बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेससँगै लोसपाको पनि दाबी

बुधबार, २९ चैत २०७९, २१ : ३०
बुधबार, २९ चैत २०७९

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले पनि मधेस प्रदेश सरकारमा दाबी गरेको छ ।

सत्तारुढ नयाँ गठबन्धन अनुसार मधेसमा आफ्नो पार्टीले पनि नेतृत्व पाउनुपर्ने लोसपाले दाबी गरेको हो । केन्द्रमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएजसरी नै मधेस प्रदेशमा पनि आलोपालो हुनुपर्ने दाबी लोसपाको छ ।

हाल मधेसमा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकार रहेको छ । जसपालाई तत्कालीन अवस्थामा एमाले–माओवादी गठबन्धनले सघाएर सरकार बाएको हो । जसअनुसार जसपापछि जनमत पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर अहिले गठबन्धन फेरिएको छ ।

काँग्रेस र लोसपाको गठबन्धनमा इन्ट्री भएको छ । यहीबीचमा कांग्रेससँगै लोसपाले पनि नेतृत्वमा दाबी गरेको हो ।

लोसपाका एकजना कार्यकारिणी सदस्यले भने, ‘हामी सरकारमा जान्छौं तर मन्त्रीका लागि मात्र होइन नेतृत्व गर्ने गरी जान्छौं । त्यसका लागि छलफल भइरहेको छ ।’

कांग्रेसले तत्काल नेतृत्व लिनेगरी छलफल नै चलाएको बताइएको छ ।

यसअघि एमाले–माओवादी गठबन्धनले बनाएको सरकारमा लोसपा सहभागी भएको थिएन । लोसपा त्यो गठबन्धनमा नभएको कारण त्यतिबेला सरकारमा सहभागी गराइएको थिएन ।

अहिलेको सत्ता गठबन्धनमा लोसपा आएपछि सरकारमा जाने निश्चित भएको छ र नेतृत्वमा नै दाबी गरेको हो । लोसपाका नेता मनिष मिश्रले सरकारमा आफ्नो पार्टीको दाबी स्वाभाविक भएको बताए । उनले भने, ‘अहिले सरकारको विषयमा छलफल नभएपनि सरकार बनाउने बेला छलफल भयो भने सरकारको नेतृत्वका लागि हाम्रो पनि दाबी रहनेछ ।’ लोसपा मधेस सरकारको नेतृत्व गर्न सक्षम भएको भन्दै उनले आलोपालो नेतृत्वका लागि आफूहरुले गठबन्धनमा प्रस्ताव लैजाने बताए ।

वैशाख १० गतेको उपनिर्वाचन सकेपछि मधेस प्रदेशलगायत अन्य प्रदेशहरुमा केन्द्रमा रहेको गठबन्धन अनुसार सरकार निर्माण गर्ने कार्य सुरु हुने बताइएको छ । लोसपाको मधेस प्रदेशसभा नौ जना सांसद छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप