शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने धन्दामा संलग्न ३ जनाको बयान सकियो, ‘शीर्ष नेता’ जानकार

सानु भण्डारीको बयान : ‘टोप बहादुर मामा हुन्, विषय उहाँलाई थाहा थियो’
शुक्रबार, २४ चैत २०७९, १७ : ४९
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका मध्ये ३ जनाको बयान सकिएको छ । शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा चैत १२ मा प्रहरीले मोरङका केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पनि पक्राउ परेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहवरमा टङ्क गुरुङ, सागर राई र सानु भण्डारीको बयान सकेका हुन् । केशव दुलालको भने बयान जारी छ । आरोपीमध्येका सानु भण्डारीले नेपाली नागरिकलाई नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने बारे नेकपा (एमाले)का सचिव टोप बहादुर रायमाझीलाई जानकारी भएको बयान दिएका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझी नातामा आफ्नो ‘मामा’ पर्ने भण्डारीले बताएका छन् ।

सानु भण्डारी ललितपुर ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय हुन् । अहिले उनले महालक्ष्मी नगरपालिका–४ स्थित सीतापाखा हाइटमा घर बनाएका छन् । ५० वर्षीय भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् । एमाले सचिव रायमाझीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।  

Sanu Bhandari 12.24 (2079)

नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिएका छन् । उजुरकर्ताको सङ्ख्या १ सय ४५ पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले रातोपाटीलाई बताए । डा. केसीले भने, ‘उजुरकर्ता अझै बढ्न सक्छन् ।’

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । उजुरी परेपछि सो प्रकरणमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए ।

आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

‘बादल’सँग भेटघाट

नक्कली परिचयपत्र बनाएर नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने सिलसिलामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग पनि भेटघाट र छलफल गरेको आरोपीले बयानमा खुलाएका छन् ।

सरकारी वकिल कार्यालयले प्रमाणित गरेको बयानमा सानु भण्डारीले ‘बादल’सँगको सम्पर्कबारे खुलाएका हुन् । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘सोधपुछ गर्दा केशव दुलालले रामबहादुर थापा ‘बादल’ र उनका छोरा प्रतीक थापाको नाम लिएका छन् ।’ दुलालको बयान पुरा भैसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप