शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

‘बारा–२ को सबै फिल्ड हाम्रा लागि खाली छ’

चुनौतीभन्दा अवसर बढी देखेको छु : एमाले उम्मेदवार पौडेल
शनिबार, ०२ वैशाख २०८०, १३ : १३
शनिबार, ०२ वैशाख २०८०

बारा । यही वैशाख १० गते बारा क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका नेकपा एमालेका तर्फबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् । यसअघि युवा तथा खेलकुद मन्त्री, २ कार्यकाल प्रतिनिधिसभा सदस्य समेत भइसकेका पौडेल छैटौँ पटक उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैछन् ।

बारा–२ मा उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहासँग हुँदैछ । बारा–२ मा नेकपा एमालेको संगठन खासै बलियो नभए पनि यसपटकको निर्वाचनमा आफ्नो लागि फिल्ड खाली भएको पौडेल बताउँछन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ आफ्नो मुख्य चुनावी एजेण्डा रहेको उनको भनाइ छ । उपनिर्वाचनको तयारी र चुनाव प्रचारप्रसारका विषयमा केन्द्रित रहेर रातोपाटीले एमाले उम्मेदवार पुरुषोत्तम पौडेलसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
 
चुनाव अभियान कसरी सञ्चालन गर्नुभएको छ ? कस्ता कार्यक्रम लिएर जनतामाझ गइरहनु भएको छ ?

हामीले चुनाव अभियानमा २ वटा कुरालाई जोड दिएका छौँ । एउटा कुरा, जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने । जनताले पनि हामीसँग प्रत्यक्ष सम्पर्क खोजिरहेका छन् । त्यसको २ वटा कारण छ । एउटा, जितेर गएका प्रतिनिधिहरू फर्केर आएनन् भन्ने जनतामा छ । हरेक मान्छेले आएर काम गर्छु भने पनि केही काम नगरेको स्थिति छ । यो क्षेत्रमा पाँच वटा पालिका पर्छ । पाँच वटै पालिकामा २०६४ पछिका प्रतिनिधिहरूले सकारात्मक ढंगले जनताको प्रतिनिधित्व गरेको पाइएन । त्यसैले जनता परिवर्तन चाहन्छन् । यसका निम्ति प्रत्यक्ष सम्पर्क र प्रत्यक्ष प्रतिबद्धता चाहिरहेका छन् जनताले । म त्यो काम गरिरहेको छु ।

अर्को कुरा, यहाँका जनताले साधारण कुरा उठाएका छन् । यहाँ स्तरीय शिक्षाको कुरा उठिरहेको छ । स्कुल छन्, व्यवस्थापन राम्रो छैन । कलेज बनेकै छैन । स्वास्थ्यमा हेल्थ सेन्टरहरू बेवारिसे जस्तो देखिए । सिँचाइको समस्या छ । यहाँ ३ वटा नदी बगेका छन् तर सिँचाइको व्यवस्था छैन । जमिनमुनिबाट पानी निकालेर सिँचाइ गर्दा ठुलो मात्रामा इन्धन खर्च भइरहेको छ । उत्पादन बढाउन आवश्यक सपोर्ट भएको देखिँदैन ।

शिक्षा, स्वास्थ्य, कृषि र उत्पादनसँग सम्बन्धित महत्त्वपूर्ण सवाल यहाँका किसानहरूले उठाइरहेका छन् । अर्को ज्यादै महत्त्वपूर्ण कुरा, हुलाकी सडकखण्ड बाहेक सबै रोडमा यहाँ धुलो उडिरहेका छन् । यहाँ संघ, प्रदेश, स्थानीय तहको ठुलो रकम खर्च भएको छ । सबै नक्कली काममा खर्च भएको छ । जनताको करबाट आएको पैसा यसरी दुरुपयोग हुन रोक्नुपर्छ । बजेट राम्रो काममा खर्च होस्, तीव्र गतिमा बढेको भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्ने स्थानीयहरूको भनाइ छ । यिनै ३÷४ वटा विषय हामीले लिएर गएका छौँ र यसले राम्रो रेस्पोन्स पनि पाएको छ ।
 
घरदैलो क्रममा जनताका चरम गुनासो छन् । अब भोट किन दिने भन्ने अवस्थामा जनता छन् । तपाईंले पनि यो क्षेत्रमा लामो समय राजनीति गर्नुभयो, यहाँका जनताको गुनासो किन आजसम्म सम्बोधन हुन सकेन ?
 
मैले बारा जिल्लाबाट २ पटक प्रतिनिधित्व गरेँ– निर्वाचन क्षेत्र नं ३ र ६ बाट । क्षेत्र नं ३ को केही भाग अहिले क्षेत्र नम्बर २ मा गाभिएको छ । तपाईंले यहाँ पुरुषोत्तम पौडेलले के गर्नुभएको छ भनेर सोध्नुभयो भने मान्छेहरु नेगेटिभ कुरा गर्दैनन् । अर्थात् आशावादी नै देखिन्छन् । अहिले म यहाँ घुमिरहेको छु, मान्छेको आशा मप्रति देखिन्छ ।

तपाईंले चुनाव जित्नुभयो भने केही गर्न सक्नुहुन्छ भन्ने नेकपा एमालेका मात्रै होइन, कांग्रेस, लोसपा, माओवादी र जसपाकै कतिपय मान्छेले भनिरहेका छन् । मैले जहिले पनि जनताको समस्यालाई सकारात्मक रूपमा हेर्ने प्रयास गरेँ । आफ्नो शक्ति, समय, क्षमता, बुद्धि सबै जनतासँगको सम्बन्ध बनाउन, जनताको समस्या समाधान गर्ने, जनताको माग उठाउने र ती मागलाई समाधान पनि गर्ने गरी मैले राजनीतिलाई जनतासँग जोडेँ, देशसँग जोडेँ । त्यसकारण जनताले मलाई चाहेका  छन् । यो चिजलाई म निरन्तर र व्यवस्थित गर्न चाहन्छु ।

बारा २ नं क्षेत्रमा पनि यहाँका जनताको गुनासो सुन्ने, उहाँहरुको दुःखलाई सम्झेर समाधानका उपाय के के हुन सक्छ, आफ्नो तहबाट कति हुन सक्छ, स्थानीय तहबाट कति हुन सक्छ, प्रदेश सरकारले कति गर्न सक्छ, केन्द्रमा कति गर्नुपर्छ भन्नेजस्ता विषयमा समग्र प्याकेज बनाएर समाधान गर्ने प्रयासमा म लाग्छु ।
 
तीन तहको सरकार भए पनि जनताका यतिधेरै गुनासो किन ? तीनै तहका चुक्नुको कारण के हो ?
तीनै तहको सरकार चुक्नुका २ वटा कारण छन् । एउटा स्थिर सरकार भएन, अर्को सरकारमा जो गएका छन्, तिनले जनतालाई आदर्श मानेर योजना बनाएनन् । यस्तै, राजनीतिक दलहरू जो गठबन्धनका नाममा स्वार्थलाई अगाडि राखेर हिँडे, उनीहरूले जनता र देशलाई अगाडि राखेनन् । उनीहरूले आफ्नो चाहना र इच्छालाई अगाडि राखेर काम गरे, जसलाई जनताले रुचाएनन् । यसैले गर्दा तीनै तहका सरकारहरु चुकिरहेका छन् ।
 
चुनावमा चुनौती कत्तिको देख्नुभएको छ ?
हाम्रो निम्ति चुनावमा चुनौती र अवसर दुवै छन् । मङ्सिर ४ को निर्वाचनमा यहाँ जसपाले जितेको हुनाले हामीलाई चुनौती छ । दोस्रो कुरा, उनीहरूको गठबन्धन भएको छ ।

यहाँ अवसर के छ भने नेकपा एमाले स्वच्छ ढंगले काम गरेको पार्टी भनेर चिनिन्छ । उम्मेदवारीको हिसाबले पनि हामी नयाँ ढंगले आएका छौँ । अरू सबै उम्मेदवार ५ महिनाअघि चुनाव हारेका छन् । कांग्रेस जस्तो ठुलो पार्टी, माओवादी जस्तो राष्ट्रिय पार्टी, लोसपासँग पनि उम्मेदवार छैन । सबै फिल्ड हाम्रो निम्ति खाली छ । समग्र मतदाताको ध्यानाकर्षण हामीतिर भइरहेको छ । त्यसकारण यो चुनाव हाम्रो निम्ति चुनौती पनि छ र अवसर पनि छ । चुनौतीभन्दा अवसर बढी देखेको छु ।


 
चुनौतीलाई चिर्न तपाईंका रणनीति कस्ता हुन्छन् ? कसरी अगाडि बढ्नुहुन्छ ?
चुनौती चिर्न हामीले कार्यकर्ता परिचालन गरेका छौँ । नेताहरूलाई परिचालन गरेका छौँ । हामीले हाम्रा एजेण्डालाई जनताको बीचमा राखेका छौँ । हामी के गर्छौँ भन्ने उद्देश्यसहित घरदैलोमा हिँडेका छौँ । हाम्रो विगतले पनि हामीलाई सघाइरहेको अवस्था छ ।
 
एमालेभित्र केन्द्रदेखि तल्लो तहसम्म विवाद देखिन्छ । यो विवादले निर्वाचनलाई कत्तिको प्रभाव पार्दछ ?
एमालेभित्र बारा जिल्लामा अहिले कुनै विवाद छैन । विगतको चुनावले सबै विवाद समाधान गरेर एमालेलाई जिताएर पठाएका छौँ । हामी बारा निर्वाचन क्षेत्र नं १, ३ र प्रदेशसभामा पनि सबैभन्दा धेरै सिटमा विजयी भएका छौँ । यो क्षेत्रमा चुनावमा जाने कुरामा पनि एमाले एकजुट छ । एमाले मात्रै होइन, सबै वामपन्थी शक्तिहरु एकजुट छन् । त्यसले गर्दा पार्टीभित्र कुनै समस्या छैन । बाहिरी शत्रुसँग लड्ने कुरामा मात्रै समस्या छ । यसकारण पनि हामीलाई अलि सजिलो छ ।
 
जनताका मुद्दा, गुनासाहरूलाई न्याय गर्न सक्नुहुन्छ ?
सकिन्छ, आफूले स्वार्थ नराख्ने, आफ्नो निजी स्वार्थमा नबग्ने हो भने जनताका मुद्दा, चाहनाहरूलाई समाधान गर्न कुनै समस्या छैन । मैले स्वार्थ राखे आफ्नो इच्छालाई अगाडि राखे भने समाधान गर्न सक्दिनँ । मलाई आफ्नो निम्ति केही पनि गर्नु छैन, म २ पटक सांसद र मन्त्री पनि भइसकेको छु । मलाई जे गर्नुछ, यहाँका जनताको निम्ति गर्नुछ । त्यसकारण मैले अब लिनु केही छैन, दिनेमात्रै हो । दिने मात्रै उद्देश्य राख्यो भने कुनै समस्या आउँदैन । समाधान गरेर जान सकिन्छ ।
 
कस्ता एजेण्डा बोकेर जाँदै हुनुहुन्छ जनतामाझ ? जनताका विषयलाई न्याय गर्न ?
म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्नँ । सुशासन कायम गर्छु । जनसेवाको एजेण्डाका साथ जनताको निम्तिमात्रै काम गर्छु । कुनै स्वार्थ राख्दिनँ । जनताले उठाएका विकासको एजेण्डामा म ५ वर्ष काम गर्छु, अरू केही काम गर्दिनँ । शिक्षामा सुधार गर्ने कुरा, स्वास्थ्यमा अस्पताल बनाउने, सिँचाइको सुविधा, उत्पादन बढाउने, युवाहरुलाई रोजगारीको निम्ति प्रोत्साहित गर्ने, कृषिमा आधारित उद्योग आकर्षण गर्ने काम हामी गर्छौँ । सँगसँगै बारामा दु्रतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ । हाम्रो जिल्लामा विशेष आर्थिक क्षेत्र ‘सेज’ बन्दै छ । यी ठुला अवसरहरु प्रयोग गरेर पनि हामी अगाडि बढ्न सक्छौं ।
 
विगतमा एमाले नेतृत्वको सरकार हुँदा बारा २ नं क्षेत्रको विकासका लागि किन ध्यान पुग्न सकेन ?
विगतमा एमाले नेतृत्वको सरकार हुँदा यो क्षेत्रमा ध्यान किन पुगेन भनेर मैले बुझेको छैन । तर यो क्षेत्रमा निर्वाचन जितेर गएका प्रतिनिधिहरूले यहाँको जनताको भावनाको प्रतिनिधित्व गर्न सकेनन् । प्रदेश, संघ, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले यो क्षेत्रका जनताको असली प्रतिनिधित्व नै गरेनन् ।

शारदा पोखरेलको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप
सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप