सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काबुलबाट बेलायत ल्याइएका नेपाली सुरक्षाकर्मीलाई निर्वासनको तयारी

बुधबार, २२ चैत २०७९, १५ : ५३
बुधबार, २२ चैत २०७९

अफगानिस्तानमा रहेको बेलायती दूतावासका कर्मचारीलाई सुरक्षा दिने नेपाली सुरक्षाकर्मी हाल हिरासतमा छन् र निर्वासनको सामना गरिरहेका छन् । उनीहरूलाई सन् २०२१ को अगस्ट महिनामा अफगानिस्तानबाट हेलिकोप्टरमार्फत बेलायत पठाइएको थियो । 

काबुल तालिबानको कब्जामा परेपछि दुई भारतीयसहित ११ नेपाली गरी १३ सुरक्षाकर्मीलाई बेलायत लगिएको थियो । गार्डियनका अनुसार कतिपयलाई अनिश्चितकालीन बिदा दिइएको छ भने कतिपय निर्णयको पर्खाइमा छन् । 

तीमध्ये एक सुरक्षाकर्मी, ३७ वर्षका नेपाली नागरिक बम बहादुर गुरुङले अफगानिस्तानमा सुरक्षाकर्मीको रूपमा १० वर्ष काम गरे । पछि उनले काबुलस्थित बेलायती र क्यानेडेली दूतावासमा सुपरभाइजिङ गार्डको रूपमा काम गरे । 

उनले सन् २०२२ फेब्रुअरी १७ मा बेलायतमा स्थायी अध्यागमन स्थितिका लागि दिइएको आवेदनको कन्फर्मेसन पाए । उक्त कन्फर्मेसनमा उनको आवेदन अघि बढेको र बायोमेट्रिकका लागि प्रबन्ध मिलाउन लागिएको जानकारीसमेत दिइयो । यद्यपि, सन् २०२२ कै जुनमा उनले सरकारको ‘अफगान रिसेटलमेन्ट टिम’ बाट एउटा इमेल पाए जसमा उनलाई बेलायतबाट निष्कासन गरिएको र अफगान नागरिक पुनर्वास योजनाअन्तर्गत बेलायतमा बस्न योग्य नरहने जानकारी दिइयो ।  

सन् २०२३ मार्च २७ गर्ने आन्तरिक कार्यालयले पक्राउ गरेको समूहमा गुरुङ पनि थिए । उनलाई हिरासतमा राखियो । 

‘म पक्राउ पर्दा काममा जान तयार हुँदै थिएँ । म स्तब्ध छु । बेलायतले मलाई यतिसम्म गर्‍यो भन्ने लागिरहेको छ,’ उनले ग्याटविक विमानस्थल नजिकै रहेको ब्रुक हाउस इमिग्रेसन रिमुभल सेन्टरबाट भने । ‘मैले काबुलस्थित बेलायती दूतावासका कर्मचारीलाई धेरै वर्षसम्म जोगाएँ । हामीमध्ये कसैको पनि आपराधिक रेकर्ड छैन । मेरो सपना भनेको बेलायतमा बस्नु हो र बेलायती सेनामा सेवा पुर्‍याउनु हो ।’

उनले भने, ‘केही समूहलाई आन्तरिक कार्यालयका अधिकारीले अप्रिल ११ तारिखमा जबरजस्ती सबैलाई यहाँबाट निकालिने बताएका छन् ।’

अफगानिस्तानमा काम गर्नुअघि गुरुङ नेपाली सेनामा कार्यरत थिए । उनले इराकमा पनि काम गरेका थिए । अफगानिस्तानमा उनलाई सेक्युरिटी कम्पनीले काममा लगाएको हो । उनी बेलायती र क्यानेडेली कर्मचारीसँगै दूतावासको एउटै भवनमा बस्थे । सन् २०१६ मा तालिबान आत्मघाती हमलाको आक्रमणमा परी १३ नेपालीसहित दुई भारतीय सुरक्षाकर्मी मारिएका थिए । त्यसमा उनका केही साथी पनि परेका थिए ।

उनलाई गिरफ्तार गर्नुअघि उनी एक होटेलमा कार्यरत थिए जहाँ उनले तलब पाइरहेका थिए र करसमेत तिरिरहेका थिए । उनलाई मार्च महिनामा ‘इम्प्लोइ अफ द मन्थ’ को अवार्ड प्रदान गरिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप