शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बैंक

१९ जना कर्मचारीबाट सुरु भएको एनआईसी एशियाको सफलताको कथा

मङ्गलबार, १६ फागुन २०७९, ११ : १९
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । एनआईसी एशिया बैंकको सफलताको कथा निकै रोचक छ । २५ वर्षअघि विराटनगरमा स्थापना भएको क्षेत्रीय बैंक अहिले मुलुकको अग्रणी बैंक बनेको हो । क्षेत्रीय स्तरको बैंकबाट सुरु भएको यो बैंकमा अहिले झण्डै ४० लाख ग्राहक पुगेका छन् । बैंकमा प्रत्येक महिना १ लाखका दरले नयाँ ग्राहकहरु थपिइरहेको बैंकले जनाएको छ ।

डिजिटल प्लेटफर्ममा पनि बैंक सबैभन्दा लोकप्रिय छ । यस बैंकको मोबाइल एप २२ लाख ६३ हजारभन्दा धेरैले डाउनलोड भएर वाणिज्य बैंकहरुमध्ये अग्रस्थानमा रहेको छ । यस बैंकको विभिन्न बचत खातामा प्राप्त बीमा सुविधाबाट २०७९ पौष महिनासम्म २ हजार ७८ जनाले बीमा वापतको ७ करोड ७७ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् ।

‘बैंकले ल्याएका हरेक योजना ग्राहकको हितको लागि भएकाले नेपालको सबैभन्दा धेरै मन पराइएको बैंक बन्न सफल भएको छ,’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भन्छन्, ‘हामी नेपालको सबैभन्दा धेरै रोजाइमा परेको बैंकमा परेका छौँ ।’ 

विराटनगरदेखिको यात्रा 

साढे दुई दशकअघि विराटनगर व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गर्दा क्षेत्रीय बैंकको रुपमा स्थापना भयो नेपाल इन्डष्ट्रियल एण्ड कमर्शियल बैंक (एनआईसी बैंक) लिमिटेड ।   

२०५५ साउन ५ गते एउटा शाखाबाट शुरु गरेको एनआईसी बैंकमा १९ जना कर्मचारी र ८ करोड १२ लाख ५० हजार चुक्ता पुँजीसहित विरानटनगरमा केद्रीय कार्यालय रहेर एक क्षेत्रीय बैंकको रुपमा शुरुवात भयो ।  

स्थापना भएको छोटो समयमा नै बैंकलाई ग्राहकहरुले रुचाएका थिए । बैंकले आर्थिक वर्ष २०५६/०५७ मा पहिलो पटक १७.५ करोडको प्राथमिक शेयर निष्कासन गर्दा ८ गुणाभन्दा बढीको आवेदन परेको थियो । यस शेयर निष्कासनले तत्कालीन अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा बढी आवेदन रकम संकलन भएको प्राथमिक शेयर निष्कासनको इतिहास समेत बनाएको थियो । 

एनआईसी बैंकले नेपालमा पहिलो पटक सेभिङ अकाउन्टमा लाइफ इन्स्योरेन्स घोषणा गरेको थियो । बैंकले सन् २००३ मा नै ‘एनआईसी लाइफ सेभिङ अकाउन्ट’ ल्याएको थियो । नेपालमै पहिलो पटक सबैभन्दा सस्तो दरमा ‘घर सुविधा’ ‘होम लोन’ पनि ल्यायो । ‘होम लोन’मा यो बैंक अग्रणी बैंकमा पर्दछ ।

स्थापना भएको ९ वर्षमै ‘आई. एस. ओ. ९००१ः२००८’ सर्टिफिकेशन प्राप्त गर्यो । यो सर्टिफिकेट मुलुकको बाणिज्य बैंकहरुमा सबैभन्दा पहिलो थियो । ‘एनआईसी’ले क्वालिटी म्यानेजमेन्ट सिस्टमको लागि उक्त सर्टिफिकेसन प्राप्त गरेको थियो । 

यहीबेला बैंकले मुलुकमै पहिलो पटक आईएफसीबाट ‘लाइन अफ क्रेडिट’ प्राप्त गर्ने पहिलो बैंक बन्यो । अन्तर्राष्ट्रिय स्तरको सर्टिफिकेट प्राप्त गरेसँगै बैंकले अन्तर्राष्ट्रिय स्तरकै अवार्ड हात पार्न शुरु गर्यो । 

स्थापना भएको १० वर्षमा बेलायतको ‘द फाइनान्सियल्स टाइम्स’ले दिने ‘बैंक अफ दि इयर २००७’ अवार्ड प्राप्त गर्यो । यसले ‘एनआईसी’लाई विश्वस्तरमा ‘रिकग्नाइज’ हुने अवसर प्राप्त भयो । 

एनआईसीले शुरुदेखि नै केही नयाँ, पृथक र बजारको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिरह्यो । यसैको फलस्वरुप बैंकले सन् २००७ मा नेपालमै पहिलो पटक बैंकिङ च्यानलमार्फत विदेशबाट सुनचाँदी आयात गरी बिक्री वितरण गर्ने प्रणालीको थालनी गर्यो ।  

त्यस्तै, ग्राहकको सुविधाको लागि भनेर बैंकले सन् २००८ देखि डोमेस्टिक रेमिट्यान्स सेवा शुरु गर्यो । यो सुविधा प्रारम्भ गरेपश्चात जुनसुकै शाखाबाट पैसा पठाउन र पाउन सकिने भयो । 

बैंकले नविनतम सेवा प्रारम्भ गरे पश्चात ग्राहकको विश्वास जित्दै गएपछि अवार्ड र सर्टिफिकेटहरु थपिदै गए । सन् २००९ मा बैंकले पुनः आईएसओः ९००१ : २००८ बाट सम्मानित भयो । 

यसै वर्ष बैंकले भिसा डेभिड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पीएसटीएल बिल पेमेन्ट र युटिलिटी बिल पेमेन्ट पनि शुरु गर्यो । 

एनआईसी बैंक सफलरुपमा तीव्र ‘ग्रोथ’ गर्दै अगाडि बढिरहेकै बेला सन् २००७ मा स्थापना भएको बैक अफ एशिया बैंकसँग मर्जरमा गयो । 

यो निर्णय नेपालको बैंकिङ क्षेत्रमा नै ऐतिहासिक थियो । २०७० असार १६ गते तत्कालिन नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक लिमिटेड (एनआइसी)मा बैंक अफ एशिया नेपाल लिमिटेड मर्ज भइ एनआईसी एशिया बैंक बन्यो । 

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंक विभिन्न सूचकांकमा पहिलो नम्बरमा यथावत कायम रहेको छ । वासलातको आकार, सञ्चालन नाफा, खुद नाफा, निक्षेप, कर्जा, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, ग्राहक संख्या र एटीएमको संख्यामा बैंकले उल्लेख्य प्रगति गरेको छ । 

४० लाख ग्राहक

एनआईसी एशिया मुलुकभरका झन्डै ४० लाख ग्राहकहरुको रोजाइएको बैंक बनेको छ । नेपालको वाणिज्य बैंकमा यो संख्या धेरैमध्ये पर्छ । त्यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्ता २२ लाख ६३ हजारबाट माथि लागिसकेका छन् । गत वर्षसम्म समग्र बैंकिङ्ग क्षेत्रको औषत मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ४ लाख ६१ हजारमा छन् । 

देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ । 

बैंकले उपलब्ध गराएको विभिन्न निःशुल्क सेवा, छुट, आकर्षक ब्याज, ८४ लाखसम्मको बीमा, बचतभन्दा दश गुणा बढी पूर्वस्विकृति कर्जा, प्रिभिलेज बैंकिङ जस्ता अनेक सुविधा उपलब्ध गराएको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । मुलुकका विभिन्न ठाउँमा ३५९ शाखा, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ सञ्चालनमा छन् । 

सबैभन्दा धेरै डाउनलोड भएको मोबाइल एप 

बैंकको मोबाइल एप ‘एनआईसी एशिया मोबैंक’ नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा धेरै डाउनलोड भएको एप हो । यो अहिलेसम्म २२ लाख ६३ हजारभन्दा धेरै पटक डाउनलोड भइसकेको छ ।  

मोबाइल एपमा दर्जनौं सुविधाहरु रहेका छन् । जसबाट धेरै काम गर्न सकिन्छ । त्यस्तै, इन्टरनेट बैंकिङ सेवाबाट पनि अधिकांश सेवा उपलब्ध गराएको छ । बैंकको वेबसाइट एनआईसी एशिया बैंक डट कमबाट पनि धेरै काम गर्न सकिन्छ । यहाँ रहेको आइसर्भबाट घरबाटै काम गर्न सकिने धेरै सुविधाहरु राखिएका छन् । यस बैंकका ४० लाख ग्राहकमध्ये अधिकांशले अनलाइनका यी प्लेटफर्महरु प्रयोग गरिरहेका छन् । कुल कारोबारको ७० प्रतिशतभन्दा धेरैले अनलाइनबाटै प्रयोग भइरहेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले यस बैंकको डिजिटल सेवा सबैभन्दा उत्कृष्ट रहेको बताए । मोबाइल एप, आइसर्भदेखि वेबसाइटमा रहेको विभिन्न सुविधाहरुबाट ९५ प्रतिशतभन्दा धेरै काम घरमै बसेर गर्न सकिने बताउँछन् । ‘हामीले मुलुककै सबैभन्दा उत्कृष्ट डिजिटल बैंकिङ सेवा दिइरहेका छौँ,’ सीईओ न्यौपानेले भने, ‘मोबाइल एप र वेबसाइटबाट बैंकसँग सम्बन्धित अधिकांश काम गर्न सक्नुहुन्छ ।’

७ करोड ७७ लाखभन्दा धेरै बीमा भुक्तानी 

यस बैंकलाई आम नेपालीले आफ्नो बैंक हो भनेर महसुस गर्नुको अर्को कारण हो ग्राहकको हरेक दुःखमा दिएको साथ । मान्छेको जीवनमा कहिले बिरामी भइन्छ, कहिले दुर्घटना पर्न सक्छ । त्यस्तो, आकस्मिक अवस्थामा उपचारको लागि ठूलो धनराशी खर्च हुन्छ । 

बैंकले यस्तो अवस्थामा पर्ने आफ्ना हरेक ग्राहकलाई भनेर बीमा सुविधा उपलब्ध गराएको छ । यस बैंकमा खाता खोल्ने ग्राहकले ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउँछन् । 

बैंकले उपलब्ध गराएको बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २ हजार ७८ जना ग्राहकले बीमा सुविधा पाइसकेका छन् । बीमा सुविधा प्राप्त गर्ने यी ग्राहकलाई बैंकले हालसम्म ७ करोड ७७ लाखभन्दा बढी बीमा रकम भुक्तानी गरिसकेको छ । 

यी ग्राहकले घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख रुपैयाँ, दुर्घटना बीमा वापत १२ जनाले १ करोड २० लाख रुपैयाँ र मेडिकल बीमा वापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रुपैयाँ बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकमाझ ल्याएको छ । 

यस बचत योजनाअनुसार ग्राहक महानुभावले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटीजीएस, आइपीएस/सी आइपीएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

सामाजिक काममा अगाडि

बैंकले नाफा कमाउने मात्र काम गरेको छैन । यस बैंकले सामाजिक कार्यहरु समेत गरिरहेको छ । बैंकले अहिले शिक्षा, स्वास्थ्य, खानेपानी, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन जस्ता क्षेत्रमा विभिन्न सहयोग उपलब्ध गराइरहेको छ । 

बैंकले सिन्धुपाल्चोकका ३२२ माझी परिवारलाई ५३ वटा भूकम्प प्रतिरोधी घर, सामुदायिक भवन, बाल पार्क, सडक जस्ता पूर्वाधार निर्माण गरी एकीकृत नमूना माझी बस्ती बनाउन आर्थिक सहयोग गरेको थियो । 

गतवर्ष दुर्गम क्षेत्रका विपन्न समुदायलाई स्वास्थ्य सेवाको उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थामार्फत स्वास्थ्य शिविरमा सहयोग गरेको थियो । 

नेपाली सेनासँगको सहकार्यमा २०७७ माघ मसान्तमा नुवाकोटको किस्पाङ गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्न र त्यसै वर्ष फागुन ७ गते नेपाल नेत्र ज्योति संघले अर्घाखाँचीमा आयोजना गरेको मोतियाविन्दु सर्जिकल आँखा शिविरलाई आर्थिक सहयोग गरेको थियो । 

त्यस्तै, गोरखामा पुस्तकालय भवन निर्माण गर्न पनि आर्थिक सहयोग गरेको थियो । जसले गर्दा स्थानीय विद्यार्थीहरुले पुस्तकालयमा गएर पढ्ने अवसर प्राप्त गरेका छन् । 

नेपाल सरकारको ‘एक पालिका एक अस्पताल’ कार्यक्रम अन्र्तगत रुपन्देहीको कञ्चन गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण  गर्न आर्थिक सहयोग गरेको थियो । 

बैंकले लुम्बिनी क्याम्पसको डिजिटाइजेसन परियोजना अन्र्तगत शिक्षा व्यवस्थापन सूचना प्रणाली (इएमआईएस) स्थापना गर्न आार्थिक सहयोग गरेको थियो । यसले क्याम्पसका ४ हजार ८ सयभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । 

नेपालमा कोरोना संक्रमण बढिरहेको बेला एनआईसी एशिया बैंकले यस सम्बन्धी जनचेतना फैलाउन विभिन्न संस्थासँग सहकार्य तथा उपकरण वितरण गरेको थियो । 

‘डाक्टर अन डिमान्ड’ (स्वास्थ्य परामर्श) नामक कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरेको थियो । 

आर्थिक वर्ष २०७७/०७८ मा लकडाउनका कारण रोजगारी गुमाएका र यसको प्रभावमा परेका वर्गलाई प्रत्यक्ष सहयोग गर्न विभिन्न संस्थासँगको सहकार्यमा खाद्यवस्तु तथा अक्सिजन कन्सेन्ट्रेटर मेसिन, मास्क, सेनिटाइजर, पीपी अक्सिजन सिलिण्डर, औषधीजन्य सामग्री जस्ता सुरक्षासामग्री वितरण गरेको थियो । 

त्यस्तै, दैनिक ज्याला मजदुरी गर्नेहरूलाई प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा चामल, नुन, तेल, दाल जस्ता अति आवश्यक खाद्यान्न सामग्रीहरूसमेत वितरण गरेको थियो ।

त्यस्तै, विभिन्न कारणले शिक्षाबाट बञ्चित विद्यार्थीहरुले आफ्नो अधिकारबाट बञ्चित हुन नपरोस् भनेर बैंकले विभिन्न क्षेत्रका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले देशका विभिन्न ठाउँमा बसोबास गर्ने गरिब, असहाय, फरक क्षमताका विद्यार्थी अल्पसंख्यक जनजाति, पिछडिएका वर्ग, महिला विद्यार्थी, औपचारिक शिक्षाबाट वञ्चित एवं सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई आवश्यक शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्ने अभिप्रायले कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरूमा अध्ययनरत १२ जना विद्यार्थीहरूलाई १ लाख ९८ हजार ९ सय ५० रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप