शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्रीहरू : बधाई थाप्दै दिन कटाउँदै

सोमबार, २५ वैशाख २०८०, १४ : ०९
सोमबार, २५ वैशाख २०८०

बुटवल । नामै त बिना विभागीय । कुनै विभागको जिम्मेवारी नपाएपछि कामको चाप पनि हुने कुरै भएन ।  वैशाख १४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए सन्तोष पाण्डेय,  धनबहादुर मास्की र धर्मबहादुर चौधरी । 

उनीहरूले अझैसम्म मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । त्यसैले, मन्त्रीपरिषद्को पहिलो बैठकमा सहभागितापछि आआफ्नो क्षेत्रमा स्वागत तथा सम्मान थाप्दै स्थानीय विभिन्न कार्यक्रममा मन्त्रीको रूपमा भाषण गर्दै हिँडेका छन् । सन्तोष पाण्डेयलाई यसअघि पनि मन्त्री भएको अनुभव  छ । सोही आधारमा अहिले सरकारले ल्याउने नीति तथा कार्यक्रममा कस्ता विषय राख्ने, स्थानीय विकाससँग कसरी जोड्ने आदि विषयमा सल्लाह सुझावमा केन्द्रित रहेर आफूले अध्ययन गरिरहेको रातोपाटीलाई बताए । 

पाण्डेयले आफूले विगतमा सम्हालेको भौतिक पूर्वाधार मन्त्रालयको अनुभवको आधारमा अव बन्ने नीति तथा कार्यक्रममा स्थानीय उत्पादनलाई बजारीकरण तथा उत्पादनलाई प्रवर्द्धन गर्ने विषयमा आफ्नो क्षेत्रमा जनतासँग सुझाव सङ्कलनमा रहेको बताए । पाण्डे दैनिकजसो आफ्नो क्षेत्र रुपन्देहीमा भएका विभिन्न कार्यक्रममा अतिथि बन्ने गरेका छन् । 

अर्का विना विभागीय मन्त्री  धनबहादुर मास्की र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको  एउटै गृह जिल्ला दाङ हो । जिल्लाको  क्षेत्र नम्बर ३ को १ चौधरी र २  मास्कीको हो । मास्कीको मन्त्री भएको पहिलो अनुभव हो ।  मन्त्रालयको जिम्मेवारी नपाएपछि मुख्यमन्त्री कार्यालयमा उनी दैनिकजसो जाने गरेका छन् ।

उनको मुख्यमन्त्रीसँगै दाङ  जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै सम्मान तथा बधाई लिने क्रम जारी रहेको छ । मन्त्री भएको दोस्रो दिनमै आफ्नो क्षेत्रको विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए । यस्तै नीति तथा कार्यक्रम र बजेटको विषयमा पनि  विना विभागीय मन्त्री भए पनि आवश्यकताअनुसार चासो राख्ने र विज्ञहरूसँग छलफल गर्ने काम भएको मास्कीले बताए । 

मास्की आज सोमबार पनि दाङको टरिगाउँ  विमानस्थलको विस्तार आयोजना, दाङको दंगीशरणमा विकास प्रक्रिया, रानी वनमा बन्न थालेको पार्क उद्घाटन लगायतका  कार्यक्रम  मुख्यमन्त्रीसँग सहभागी भई बधाई तथा सम्मान थाप्ने कार्यक्रम रहेको छ ।  यस्तै अर्को नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेको धर्मबहादुर चौधरी बर्दियाको आफ्नो क्षेत्रमा सम्मान तथा बधाई थाप्नमा व्यस्त छन्। 

उनले  मन्त्रालय टुङ्गो नलागे पनि आफू आफ्नो क्षेत्रका विभिन्न कार्यक्रम स्थानीय तथा पार्टीले गरेका स्वागत  तथा बधाई  कार्यक्रमसँगै  अन्य  विकास  निर्माणको काममा पनि ध्यान दिएको बताए । लुम्बिनी  प्रदेशमा  वैशाख १४ गते  विना विभागीय मन्त्रीहरू नियुक्त भएसँगै  १९ गते  सरकारले विश्वासको मत  प्राप्त गरेको थियो । 

प्रदेशमा नेपाली काँग्रेस र माओवादीसहित सत्तारुढ गठबन्धनमा ८ दल आबद्ध छन् । गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको सङ्ख्या थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने बाध्यतामा प्रदेश  नेताहरू रहेका छन्।  

आफूहरूले  एक दुई दिनमै मन्त्रालयको जिम्मेवारी पाउने जसपाबाट  मन्त्री  बनेका सन्तोष  पाण्डेयले बताए । उनले भने, ‘अब छिट्टै हुन्छ होला भन्ने विश्वासमा छौ ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप