बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीमा उपराष्ट्रपतिको चुनावपछि ‘विशेष अधिवेशन’ बोलाउने गठबन्धनको तयारी

बिहीबार, २५ फागुन २०७९, १३ : ५१
बिहीबार, २५ फागुन २०७९

पोखरा । गण्डकीमा कांग्रेस-माओवादी सांसदले नयाँ सरकार बनाउने आन्तरिक गृहकार्य सुरु गरेका छन् । कांग्रेस नेतृत्वमा सरकार बनाउन गृहकार्य सुरु गरेका हुन् । फागुन १९ गते राष्ट्रपति निर्वाचनलाई लिएर ‘क्लोज क्याप’ गरिसकेका गण्डकीका कांग्रेस माओवादी सांसदहरूले उपराष्ट्रपति निर्वाचन लगत्तै नयाँ सरकार बनाउने तयारी थालेका हुन् । एक माओवादी सांसदका अनुसार २५ गते राष्ट्रपति निर्वाचन लगत्तै सङ्घमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिइनेछ । 

‘सङ्घबाट अहिले नै विश्वासको मत फिर्ता लिने निर्देशन आएको छैन । राष्ट्रपति निर्वाचनका लागि काठमाडौँ जाँदैछौँ । राष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र यसलगत्तै आगामी कदम चाल्ने हाम्रो तयारी छ,’ ती सांसदले भने । 

मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको सरकार ढल्ने सुइँको पाएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन नै अन्त्य गरेका छन् । केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै प्रदेश सरकारसमेत ढल्ने आशङ्का भइरहेका बेला चालु अधिवेशन अन्त्य गरिएको थियो । तर, माओवादी—कांग्रेसले विशेष अधिवेशन बोलाएर नयाँ सरकार गठन गर्ने तयारी गरेका हुन् । यसका लागि एक चौथाइ सांसदले गण्डकी प्रदेशसभा सचिवालयमा लिखित निवेदन पेस गर्न सक्छन् । 

विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुख कार्यालयमा निवेदन दर्ता गर्नुपर्छ । यदि निवेदन दर्ता भइहाल्यो भने पनि १५ दिनभित्र अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । गण्डकीमा विशेष अधिवेशन माग गर्न १५ जना सांसदको हस्ताक्षर आवश्यक पर्छ । यसका लागि माओवादी सांसदहरूलाई कांग्रेस सांसदहरूको साथ चाहिन्छ । माओवादीबाट गण्डकी प्रदेशमा ८ जना सांसद भएपनि १ जना सभामुख बन्दा ७ जना सांसद छन् । १५ जना सांसद पुर्याउन काङ्ग्रेसबाट ८ जना सांसदहरूले साथ लिन आवश्यक छ । विशेष अधिवेशन बोलाउन कांग्रेस सकारात्मक रहेका पूर्व कानुन सांसद विन्दु थापाले बताए । ‘कांग्रेस नेतृत्वको सरकार बनाउन हामीहरू सकारात्मक छौँ। यसका लागि पहल गर्ने कुरा स्वाभाविक पनि हो,’ उनले भने, ‘अहिले संसद् अधिवेशन बन्द रहेकाले सरकार निर्माण हुने अवस्थामा विशेष अधिवेशन कुरा स्वतः हुन्छ ।’ 

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२, माओवादीका ८ र राप्रपाको २ गरी कुल ३१ सदस्यले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । तर, केन्द्रमा राष्ट्रपति निर्वाचनलाई लिएर ८ दलीय गठबन्धन बनेपछि  ३ महिनामै खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार सङ्कटमा परेको हो । 

माओवादी केन्द्रका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमानले भने आफूहरूलाई सरकार फेरबदलबारे केन्द्रबाट कुनै पनि निर्देशन नआएको बताए । ‘अहिले माथिबाट यस्तो निर्देशन आएको छैन । अब राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचनपछि पार्टीले के भन्छ सोही अनुसार कदम चाल्छौँ,’ उनले भने । 

राप्रपा गण्डकी प्रदेशको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपनि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ तत्काल राजीनामा दिने पक्षमा छैनन् । गण्डकीमा २ सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिनासाथ अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्छ । समर्थन फिर्ता लिएर सहयोग गर्न कांग्रेस सांसदले लबिङ गरे पनि मुख्यमन्त्री अधिकारीले हतारिएर कुनै पनि निर्णय नलिन सुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप