शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

व्यवसाय गुमाउँदै डीडीसी : सहकारीले निजी क्षेत्रलाई दूध बेच्दै

दूधको मूल्य १० रुपैयाँले बढाउने तयारी
शुक्रबार, १९ फागुन २०७९, १८ : ३०
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । डीडीसीले दुई महिनादेखि रकम भुक्तानी गर्न नसक्दा सहकारीले निजी क्षेत्रलाई दूध बेच्न थालेका छन् । दूध उत्पादन गर्ने ६ सय किसान आबद्ध इलाम, पानीटार कृषि सहकारी संस्थाका सञ्चालक तिलक थापा भन्छन्, ‘डीडीसीबाट सहकारीलाई रकम भुक्तानी दिन ढिलाइ गर्दा किसानलाई रकम दिन गाह्रो भएकाले निजी क्षेत्रलाई दूध दिएका हौँ ।’ 

डीडीसीले पुस १५ देखिको करिब २० लाखदेखि २५ लाख रकम भुक्तानी गर्न बाँकी रहेको थापाले बताए । 

त्यसैगरी इलामकै देउमाई नगरपालिका–३ का पैरे भञ्ज्याङ कृषि सहकारी संस्थाको साढे दुई महिना देखिको करिब २० लाख रकम डीडीसीले भुक्तानी गर्न बाँकी रहेको संस्थाका सञ्चालक चित्रबहादुर खत्रीले बताए । 

‘डीडीसीले सहकारीलाई समयमा रकम भुक्तानी नगर्दा १५० जना किसानलाई संस्थाले रकम दिन गाह्रो भएको छ । डीडीसी पदाधिकारीहरूसँग धेरै पटक कुरा गर्दा अहिले रकम भुक्तान गर्न समस्या छ भन्छन्,’ खत्रीले भने, ‘अहिले हामीसँग रकम छैन । तपाईंहरुलाई ऋण निकालेर दिन्छौँ भनेका छन् तर कतिसम्म कुर्ने ?’

दूधको मूल्य १० रुपैयाँले बढाउने तयारी 

उता दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन्। दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीले दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन्। 

राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेका छन्। 

किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो। त्यसैअनुसार  दूधको मूल्य बढाउनु पर्ने देखिएको बोर्डले जनाएको छ। अब मन्त्रिपरिषद्को स्वीकृतिपछि कार्यान्वयनमा जाने बताइएको छ।

गाई, भैँसीलाई चाहिने सबैको मूल्य बढ्दा दूधको मूल्य पनि बढाउन लागेको केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटाले बताए। उनका अनुसार अहिले दूधको मूल्य १० रुपैयाँले बढाएर ७ रुपैयाँ किसानलाई र ३ रुपैयाँ उद्योगीलाई हुने गरी दूधको मूल्य बढाउने तयारी भइरहेको छ ।

वरिष्ठ उपाध्यक्ष सापकोटाका अनुसार एक वर्षअघि ३३ रुपैयाँ पर्ने दाना अहिले ५० रुपैयाँ, ९ सय रुपैयाँ पर्ने चोकर बोराको अहिले २२ सय रुपैयाँ, ३० रुपैयाँ पर्ने ढुटा अहिले ४५ रुपैयाँ पुगेको छ । त्यसैले, दूधको मूल्य बढाउन थालिएको हो । प्रधानमन्त्री प्रचण्डले समेत माग सम्बोधन गर्ने आश्वासन दिएको उनको भनाई छ ।

बजारमा हाल दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ रहेको छ। अब दूधको मूल्य बढ्दा प्रतिलिटर ९६ रुपैयाँ पर्नेछ। 

कोभिडको बेला सबै सामानको मूल्य बढ्यो तर दूधको बढेन । डिजेल, पेट्रोलको मूल्य धेरै पटक बढेको र बैंकको ब्याजदर त्यस्तै बढेकाले दूधको मूल्य बढाउन लागेको नेपाल डेरी उद्योग संघका अध्यक्ष प्रल्हाद दाहलले बताए । सातै वटा प्रदेशमा स्थलगत अध्ययन गरेर आफूहरुले मूल्य बढाउने निर्णय गरेको उनको भनाई छ । 

११ वर्षमा ४२ रुपैयाँले बढ्यो दूधको मूल्य 

बोर्डका अनुसार ११ वर्षको अन्तरालमा दूधको मूल्य ७ पटक बढेको छ । गत वर्षको माघमा सरकारले प्रति लिटर १० रुपैयाँले बढाएको थियो। आर्थिक वर्ष २०६७/६८ देखि गत आर्थिक वर्षसम्म ४२ रुपैयाँले दूधको मूल्य बढेको छ । 

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ४ रुपैयाँ, २०६९/७० मा २ रुपैयाँ, २०७०/७१ मा ६ रुपैयाँ, २०७१/७२ मा ८ रुपैयाँ, २०७४/७५ मा ६ रुपैयाँ, २०७६/७७ मा ६ रुपैयाँ, आर्थिक वर्ष २०७८।७९ मा १० रुपैंया बढेको छ ।  अब आर्थिक वर्ष २०७९।८० मा १० रुपैयाँले बढाउने तयारी छ। 

स्रोतः राष्ट्रिय दुग्ध विकास बोर्ड

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप