बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
बयलबजारमा खुसीयाली

उपराष्ट्रपतिका छिमेकी भन्छन्– अब गाउँको मुहार फेरिने भयो

शुक्रबार, ०३ चैत २०७९, २१ : ४६
शुक्रबार, ०३ चैत २०७९

बारा । रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै बाराको बयलबजार गाउँमा खुसीयाली छाएको छ । नवनिर्वाचित उपराष्ट्रपति यादवको घर कलैया उपमहानगर–५, बयलबजार हो ।

स्थानीयवासीहरु मधेसको एउटा मध्यम वर्गको छोरा उपराष्ट्रपति निर्वाचित भएको भन्दै भन्दै हर्षित छन् । आफ्नै गाउँको सुख–दुःखमा भिजेको व्यक्ति उपराष्ट्रपति बनेको भन्दै छिमेकीहरु उत्साहित भएका छन् ।

बयलबजारस्थित सार्वजनिक पोखरी छेउमा उपराष्ट्रपनि यादवको सानो कच्ची घर छ । यही घरमा बसेर उनले सुरु गरेको राजनीतिक यात्राले अहिले उनलाई देशको उपराष्ट्रपति बनाएको छ ।

स्थानीय पन्नादेवी कन्या स्कुलमा १८ वर्ष विज्ञान विषय अध्यापन गराएका यादव २०६२/०६३ को आन्दोलनपछि सक्रिय राजनीतिमा लागेका हुन् । आफ्नो छिमेकी उपराष्ट्रपति भएको भन्दै यहाँका बासिन्दा अब गाउँको विकास हुने अपेक्षा गर्दछन् ।

r1

स्थानीय किसुन यादवले भने, ‘उहाँ उपराष्ट्रपति बनेकोमा हामी गाउँले धेरै खुसी छौँ, गाउँको विकास हुन्छ भन्ने हाम्रो आशा छ तर यो सब उहाँकै हातमा छ ।’

रामसहाय यादव गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यद्यपि उनको घर भने बारा निर्वाचन क्षेत्र नं ३ मा पर्दछ ।

‘उहाँ (रामसहाय यादव)ले हाम्रो बुबाको पुस्तालाई पढाउनु भयो, मलाई पनि कक्षा ५ सम्म विज्ञान विषय पढाउनु हुन्थ्यो । पछि अध्यापन छोडेर राजनीतिमा लाग्नुभयो,’ यादवका विद्यार्थी धर्मेन्द्र यादवले भने, ‘अहिलेसम्म हाम्रो गाउँमा धेरै नेता आए–गए, तर विकास भएन । अब उहाँ उपराष्ट्रपति हुनुभएको छ, विकास हुन्छ होला ।’

गाउँमा नाला, सडक, शिक्षा, स्वास्थ्यमा धेरै समस्या रहेको उनले बताए । ‘यहाँ शिक्षामा धेरै जोड दिनुपर्छ र स्वास्थ्य सेवालाई पनि सहज तुल्याउनु पर्छ,’ उनले भने, ‘उहाँ असाध्यै राम्रो मान्छे हुनुहुन्छ, गाउँको विकासको लागि राम्रो काम गर्नुहुन्छ भन्ने हाम्रो आशा छ ।’

r4

उपराष्ट्रपति यादवकै गाउँकी ७५ वर्षीय जानकी मण्डल गाउँमा बेरोजगारी समस्याले गरिबहरुलाई बाँच्नै गाह्रो भएको बताउँछिन् । ‘उहाँ उपराष्ट्रपति बन्नुभएकोमा हामी धेरै खुसी छौँ, तर अब गाउँको विकास गर्नुहुन्छ कि हुँदैन भन्ने थाहा छैन, त्यसका लागि केही समय कुर्नैपर्ने हुन्छ ।’

यद्यपि आफूलाई उपराष्ट्रपति यादवले गाउँको मात्र होइन, देशकै विकासमा ध्यान दिने विश्वास लागेको उनी बताउँछिन् ।

गाउँमा यसअघि जितेर गएका नेताहरुले खासै केही विकास नगरेको कलैया उपमहानगर–६ का उमर अन्सारी बताउँछन् । ‘यहाँ जो नेता आए पनि जनताको पैसा लुटेर गोजीमा हाल्नेमात्रै आए, अब उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । केही होला कि भन्ने आशा छ,’ स्थानीय युवा अन्सारीले भने । उनले रोजगारी नहुँदा गाउँका युवा विदेश जानुपर्ने बाध्यता रहेको गुनासो गरे ।

r88

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप