शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीका आकांक्षी कति ?

शुक्रबार, १९ फागुन २०७९, १७ : ४९
शुक्रबार, १९ फागुन २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विस्तार हुने तयारी भइरहेको बेला उपप्रधानमन्त्रीको आकांक्षीहरु सल्बलाउन थालेका छन् ।

सरकारलाई समर्थन गरेका सबैजसो दलले उपप्रधानमन्त्रीसहितको मन्त्रालय माग गरेका छन् । प्रधानमन्त्रीकै दल माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री छन् । कांग्रेसले पनि उपप्रधानमन्त्रीसहित केही मन्त्रालय लिएर सरकारमा सहभागी हुने योजना बनाएको छ । नेकपा एकीकृत समाजवादी पार्टी पनि उपप्रधानमन्त्रीसहित केही मन्त्रालयमा दाबी गर्दैछ ।

जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि उपप्रधानमन्त्रीसहित मन्त्रालयको माग गरेका छन् । जसपाले उपप्रधानमन्त्रीसहित दुई वटा मन्त्रालय माग गरेको छ । त्यस्तै, जनमत पार्टीले पनि उपप्रधानमन्त्रीसहित दुई वटा मन्त्रालय माग गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पनि उपप्रधानमन्त्री र दु्ई वटा मन्त्रालय माग गरिसकेका छन् । नेपाली कांग्रेसका नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल जेलमा भेट्न गएको बेला चौधरीले सो प्रस्ताव गरेका हुन् ।

यसरी सबै दलले उपप्रधानमन्त्री माग्नुको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने नै हुन् । सभापति लामिछाने प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधानमन्त्री भइसकेका हुनाले अन्य दलले पनि उपप्रधानमन्त्रीको माग गरेका हुन् ।

जुन सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री भइसकेका छन्, त्यही सरकारमा बिना उपप्रधानमन्त्रीसहित जान वरीयताले पनि नमिल्ने भन्दै दलहरु उपप्रधानमन्त्रीको माग गरिरहेका हुन् ।

कांग्रेसका एक नेताले भने, रवि लामिछाने उपप्रधानमन्त्री भएको सरकारमा कतिलाई उपप्रधानमन्त्री चाहिने हो ? कतिलाई बनाउने हो ? मन्त्रिपरिषद् विस्तार गर्दा उपप्रधानमन्त्रीको लफडा हुने देखिन्छ । यसलाई मिलाउन आठ दलीय गठबन्धनलाई सकस हुने देखिन्छ ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण सभापति लामिछानेलाई उपप्रधानमन्त्री बनाइएको उल्लेख गर्दै ती नेताले अहिले उपप्रधानमन्त्री बिना कुनै पनि दल सरकारमा जान नमानेको बताए ।

प्रचण्डको नेतृत्वमा सरकार निर्माण हुँदा नै जनमत पार्टी सरकारमा सहभागी भएको थियो । सो पार्टीले दुई वटा मन्त्रालय माग गरे पनि एउटा मन्त्रालयमात्र दिइयो । त्यो एउटा मन्त्रालयमा सीके राउत आफै जाने तयारीमा थिए तर रवि लामेछानेलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिएपछि उनी पछाडि हटेका थिए । सीके राउतले पनि उपप्रधानमन्त्री माग गरेका थिए तर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले दिन अस्वीकार गरेपछि उनले अब्दुल खानलाई खानेपानी मन्त्रालयमा पठाएका थिए ।

सीके राउतमात्र होइन, त्यतिबेला रवि लामिछानेका कारण धेरै वरिष्ठ नेता नेताहरु सरकारमा जान हिच्किचाइरहेका थिए । जसपाले पनि त्यही कारण सरकारमा मन्त्री पठाएको थिएन ।

अहिले सत्तारुढ गठबन्धनमा रहेका सबै दलले उपप्रधानमन्त्री माग गरेका छन् । जनमत पार्टीका उपाध्यक्ष एवं खानेपानी मन्त्री अब्दुल खानले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय आफ्नो पार्टीले माग गरेको बताए । जनमतलाई उपप्रधानन्त्रीसहित दुई वटा मन्त्रालय दिन प्रधानमन्त्री सकारात्मक रहेको उनले बताए । उनले उपप्रधानमन्त्रीमा आफ्नो पार्टीका अध्यक्ष सीके राउत जान सक्ने सम्भावना रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप