शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिता डंगोलको प्रश्न, ‘अनुगमन गर्न जाँदा व्यवसायीहरूले पहिल्यै कसरी थाहा पाउँछन् ?’

बुधबार, ०१ चैत २०७९, १५ : ५८
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गरेकी हुन् ।  बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै उप–प्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन् । 

उनले बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नको लागि आवश्यक कानुन बनाउनुपर्ने जिकिर गरिन् । उनले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले आफ्नो काम कर्तव्य, अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा पनि बजार अनुगमनलाई तीव्र गतिमा सञ्चालन गर्ने र बजारलाई व्यवस्थापन गर्ने पनि जिम्मेवारी रहेको छ । यसलाई महानगरले अगाडि बढाई रहँदा विभिन्न समस्याहरू झेलिरहेका छौँ । स्थानीय सरकारलाई अनुगमनको अधिकार दिएको छ तर कार्यान्वयन गर्नलाई हात बाँधिदिएको छ । आफ्नो अगाडि मिठा परिकार सजाएर राखिएको छ । खाऔँ भनेको छ तर हात बाँधिदिएको छ । कसरी खानुहोला ? यसका लागि पनि आवश्यक कानुन बनाउनुपर्ने महसुस गरेका छौँ ।’ 

उनले महानगर पालिकाले पनि आफ्नो अनुगमनको ऐनलाई संशोधन गरिरहेको जानकारी दिइन् । स्थानीय तहको अधिकार भएका क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउने विषयलाई कार्य क्षेत्र र अधिकारमा रहेर संशोधन गर्ने काम र अनुगमन तीव्र गतिमा अगाडि बढाउनको निम्ति संघ प्रदेश सरकारसँग समन्वय गरिरहेको उनको भनाई थियो । उनले भनिन्, ‘आगामी दिनमा समन्वय प्रभावकारी रूपमा अगाडि बढ्ने अपेक्षा गरेको छु । स्थानीय सरकारले धेरै अधिकारहरू तीनै तहमा सहकार्य समन्वय हुनुपर्छ र सह–अस्तित्वलाई स्वीकार गर्नुपर्छ भनी रहँदा विभिन्न काम कर्तव्यहरु दोहोरो पनि भएको छ । दोहोरो काम कर्तव्य हुँदा पनि काम गर्न अप्ठ्यारो भएको छ । उपभोक्ताहरूको हक अधिकार सुनिश्चित गर्ने हो भने दोहोरो कामकर्तव्यलाई नीतिगत रूपमा नै सुधार गर्नुपर्ने आजको आवश्यकता हो । बजार अनुगमन स्वचालित हुनुपर्छ । प्रणालीले काम गर्नुपर्छ व्यक्तिले काम गर्ने होइन । एक जना व्यक्तिले काम गर्दा व्यक्ति रहेसम्म काम हुन्छ त्यसपछि सकिन्छ । अनुगमनको स्वचालित प्रणालीको विकास गर्ने आवश्यक छ । त्यसको तयारी महानगरले गरिरहेको छ । महानगरले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्नको लागि तत्पर छौँ । हामी सबैले फिल्डमा काम गर्दा निष्पक्ष भएर काम गर्नुसक्नुपर्छ ।’

त्यस्तै उप–प्रमुख डंगोलले बजार अनुगमन गर्दा व्यक्तिगत स्वार्थको कारण विभिन्न समस्या भोगिरहेको बताइन् । उनले व्यक्तिगत स्वार्थ राख्नेहरूले पनि आफू पनि उपभोक्ता हो भनेर सोच्न जरुरी रहेको उल्लेख गरिन् ।  उनले महानगरमा निर्वाचित भएर आएको ९ महिनाको कार्य अनुभवमा बजार अनुगमन गर्न जाँदा व्यवसायीहरूले थाहा पाइसक्ने गरेको बताइन् । उनले अनुगमन गर्न जाने समितिमा बस्ने सदस्य बाहेकलाई भन्दा अन्य अरूलाई अनुगमन गर्ने विषयमा थाहा नहुनुपर्ने हो तर अनुगमन गर्ने स्थानका व्यवसायीहरूलाई थाहा हुन्छ कसरी भन्दै प्रश्न गरिन् । उनले अनुगमन टोली पुग्दा व्यवसायीहरूले सटर लगाइसकेको हुने भएको हामी आफै जिम्मेवार हुनुपर्ने जिकिर गरिन् । उनले अनुगमनमा जाने कुनै पनि अधिकारीले राजनीति गर्न नहुने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप