शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

विप्लवद्वारा दलाल पुँजीवादविरुद्ध लड्ने उद्घोष

बुधबार, २५ माघ २०७९, २० : ४३
बुधबार, २५ माघ २०७९

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दलाल पुँजीवादविरुद्ध लड्ने उद्घोष गरेका छन् । बुधबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्दै विप्लवले सर्वत्र दलाल पुँजीवादको बिगबिगी भएको भन्दै योजना र कार्यक्रम बनाएर अघि बढिने दाबी गरे ।

कपिलवस्तुको शिवगढीमा दुई हप्तासम्म बसेको केन्द्रीय समिति, पोलिटब्यूरो र सचिवालय बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले दलाल पुँजीवादका विरुद्ध लड्नुको विकल्प नरहेको बताए । गत माघ २ गते देखि १३ गतेसम्म बसेको विभिन्न कमिटीको बैठकका १३ बुँदे निर्णय सार्वजनिक गर्दै  विप्लवले यतिबेला देश अग्रगमन र यथास्थितिवादको संघर्षको चरणमा रहेको जिकिर गरे ।

‘दलाल पुँजीवाद सत्ता र व्यवस्थाका कारण देशमा राजनीतिक अस्थिरता, अराजकता र भूमण्डलिकृत पुँजीवादको हस्तक्षेप बढिरहेको छ । आर्थिक संकट चुँलिदै जाँदा नागरिकहरुको जीवन कष्टकर बन्दै गएको छ’ विप्लवले भने, ‘एकातिर केही सय परिवारको हातमा देशको आधा सम्पत्ति थुप्रिन पुगेको छ भने अर्कोतिर आर्थिक संकट र शोषणले मजदुर किसान मध्यमवर्ग र राष्ट्रिय उद्योगीहरु सडकमा पुग्ने र बिचल्ली बन्ने अवस्था बनिरहेको छ ।’

दलाल पुँजीवादका कारण तराईमा मिटर ब्याजीहरुको अत्याचार, पहाडमा लघुवित्तको शोषण र सहरमा बैंकको चर्को ब्याजका कारण जनता आहात भएको विप्लवले टिप्पणी गरे । तराईका मिटर ब्याजीका विरुद्ध लड्दा आफ्ना दर्जनभन्दा बढी कार्यकर्ता राज्यले पक्राउ गरेको भन्दै विप्लवले आपत्ति जनाए । राज्यले नै सबै क्षेत्रका दलाललाई संरक्षण गरेकाले लड्न कठिन भइरहेको बताए ।

देशमा विचौलियाको चलखेल, शैक्षिक बेरोजगारी र मानव तस्कर र  विदेशी एकाधिकारवादी पुँजीवादको दबदबाले जनता छटपटाई रहेको विप्लवले जिकिर गरे । दलाल पुँजीवादकै कारण भूमण्डलीकृत साम्राज्यवादीहरुको हस्तक्षेपबाट देश नवउपनिवेशको अवस्थामा पुग्न थालेको विश्लेषण उनले सुनाए । संसदवादी दलहरु जनतालाई राहत दिने भन्दा आफ्नो पद, कुर्सी, फाईदा र भागवण्डाको तानातानमा मस्त रहेको विप्लवले आरोप लगाए ।

‘अहिलेको आर्थिक संकट जनचाहना विपरित लादिएको दलाल पुँजीपति वर्गको सत्ता र पुँजीवादी संसदीय व्यवस्थाको अफलताले पैदा भएको संकट हो’ उनले भने, ‘यसको अग्रगामी समाधान वैज्ञानिक समाजवादी सत्ता र व्यवस्था मात्र हो । त्यसका लागि पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको छ । संसदमा रहेका विभिन्न कम्युनिस्ट पार्टी र अन्य राजनीतिक दलहरुसँग राज्य रुपान्तरणका मुद्दाामा बहस गर्दै जानेछौं ।’

शिक्षा, स्वास्थ्य, निजामति, अदालत र सुरक्षा निकायमा मौलाउँदै गएको दलाल पुँजीवादका विरुद्ध कार्यक्रम बनाएर अघि बढिने विप्लवले बताए । राष्ट्रिय स्वाधिनताका विरुद्ध अघि सारिएका एमसीसी, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तीन, महाकाली अतिक्रम र एनसेल कर असुलीविरुद्ध संघर्ष गरिने योजना उनले सुनाए ।     

अहिलेको संसदीय चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी राजनीतिक सत्ता र शक्तिको विकल्प हुन नसक्ने विप्लवले बताए । यी दल संसदीय पार्टीहरुको अविश्वासका कारण अस्थायी रुपमा नयाँ शक्तिको रुपमा आएको नेकपाको विश्लेषण छ ।

दलाल पुँजीवादकै कारण नेपाली किसानले उत्पादन गर्ने वस्तुले मूल्य नपाउने अवस्था सिर्जना भएको विप्लवले बताए । ‘नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन नेपालकै खेतमा धान फल्नुपर्छ, नेपालका डाँडाकाँडामा फलफूल फल्नुपर्छ । नेपालको हिमालमा स्याउ फल्नुपर्छ’, विदेशीले दुईचार हजार डलर दिँदैमा नाक रगडेर हिँड्न नहुने उनको भनाइ छ ।

‘नेपालमा किसानहरूले आलु, साग, काउली लगायतका तरकारी फलाउँछन् । अनि भारतले सस्तोमा क्वारेन्टिन नगरी तरकारी पेलिदिन्छ । जब यहाँ नेपाली किसानको तरकारी बिक्री हुँदैन र फालिन्छ अनि अभाव सिर्जना हुन्छ । त्यसपछि महँगोमा भारतबाट तरकारी ल्याइन्छ । सानो सानो कुराबाट पनि पुँजी पलायन हुन्छ’, महासचिव विप्लवले भने, ‘नेपालमा क्वारेन्टिन नगरेको तरकारी आयात गर्न रोक्नुपर्छ । त्यो काम हाम्रो पार्टीले गर्छ गरिरहेको पनि छ ।’


                                                     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप