसेकेन्डको डाउनलोड र ५ सय १२ केबीपीएसको अपलोड क्षमता हुन्छ । काठमाडौँमा यस्तो सेवा उपलब्ध गराउने आईएसपी अर्थात् इन्टरनेट सर्भिस् प्रोभाइडर नभएका पनि होइनन् । यस्तो सेवा सुचारु गर्न इच्छाशक्ति भएमा एकै दिनमा सम्भव पनि हुन्छ । तर काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले १ सय दिनमा गर्छु भनेको काममध्ये सबैभन्दा सजिलो काम २ सय ८० दिन पुग्दासमेत पूरा गरेका छैनन् ।
वसन्तपुर स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रमुख आकर्षण र जमघटको केन्द्र हो । यस्तो पर्यटकीय स्थलमा फ्री वाइफाई आवश्यक मात्रै होइन, अत्यावश्यक नै थियो । तर महानगरको कार्यालयबाट १ किलोमिटरभन्दा कम दुरीमा रहेको वसन्तपुरमा फ्री वाइफाईको कुनै छनक देखिएन ।
स्थानीय र पर्यटक भन्छन्, ‘गुड जोक्स’
बिहीबार हामी वसन्तपुरक्षेत्रमा पुग्दा एक युवक मोबाइलमा इन्टरनेट चलाइरहेका थिए ।
हामीले उनलाई सोध्यौँ, दु्रतगतिको फ्री वाइफाई हो ? उनले जवाफ फर्काए, ‘गुड जोक्स ।’
खासमा उनले डाटाबाट इन्टरनेट चलाइरहेका रहेछन् । हामीले महानगरकाका अहिलेका मेयरले निर्वाचित भएको १ सय दिनमा वसन्तपुरमा दु्रतगतिको फ्री वाइफाई दिने प्रतिबद्धता गरेको कुरा सम्झायौ । उनले फेरि भने ‘विद्यासुन्दर राम्रो जोक्स बनाउँछन् ।’
हामीले वसन्तपुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई पनि फ्री वाइफाई बारे सोध्यौँ । पर्यटकले बेलाबेलामा वाइफाईबारे सोध्ने गरेको भन्दै यो अत्यावश्यक भएको बताए । तर महानगरले १ दिनमै गर्नसक्ने काम महिनौँ बित्दासमेत नगरेको भन्दै मेयरलाई गफाडीको संज्ञा दिए ।
बिहीबारै फ्री वाइफाईबारे बुझ्न काठमाडौँ महानगरपालिका पुग्यौँ । तर महानगरका मेयर विद्यासुन्दरलाई भेट्न सकिएन । बरु हामीलाई मेयरसाब’का सचिवालयमा रहेका निर्देशक तथा सहायक प्रवक्ता नवराज ढकाललाई भेट्न भनियो ।
ढकाललाई हामीले सोध्यौँ– ‘कहिले चल्छ महानगरका ४ स्थानमा द्रुतगतिको वाइफाई ?’ निर्देशक ढकाल एकछिन मौन रहे । ‘१ सय दिनमा गर्ने १ सय १ कामको सूचीमा चौँथो नम्बरमा थियो त यो ।’ हाम्रो जिज्ञासामा ढकालले काम हुँदै गरेको प्रतिक्रिया दिए ।
महानगरले अहिले वसन्तपुर, स्वयम्भु, बौद्ध र पशुपतिनाथ क्षेत्र तथा शङ्खपार्क र बालाजुपार्कमा फ्री वाइफाईका लागि पहल भइरहेको बताए । ‘महानगरले आफंै खर्च गरेरभन्दा पनि निजी क्षेत्रलाई यो सेवा उपलब्ध गराइदिन हामीले आग्रह गरेका छौँ । निजी क्षेत्र पनि सेवा दिन सकारातमक छन् । अबको करिब एक महिनामा ती स्थानमा फ्री वाइफाई आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
-
बङ्गलादेशमा नेपाली फुड फेस्टिभल भव्यताका साथ सम्पन्न
-
प्राविधिक शिक्षा : सम्भावनाको नयाँ बाटो
-
एमआरपीमा कडाइ गरेपछि ‘आत्तिए’ व्यवसायी, तत्काल लागु नगराउन ‘लबिङ’
-
अमेरिकाको १० सहरमा ‘कमेडी दरबार इन अमेरिका’ हुने