शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

सप्तरीले नपत्याएका उपेन्द्रलाई बाराले पत्यायो, चुनौती भने थपियो

बुधबार, १३ वैशाख २०८०, १० : ४४
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । गत मङ्सिर ४ गतेको चुनावमा सप्तरी २ बाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका छन् । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले उपेन्द्र यादवलाई १८ हजार ६३ मतको विशाल अन्तरले हराएका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मतमा सीमित बनेका थिए । 

२०७४ को चुनावमा यादव सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यति बेला उनले २१ हजार ६२० मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८० मत ल्याएका थिए । २०७४ मा झन्डै दोब्बर मतले जितेका यादव २०७९ को चुनावमा राउतबाट लज्जास्पद हार बेहोर्न बाध्य बने ।

हुन त २०७० को दोस्रो संविधानसभा चुनावमा मोरङबाट चुनाव हारेका यादव सुनसरीबाट बल्लतल्ल चुनाव जितेका थिए । सुनसरीबाट सप्तरी सरेका यादव त्यहाँ पनि दोस्रो चुनावमा हारेपछि बारा सरे । बारा–२ मा यादवले आफ्नो लागि क्षेत्र खाली गर्न प्रतिनिधि सभामा चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका थिए । कडा प्रतिस्पर्धाबीच चुनाव जिते पनि यादवका लागि अगामी दिनमा मधेसमा झनै चुनौती थपिएको छ ।

मधेसको राजनीतिमा सिके राउत यादवका लागि ठुलो चुनौती भएर उभिएका छन् । उपनिर्वाचनको परिणामले आगामी चुनावसम्म राउत र यादवबीच मधेसमा द्वन्द्व झनै बढ्ने सङ्केत देखिएको छ । मधेस मामिलाका जानकार विजयकान्त कर्ण भन्छन्, ‘उपेन्द्र यादव सप्तरीबाट चुनाव हारेपछि जनताले त्यति आशा गरेका थिएनन् । उहाँ विपक्षीको टार्गेटमा पनि रहनुभएको थिएन । तर उपनिर्वाचनपछि जनताको अपेक्षासँगै विपक्षीको प्रहार पनि बढेको छ । अगामी दिनमा सिके राउत उहाँका लागि झन् ठुलो चुनौती हुनेछन् ।’

पहाडमा जसरी काँग्रेस–एमालेका लागि रवि लामिछाने खतराको घण्टी बन्दैछन्, त्यसरी नै मधेसमा यादवका लागि राउत खतराको घण्टी बनेको कर्णको भनाई छ । तर अहिले पनि केही नबिग्रेको बताउँदै उनले दलहरूले आफूलाई सुधार गर्न सके भने रवि र सिके राउतहरूलाई फेरि पछाडि पार्न सकिने बताए ।

उनले भने, ‘अब मधेसको आन्दोलनको कुरा गरेर मात्र हुँदैन, त्यसको मुद्दा सम्बोधन पनि हुनुपर्छ । उपेन्द्र यादवले त्यसमा ध्यान दिनुभएको छैन । उहाँले आफूलाई सुधार नगरे अगामी दिन निकै झनै चुनौतीपूर्ण हुनेछ । जनताले डेलिभरी खोजेको छ । उहाँले त्यो दिनसक्नु भएको छैन ।’

मङ्सिर ४ गतेको चुनावपछि राउतले मधेसमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । यो उपनिर्वाचनले उनी झनै बलियो भएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई राउतका उम्मेदवार शिवचन्द्र कुशवाहाले जसरी टक्कर दिए, त्यसले मधेसमा जनमत पार्टी शक्तिशाली रहेको कुरा पुष्टि भएको छ । मधेसमा यसअघि जसपा र लोसपाबीच प्रतिस्पर्धा थियो । आगामी दिनमा जसपा र जनमतबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

जनकपुरका इन्जिनियर एवं राजनीतिक विश्लेषक सत्यनारायण साहले पनि उपेन्द्र यादवले आफ्नो काम गराइको तरिकामा सुधार ल्याउनुपर्ने बताए । उनले भने, ‘अब परम्परागत ढङ्गबाट राजनीति गरेर हुँदैन । जनताले विकल्प खोज्छन् भन्ने कुराको सङ्केत यो दुइटा चुनावले देखाइसकेको छ ।’

यादवले मात्र होइन, मधेसमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादवलगायतका अन्य शीर्ष नेताहरूले पनि आ–आफ्नो राजनीतिक गतिविधिमा परिवर्तन ल्याउनुपर्ने उनको भनाई छ । उनले भने, ‘उपेन्द्र यादव चुनाव जित्नुपर्ने व्यक्ति हुनुहुन्छ । उहाँले जित्नु पर्थ्यो, जित्नु पनि भयो । तर अब जनतालाई नयाँ ढङ्गबाट डेलिभरी दिनुपर्छ, अनि मात्र उहाँ टिक्न सक्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप