शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माधव नेपाललाई प्रचण्डको जवाफ : तीन वटा मन्त्रालय दिन कोसिस गर्छु, तर धेरै गाह्रो छ !

मङ्गलबार, १४ चैत २०७९, ११ : ४९
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन आग्रह गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका एकीकृत समाजवादीका शीर्ष नेताहरूसँगको कुराकानीमा आफूलाई सहयोग गर्ने दलहरू धेरै भएको र उनीहरूको पनि चित्त बुझाउनुपर्ने भएकाले समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन आग्रह गरेका हुन् । तर प्रधानमन्त्रीसँगको भेटवार्तामा समाजवादीका शीर्ष नेताहरुले आफ्नो बटमलाइन कम्तीमा तीन मन्त्रालय रहेको भन्दै त्यसबाहेकमा कम्प्रोरमाइज गर्न नसक्ने अडान दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र प्रकाश ज्वाला मंगलबार बिहान बालुवाटार पुगेका थिए । भेटवार्तामा मन्त्रालय भागबण्डाबारे कुराकानी भएको सम्मानीत नेता झालनाथ खनालले जानकारी दिए ।

‘ठोस सहमति हुन सकेन । मन्त्रालयका बारेमा थोरै कुराकानी भयो । हामीले थोरैमा तीन वटा मन्त्रालय मागेका छौँ । तर प्रधानमन्त्रीले कोसिस गर्छु तर धेरै गाह्रो छ भन्नुभयो’, नेता खनालले रातोपाटीसँग भने  । प्रधानमन्त्रीले तीन वटा मन्त्रालय दिन नसक्ने संकेत गरेपछि एकीकृत समाजवादीका नेताहरू आफ्नो बटमलाइन दोहोर्‍याएर बालुवाटारबाट निस्केका थिए । सो पार्टीले गृह वा अर्थसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । साथै सातै प्रदेशमा मन्त्री र एक मुख्यमन्त्री पनि पाउनुपर्ने गरी प्याकेजमा सहमति गर्नुपर्ने समाजवादीको माग छ ।

‘हामीले केन्द्रमा तीन मन्त्रालय र सकभर प्रदेशमा एक मुख्यमन्त्रीसहित सातै प्रदेशमा एक-एकजना मन्त्री भए पनि हुनुपर्छ भनेका छौँ’, एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले भने, ‘बाँकी छलफलका क्रममा सहमतिमा पुग्न सकिन्छ ।’ प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ता लगत्तै नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवाालय बैठक बोलाएको छ । बैठकमा शीर्ष नेताले प्रचण्डसँग भएको छलफलको ब्रिफिङ गर्नुका साथै पार्टीबाट सरकारमा जाने मन्त्रीको टुंगो लगाउने बुझिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप