मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सम्मानित निजी क्षेत्र बनाउन मेरो उम्मेदवारी : उपाध्यक्षका प्रत्याशी ढकाल

आइतबार, २६ चैत २०७९, २२ : १५
आइतबार, २६ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले वस्तुगत संघका समस्यालाई महासंघमार्फत सरकार समक्ष पुर्‍याएर उक्त समस्या समाधान गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । 

‘साना मझौला उत्पादनहरू, मौलिक उत्पादनहरू, वैकल्पिक ऊर्जा, उत्पादनमूलक उद्योग, सेवामूलक, पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रलाई महासंघसँग आबद्ध विभिन्न समिति, फोरम, परिषद्मा जोड्दै उक्त समस्या समाधान गर्नु नै मेरो पहिलो प्राथमिकता रहन्छ,’ वस्तुगत संघका अध्यक्षहरूसँगको छलफल कार्यक्रममा उनले भने, ‘वस्तुगत संघहरुका साथीहरूको समस्या, चुनौतीलाई सरकारसँग पुर्‍याएर समाधान तथा सम्भावनालाई साथ दिनका लागि म उपाध्यक्ष भएर महासंघमा जाँदैछु ।’

अहिलेको आर्थिक मन्दी तथा उच्च बैंक ब्याजदरका कारण अहिले धेरै उद्योगी व्यवसायीहरू मारमा परेको भन्दै आफू निर्वाचित भएर गएसँगै राष्ट्र बैंक र सरकारसँग वार्ताको टेबुलमा बसेर तत्काल समस्या समाधान गर्ने बताए । ‘अहिले अवस्थामा हाम्रो उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकमा ल्याउनुपर्छ,’ उनले भने, ‘यस्तै राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोड्दै आएका छन् यसलाई बढीमा २ प्रतिशत कायम गरिनुपर्छ ।’

विशेष गरी मौलिक उत्पादन र निर्यातजन्य उद्योगहरूका लागि सरकारले सहुलियत र पुनर्कर्जा दिनुपर्ने उनको माग थियो । ‘देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको योगदान ठूलो छ,’ उक्त कार्यक्रममा उनले भने, ‘तर सरकारले तीनै उद्योगी व्यवसायीका समस्यालाई बेवास्ता गर्दै आएको छ ।’

अहिलेको मन्दीका कारण उद्योगी व्यवसायीले बैंकको किस्ता तिर्न नसक्ने अवस्था रहेको भन्दै चैतमा तिर्नुपर्ने किस्ता र ब्याजलाई कम्तीमा असार मसान्तसम्म सार्नुपर्ने उनको माग थियो । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिएका उनले आफ्ना सम्पूर्ण टिमलाई नै जिताएर पठाउन आग्रह गरेका छन् । ‘

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप