बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
चुनाव

यसरी हुन्छ त्रिविमा स्ववियु निर्वाचन

शुक्रबार, १९ फागुन २०७९, २० : ३३
शुक्रबार, १९ फागुन २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा मिश्रित प्रणाली अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । मिश्रित निर्वाचन प्रणाली अनुसार हुन लागेको निर्वाचनमा ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट आउने छन् । त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीबाट निर्वाचन गर्न थालेको हो । 

त्यही आधारमा त्रिविले संसदीय निर्वाचन प्रणाली अनुसार स्ववियु निर्वाचन गराउँदै आएको छ । तर, समानुपातिका लागि भने बन्दसूची हुने छैन । समानुपातिकका लागि नाम त पठाउनुपर्ने हुन्छ तर, गोप्य वा बन्दसूची भने हुँदैन । समानुपातिक सूचीमा नाम समोवश भएका उम्मेदवारमाथि पनि उजुरी तथा दाबी विरोध गर्न पाइन्छ ।

स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २०५१ फागुन २८ गते वा सोभन्दा पछिको जन्ममिति भएको विद्यार्थीले मात्र उम्मेदवारी दिन पाउनेछन् ।

विद्यार्थी संगठनहरूले आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराउने छन् । त्यस्तै विद्यार्थी संगठनहरू बाहेक स्वतन्त्र वा कुनै समूहमार्फत पनि उम्मेदवारी दिन सकिने व्यवस्था छ । समूह बनाउनका लागि क्याम्पसमा समूह दर्ता गराउनुपर्ने हुन्छ । तर, स्वतन्त्रको हकमा भने दर्ता गराउनु पर्दैन ।

कसरी हुन्छ निर्वाचन ?

स्ववियु कमिटीमा ३ जना पदाधिकारी प्रत्यक्षबाट निर्वाचित हुनेछन् । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष छन् । उनीहरूका लागि प्रत्यक्ष प्रणाली अनुसार निर्वाचन हुने त्रिवि विद्यालय कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

त्यसमध्ये उपाध्यक्ष र सहायक सचिव समानुपातिक प्रणालीबाट निर्वाचित भएका सदस्यहरूबाट मनोनित गरिनेछ । स्ववियु कमिटी ११ देखि २१ जना सम्मको हुनेछ । 

त्रिवि स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९ अनुसार प्रत्येक क्याम्पसमा २०० जनासम्म विद्यार्थी भए ११ सदस्यीय कार्य समिति हुनेछ । त्यस्तै २०१ देखि १००० जनासम्म १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म १९ सदस्यीय र ३००१ जनामाथि संख्या रहेकोमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

यदि कुनै क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्य समिति छ भने १० सदस्य समानुपातिक प्रणालीबाट छानिने छन् । ती १० मध्येबाटै २ जनालाई पदाधिकारीमा मनोनित गरिने निर्देशक अधिकारीले बताए ।

एउटा संगठनले १६ जनाको नाम समानुपातिक प्रणालीका पेस गर्नुपर्ने हुन्छ । ‘मानौ कुनै संगठनले १० जनाले नै जित्नेगरी भोट ल्यायो भने पहिला १६ जनाको नाम पठाएको हुन्छ । अनि यसले जति जनाको नाम पनि १० जनाभित्र पार्न पाउँछ,’ निर्देशक अधिकारीले भने ।

त्यसरी समानुपातिक सूचीमा रहेका सदस्यहरूमध्ये जसलाई पनि कार्य समितिमा पठाउन सकिने उनको भनाइ छ । ‘संसदीय निर्वाचनजस्तो हुँदैन । पछि संगठनले सिफारिस गरेर चयन हुने भएकाले यसमा सबैको सम्भावना हुन्छ । १६ नम्बरमा रहेकोलाई पठाउन पनि पायो । १ नम्बरमा रहेकालाई पनि पठाउन पायो,’ उनले भने ।

पूर्ण कार्यसमिति बनेपछि त्यहीबाट उपाध्यक्ष र सहायक सचिव मनोनित गर्नेछ । प्रत्यक्षका लागि अध्यक्ष, कोषाध्यक्ष र सचिवसँगै ८ जना सदस्यका लागि मतदान गर्नुपर्ने निर्देशक अधिकारीले बताए ।

समानुपातिकको हकमा भने सम्बन्धित संघ÷संगठन÷समूहलाई भोट हाल्नुपर्ने हुन्छ । त्यसमा बढी मत पाउने संगठनले बढी सदस्य पाउने निर्देशक अधिकारीको भनाइ छ ।

२ वर्षको पदावधि रहने कार्यसमितिमा कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुने नसकेमा बढीमा ६ महिनाका लागि त्रिवि कार्यकारी परिषद्ले पदावधि थप गर्न सक्नेछ ।

निर्वाचित भएपछि कुनै कारणले पदाधिकारीमध्ये अध्यक्षको पद रिक्त भएमा उपाध्यक्ष र सचिवको पद रिक्त भएमा सहायक सचिवबाट पदपूर्ति गरिनेछ । अन्य पद रिक्त भएमा कार्य समितिका सदस्यबाट पदपूर्ति हुने व्यवस्था छ ।

समानुपातिक तर्फ मनोनित सदस्यले चित्त बुझ्दो कार्य नगरे सम्बन्धित संगठनले फिर्ता बोलाउन सक्नेछ । त्यसका लागि संगठनले निर्णय गरेर त्यसको पत्र संरक्षक समक्ष प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि संरक्षकले स्ववियु कार्यसमितिबाट नाम हटाई सोही संगठनको बन्दसूचीमध्येबाट सिफारिस भइआएका विद्यार्थीबाट मनोनित गर्ने व्यवस्था छ ।

चैत ५ गते त्रिविका ६२ वटा आंगिक क्याम्पस र १ हजार ४० सम्बन्धनप्राप्त कलेजहरूमा निर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप