शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिक दिवसको अवसरमा चीनमा सुनौलो सप्ताह मनाइँदै

नेपालमा पनि पर्यटक बढ्ने अपेक्षा
शनिबार, १६ वैशाख २०८०, १३ : ०६
शनिबार, १६ वैशाख २०८०

बेइजिङ । मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संन्सारभरका मजदुरहरूले श्रम दिवस मनाउने गर्छन् । श्रमिकका हक अधिकारका कुरा गर्दै  संसारका मजदुरहरू एक होऔँ भन्ने नारा लगाइन्छ । मजदुरहरूले जुलुस र सभा आयोजना गर्छन् ।  विगत ७४ वर्षदेखि कम्युनिस्ट पार्टीले शासन चलाएको मुलुक चीनमा सुनौलो सप्ताह (गोल्डेन विक) भन्दै पाँच दिने छुट्टी दिएर नागरिकहरू श्रम दिवसको अवसरमा देशका दौडाहा यात्रा गर्न भन्दै प्रोत्साहन गरिएको छ । अप्रिल २९ देखि मे महिनाको ३ तारिख सम्म हुने बिदालाई सुनौलो सप्ताह बिदा भनिन्छ ।

 यस पटक मे १ सोमबार परेको छ । चीनमा शनिबार र आइतबार बिदा हुने गर्दछ । सोमबार मे दिवस परेपछि मंगलबार र बुधबार पनि बिदा थप गरी पाँच दिन बिदा दिने घोषणा गरेको हो ।  अनौठो के छ भने मंगलबार र बुधबारको बिदा सापटी लिएको बिदा हो । मंगलबारको बिदा गत अप्रिल २३ तारिख आइतबार काम गरेर जम्मा गरेको हो भने बुधबारको बिदा मे महिनाको ६ तारिख शनिबार काम गरेर सापटी तिर्नु पर्दछ। सप्ताहको शनिवार पनि चिनियाँ सरकारी र निजी सबै कार्यालय खुल्ला हुन्छ । विश्वविद्यालयमा पनि शनिबार पनि पठनपाठन गरिनेछ । 

सुनौलो सप्ताहको खुसीयालीमा २९ अप्रिल शुक्रबार दिनभरको  काम गरेर साँझदेखि चिनियाँहरू आफ्नो घर, अर्को कुनै सहर र बिदा मनाउन निस्केका छन् । अब श्रमिक दिवसको सुनौलो सप्ताहको बिदा सकेर बिहीबार बिहान ८ बजे काममा फर्किसक्नेछन् ।  तीन वर्षसम्म कोभिड महामारीका कारण यात्रा गर्न नपाएका चिनियाँहरू अहिले सबै क्षेत्र खुल्ला भएपछि देश यात्रा (आन्तरिक पर्यटन) निस्केका छन् ।  

चीनको सरकारी टेलिभिजन सीजीटीएनले यो सुनौलो सप्ताहमा पाँच दिने छुट्टीमा करिब साढे चार करोड नागरिकले आन्तरिक पर्यटन यात्रा गर्ने अनुमान गरेको छ । त्यसका लागि चीनको द्रुत गतिको रेल सेवा, हवाई सेवा, सार्वजनिक बस सेवा थप गरेको छ । चीनमा सन् २००८ सम्म श्रमिक दिवसको अवसरमा चीन दिनको बिदा दिने गरिएको थियो ।

त्यसबाहेक चिनियाँ नयाँ वर्षमा तीन दिन, पुर्खा दिवसमा एक दिन श्रमिक दिवसमा एक दिन, ढुङ्गा दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्षमा जनवरी १ गरी जम्मा ११ दिन सार्वजनिक बिदा हुने गर्दछ । तर चीनमा सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई आन्तरिक पर्यटन यात्रा गरुन् भनेर प्रोत्साहनका लागि सन् २०१४ देखि यस्तो सापटी बिदाको चलन सुरु गरेको हो ।

चिनियाँहरू पछिल्लो समयमा अर्थतन्त्र मजबुत भएपछि घुमन्ते भएका छन् । चिनियाँहरूले नेपालमा मनाइने दसैँ जस्तै वसन्त पर्वमा निकै खर्च गर्दछन् । सुनौलो सप्ताह बिदाको अवसरमा घुमफिर गर्दा पनि खानामा चिनियाँहरू खर्च गर्दछन् ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा यो सप्ताहको बिदामा अर्थतन्त्र चलायमान हुने आशा गरिएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक वृद्धि र आन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायका लागि यस्तो बिदाको नियम ल्याएको हो ।

चीनमा दिइने ११ दिने सार्वजनिक बिदा शनिबार, आइतबार परेमा त्यसको साथै त्यस हप्ताको सोमबार पनि बिदा दिने गरिन्छ । तर सोमबारको बिदाको काम सोही हप्ताको अगाडि पछाडिको शनिबार काम गर्नु पर्दछ । बिदालाई लामो बनाउन र यो नियम चीनभर नै एउटै नियम रहेको छ ।  ठुला सहरहरूमा सुनौलो सप्ताहको अवसरमा सपिङ मलहरूले छुट र उपहार दिने योजना समेत अगाडि सारेका छन् । सुनौलो सप्ताहमा हङकङमा यात्रा गर्ने चिनियाँ पर्यटकहरूलाई विशेष  उपहार योजना ल्याइएको छ । यो छुट्टीमा सात लाख चिनियाँ पर्यटक हङकङ पुग्ने अपेक्षा गरिएको छ ।

चीनमा यतिबेला मौसम यात्राका लागि अनुकूल रहेको छ । देशभर न जाडो न गर्मी भएको बेला चिनियाँहरू घुमफिर गर्न मन पराउँदछन् । चीनको फूलको सहर भनेर चिनिने हनान प्रान्तको लोयाङ्ग सहरमा लाखौँ चिनियाँ पर्यटक पुगेका छन् । चीनको पियुनी र अन्य सुगन्धित फूलबारी यात्रा गर्न चिनियाँहरू मन पराउँदछन् । वसन्त ऋतु भएका कारण चीनका अन्य सहरहरूमा ढकमक्क फूलहरू फूलेका छन् । 

एक अर्ब चालिस करोड जनसङ्ख्या रहेको चीनमा २३ वटा प्रान्त, ५ वटा स्वायत्त प्रदेश, ४ वटा केन्द्र शासित सहर र २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । त्यसमध्ये मंगोलिया, सिन च्याङग युगुर, क्वाङ्ग सि च्वाङ्ग जातीय, निङ्ग स्या ही जातीय र तिब्बत स्वायत्त प्रदेश छन् । केन्द्र शासित सहर राजधानी बेइजिङ, शाङ्गहाई, थ्येनचिङ र छोङ्गछिङ्ग रहेका छन् । चीनमा हङकङ र मकाउ २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । ३४ वटा प्रान्तीय स्तरका प्रशासनिक अङ्गहरू रहेका छन् । 

नेपालमा पनि चिनियाँ पर्यटक 
यो सुनौलो सप्ताहको छुट्टीमा चिनियाँहरू यात्रामा निस्कँदा नेपाल जाने यात्रुको सङ्ख्यामा पनि वृद्धि भएको छ । सिचुवान प्रान्तको छेन्दुदेखि काठमाडौँ र ग्वाङजोउदेखि काठमाडौँ सीधा उडान रहेको छ । यो पाँच दिनको छुट्टीमा नेपाल जाने चिनियाँहरू केही सङ्ख्या वृद्धि भएको छेन्दुबाट नेपाल यात्रा गराउँदै आएका चिनियाँ मा स्याओले बताए । उनले भने,‘यो छुट्टीको समयमा चीनबाट नेपाल जाने यात्रीको सङ्ख्या केही थप हुनेछ । 

गत अप्रिल महिनाको १३ तारिख चीनको खुमनिङ हुँदै एकसय ८५ जना चिनियाँ पर्यटकहरू नेपाल गएका थिए । त्यसबेला संस्कृति नागरिक उड्यानमन्त्री सुदन किराती र नेपालस्थित चिनियाँ राजदूतले स्वागत गरेका थिए ।  महामारीपछि पहिलोपटक नेपालबाट आएका पर्यटकहरूले चीनका तीनवटा सहर सिचुवान प्रान्तको छेन्तु, युनान प्रान्तको राजधानी खुमनिङ र राजधानी बेइजिङमा नेपाल मिसन अभियान सञ्चालन गरेको चीनस्थित नेपाली दूतावासले जानकारी दिएको थियो । 

मिसन आयोजना गरिएपछि नेपाल जाने चिनियाँ यात्रीको सङ्ख्या वृद्धि हुने जनाएको थियो । सो आयोजना पर्यटन बोर्ड, एशोसिएसन अफ ट्राभल्स एण्ड टूर्स र चाइना एअरले संयुक्त आयोजना गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप