शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
वर्ष २०७९ फर्केर हेर्दा

२०७९ सालमा घटेका विश्वका चर्चित घटना

बिहीबार, ३० चैत २०७९, २३ : ०५
बिहीबार, ३० चैत २०७९

वि.सं २०७९ हामीबाट विदा हुँदैछ । विश्वका खेल, वैज्ञानिक, राजनीतिक, आर्थिक, मनोरञ्जन जगतमा घटित हृदयविदारक, आशावादी र आश्चर्य लाग्दा घटनाको एउटा पोको थमाएर वर्ष २०७९ गुज्रिएको छ । यहाँ केही चर्चित घटनाबारे जानकारी समेटिएको छ ।

नासाद्वारा क्षुद्रग्रहको मार्ग परिवर्तन

अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइ दिएको थियो ।

Dart-poster3

कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्रग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो । यसलाई ‘डार्ट मिसन’ नाम दिइएको छ । योसँगै अन्तरिक्ष एजेन्सी नासाले आफ्नो पहिलो प्लानेटरी डिफेन्स सिस्टममा सफलता हासिल गरेसँगै  इतिहास रचेको छ । 

मानव रगतमा भेटिए प्लास्टिकका सूक्ष्म कण

गत मार्चमा ‘इन्भाइरोन्मेन्ट इन्टरनेशनल’ जर्नलमा प्रकाशित एउटा शोधमा परीक्षण गरिएका ८० प्रतिशत मानिसमा माइक्रोप्लास्टिकका कण भेटिएको उल्लेख गरिएको छ ।

माइक्रोप्लास्टिक भनेको प्लास्टिकका सूक्ष्म कण हो, जुन लम्बाईमा ५ मिलिमिटरभन्दा कम हुन्छ । माटोमा वा समुद्रमा फ्याँकिएका प्लास्टिकका ठूला वस्तु समय क्रममा क्षयीकरण भएर ससाना कणमा परिणत भएर वातावरण प्रदूषित गर्ने गर्छन् । 

शरीरमा तिनको असर स्पष्ट भएको छैन तर तिनले मानव कोषमा हानी भने पुर्याउन सक्ने नयाँ परिणाम भने चिन्ताजनक छ । 

अभूतपूर्व विश्वकपः पहिलो पटक महिला रेफ्री

सन् २०२२ को कतार फिफा पुरुष विश्वकप प्रतियोगितामा धेरै अभूतपूर्व घटना भए ।

X3FAGSNF5VLUHE2MFDRVPOSCUY

मुख्यतः कुनै अरब वा मुस्लिम देशले आयोजना गरेको यो पहिलो विश्वकप थियो ।

साथै समूह चरणका खेलमध्ये जर्मनी र कोस्टारिकाको खेल विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफ्रीद्वारा सञ्चालन भयो । फ्रान्सकी स्टेफनी फ्रापार्टको नेतृत्वमा सबै महिला अम्पायर रहेको टोलीले उक्त खेल सञ्चालन भयो ।  

कुनै अफ्रिकी वा अरब राष्ट्रले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन पनि यसै पटक भयो । मोरक्को सेमिफाइनलसम्म पुग्यो ।

अप्रत्याशित नतिजाले भरिएको टुर्नामेन्टमा लिओनाल मेस्सीको अर्जेन्टिनी टोलीले सन् १९८६ पछिको पहिलो जित हासिल गर्यो, जुन स्टार खेलाडीको अन्तिम विश्वकपसमेत रहेको थियो । 

उक्त टुर्नामेन्टको लागि संरचना बनाउने क्रममा ६ हजार ५ सय भन्दा बढी आप्रवासी कामदारहरू मारिएको भन्ने सुरुवाती रिपोर्ट पनि आए । 

पृथ्वीको जनसंख्या आठ अर्ब पुग्यो 

५ नोभेम्बर २०२२ मा विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले जनायो ।

bigstock-Moscow-Russia-September-208762624_0-1-scaled

‘जनस्वास्थ्यको क्षेत्रमा भएका सुधार, पोषण, व्यक्तिगत सरसफाइ अनि औषधोपचारका कारण निरन्तर बढिरहेको मानिसको आयुले यो अभूतपूर्व वृद्धि सम्भव भयो । साथै केही देशमा निरन्तर उच्च प्रजनन दर कायम रहनाले पनि यस्तो भयो,’ राष्ट्रसङ्घले विज्ञप्तिमा भनिएको छ ।

विश्वको जनसंख्या सय करोडबाट २ सय करोड पुग्न १ सय २५ वर्ष लागेको थियो तर ७ सय बाट ८ सय करोड पुग्न १२ वर्ष मात्रै लागेको छ । अब अर्को एक अर्ब जनसंख्या थपिन कम्तीमा १५ वर्ष लाग्नेछ । किनभने समग्रमा जन्मदर बिस्तारै घट्दो क्रममा छ ।

चीनको चेतावनीपछि नेन्सी पेलोसीको ताइवान भ्रमण

220803081146-01-pelosi-tsai-ing-wen-0803

अगष्ट महिनामा अमेरिकाकी तत्कालीन सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिका सम्बन्धमा चुनौती थपियो । चीनले अमेरिकाकी सभामुख नेन्सी पेलोसीले ताइवानको यात्रा गरे आफूले कडा कदम चाल्ने चेतावनी दिएको थियो । 

सन् १९९० को दशकपछि पहिलो पटक अमेरिकाका उच्च पदस्थ ब्यक्ति ताइवान भ्रमणमा गएपछि तनाव उत्कर्षमा पुग्यो । बेइजिङले ताइवान नजिकको आकाशमा सैन्य हवाई प्रशिक्षणसमेत गरेको थियो । 

घज्ञज्ञद्धघ

भारतमा आदिवासी महिला बनिन् राष्ट्रपति

२०७९ सालको साउनको पहिलो साता भारतको राष्ट्रपतिमा द्रोपदी मुर्मु निर्वाचित भइन् । भारतको राष्ट्रपति बन्ने पहिलो आदिवासी जनजाति महिला बन्दै मुर्मुले इतिहास कायम गरिन् । 

जापानी पूर्व प्रधानमन्त्रीको हत्या

यो वर्ष जापानमा पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यासँगै राजनीतिक हिंसा देखियो । जुन ८ मा नाराको सडकमा सर्वसाधारणलाई सम्बोधन गरिरहेका आबेलाई एक्लै आएका एक बन्दुकधारीले गोली प्रहार गरेका थिए । सो बन्दुकधारीले घरेलु हतियारको प्रयोग गरेका थिए ।

_125835659_mediaitem125835655

जापानमा बन्दुकलाई लिएर रहेको कडा कानुनका कारण उनले घरमा नै निर्माण गरिएको हतियार प्रयोग गरेको हुन सक्ने अनुमान गरियो । 

बन्दुक सम्बन्धि निकै कम अपराध हुने जापानमा पूर्व प्रधानमन्त्री सिन्जो अवेको गोली हानी हत्या गरिएपछि यसले निकै हलचल मच्चाएको थियो । 

बेलायतमा शोक

जापानका सबैभन्दा धेरै समय प्रधानमन्त्रीका रूपमा सत्तामा रहेका आबे मृत्युपश्चात् बेलायतले पनि आफ्नो सबैभन्दा लामो समय राजगद्दीमा आसीन महारानीलाई सेप्टेम्बरमा गुमायो । महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भयो । 

gettyimages-140158354_slide-c1731328bfd763d91287c51d1247d9b69e4560d4-s1100-c50

महारानीको स्कटल्याण्डस्थित बामोरल दरबारमा निधन भयो । चिकित्सककको निगरानीमा रहेपछि उनको सेप्टेम्बर ८ मा निधन भएको थियो । उनी ७० वर्ष बेलायतको सिंहासनमा बसेकी थिइन् । बेलायतमा उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ । 

इरान :  महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु

१६ सेप्टेम्बर, २०२२ मा हिजाब नलगाएको आरोपमा २२ वर्षीय महसा अमिनीलाई इरानको धार्मिक प्रहरीबाट पक्राउ गरियो । उनलाई पक्राउ गरेर ‘पुनः शिक्षा’ केन्द्र लगिएको थियो । त्यहाँ उनलाई शिष्ट पोशाकबारे मार्गदर्शन दिन लगिएको भनिए पनि प्रहरी हिरासतमा मृत्यु भयो । 

r0_0_800_600_w800_h600_fmax

इरान प्रहरीले अमिनीको हृदयाघातका कारण मृत्यु भएको बताउँदै उनको मृत्यु दुर्भाग्यपूर्ण भएको बतायो । तर, अमिनीको परिवारले प्रहरीको भनाई स्वीकार्न मानेनन् । सामाजिक सञ्जालमा प्रकाशित अमिनीको तस्बिरमा पनि उनको अनुहार निकै सुन्निएको र त्यसमा नीलडामसमेत देखिएको बताइएको छ । 

उनको मृत्युपछि इरानमा मात्रै नभई विश्वमा विभिन्न देशमा विरोध प्रदर्शन भए । इरानमा भएका विरोध प्रदर्शनमा धेरैको मृत्युसमेत भएको यो घटनाले देश विदेशमा हिजाब कानुनबारे बहससमेत निम्त्याएको छ । 

मस्कले किने ट्विटर

elon-musk

अक्टोबर महिनामा एलन मस्कले विभिन्न मुद्दा मामिलापछि माइक्रो ब्लगिङ साइट ट्विटर खरिद गरे । ट्विटर खरिद गरेदेखि नै मस्क विभिन्न कारणले चर्चामा छाइरहे । ट्विटरमा कर्मचारीको व्यापक कटौती, ब्लु टिकका लागि तिर्नुपर्ने शुल्क, चरा हटाई कुकुर बनाएको लोगोमा परिवर्तन, यी सबै व्यापक चर्चित भए ।

दक्षिण कोरियाः ह्यालोइन पार्टीमा भागदौड मच्चिँदा १ सय ५९ को मृत्यु

दक्षिण कोरियाको सियोलमा ह्यालोविन पर्वको बेला आयोजना गरिएको एक कार्यक्रममा भीडभाडमा परी १ सय ५९ जनाको मृत्यु भयो । योनहाप समाचार संस्थाका अनुसार २९ अक्टोबर, २०२२ मा स्थानीय समयानुसार राती साढे ११ बजे ह्यालोविन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो । सियोलको रात्रीकालीन पर्यटकीय गन्तव्य इटेवोनमा रहेको एक बारमा अज्ञात सेलिब्रिटीको कार्यक्रम हेर्न ठुलो संख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो । 

विश्व फुटबलका लेजेन्ड पेलेको निधन

विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भयो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पेलेको डिसेम्बर २९ को बिहान ब्राजिलको साओ पाओलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । सेप्टेम्बर २०२१ मा आन्द्राबाट ट्युमर निकालेपछि पेले निरन्तर चिकित्सकको निगरानीमा थिए ।

np_file_202532

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो ।

टर्की र सिरियामा शक्तिशाली भूकम्प, ५० हजारभन्दा बढीको मृत्यु

फेब्रुअरी २०२३ को सबेरै टर्की र छिमेकी सिरियामा ७.८ म्यान्ग्निच्युडको भूकम्प गयो । सो भूकम्पमा ठुलो जनधनको क्षति भयो । हालसम्म यो भूकम्पमा परी टर्की र सिरियाका ५० हजारभन्दा बढीकोे मृत्यु भएको छ । भूकम्पमा परेका थुप्रैको उद्धारसमेत गरियो । तीमध्ये केहीको उद्धार निकै चमत्कारिक रह्यो । 

डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा

GettyImages-1250769985

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चल्यो । उनले ४ अप्रिल, २०२३ मा म्यानह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि, उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०१६ मा, एडल्ट फिल्म स्टार स्टर्मी डेनियलले मिडियासँग सम्पर्क गरेकी थिइन् । सन् २००६ मा उनी डोनाल्ड ट्रम्पसँगको आफ्नो अफेयरको कथा पैसाको बदलामा बेच्न चाहन्थिन् ।

ट्रम्पको टोलीले यसको सुराग पाएर उनका वकिल माइकल कोहेनले डेनियललाई चुप लागेबापत १ लाख ३० हजार अमेरिकी डलर दिए ।

त्यसो गर्नु गैरकानुनी थिएन । तर जब ट्रम्पले कोहनलाई पैसा फिर्ता गरे, उनले यसलाई कानुनी शुल्क बताए । अभियोजकले यसलाई ट्रम्पले व्यापार रेकर्डमा झुटो बोलेको बताएका छन् र यो न्यूयोर्क कानुनअनुसार एक अपराध हो ।

रोनाल्डोलाई फुटबल इतिहासकै सबैभन्दा बढी तलब

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डो अहिले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब पाइरहेका छन्, जुन वार्षिक १७.७ करोड पाउन्ड रहेको छ ।

हलिउड अभिनेता जोनी डेप भर्सेस एम्बर हर्ड

हलिउडका चर्चित अभिनेता जोेनी डेप र उनकी पूर्व पत्नी अभिनेत्री एम्बर हर्डको अदालती मुद्दा पनि यस वर्ष विशेष चर्चामा रह्यो । ५९ वर्षीय जोनी डेपले एम्बरविरुद्ध मुद्दा हाले । सन् २०१८ मा एम्बरले वासिङ्टन पोस्ट पत्रिकामा एउटा लेख लेखेर आफू घरेलु हिंसाको शिकार भएको बताएकी थिइन् । यद्यपि, उनले यसमा कसैको नाम भने लिएकी थिइनन् । तर जोनी डेपले यो लेखले आफ्नो बदनामी गराएको र यसले उनको करियरलाई असर गरेको बताए । त्यसपछि जोनी डेपले आफ्नी पूर्व पत्नीविरुद्ध ५० मिलियन डलरको मुद्दा दायर गरेका थिए, जसको बदलामा एम्बरले पनि १० करोड डलरको मुद्दा दायर गरेकी थिइन् ।

मुद्दाको सुनुवाई प्रत्यक्ष प्रसारण भएको थियो । यसमा एलन मस्क र अभिनेता जेम्स फ्रान्कोसहित उच्च प्रोफाइल व्यक्तिहरुले बयान दिए । अदालतले अभिनेता जोनी डेपको पक्षमा फैसला सुनायो । यसका साथै जोनी डेपलाई मानहानीको लागि १५ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दियो । यस्तै  बचाउको क्रममा जोनी डेपले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप