बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

काठमाडौँ प्रहरीको हिरासतमा चार वर्षपछि ‘भीआइपी’को ‘इन्ट्री’

बिहीबार, २८ वैशाख २०८०, १८ : ५७
बिहीबार, २८ वैशाख २०८०

काठमाडौं । लामो समयपछि काठमाडौं प्रहरीको हिरासतमा ‘भीआइपी’ ले प्रवेश पाएको छ । अपराधका चरित्र फरक रहे पनि नाम चलेका र राजनीतिमा स्थापित व्यक्ति विगत चार वर्ष यता काठमाडौंस्थित प्रहरी हिरासतमा पुगेका थिएनन् ।

तत्कालीन सभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा जबर्जस्ती करणी मुद्दामा २०७६ असोज १९ गते पक्राउ परेका थिए । उनलाई सिंहदबार प्रहरी वृत्तको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । यद्यपि महराविरुद्धको आरोप पुष्टि हुन नसकेपछि उनले सफाई पाएका थिए ।

अहिले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु’ भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका भीआइपीहरु काठमाडौंका विभिन्न प्रहरी हिरासतमा राखिएका छन् । निजामती कर्मचारीतर्फ विशिष्ठ श्रेणीका सचिव टेक नारायण पाण्डे सिंहदरबार वृत्तको हिरासतमा छन् । पाण्डे र ठगी गिरोहका योजनाकार भनिएका केशव दुलालबीच ह्वाट्स एपमा लामो च्याट भएको थियो ।

दुलालकै बयानपछि सचिव पाण्डे पक्राउ परेका थिए । अहिले हिरासतमा रहेका पाण्डे खासै कुरा गर्दैनन् । उनलाई भेट्न आउने शुभचिन्तकलाई आफू यस घटनामा संलग्न नरहेको जवाफ फर्काउछन् ।

नीतिगत तहमा सुधार ल्याउन मन्त्रीलाई सुझाव र सल्लाह दिने जिम्मेवारी मन्त्रालयको सचिवको हुन्छ । एक हिसाबले सचिव भनेको मन्त्रीको प्रमुख सल्लाहकार नै हुन् । तर, पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई दिएको सल्लाह अहिले उनकै लागि अभिशाप बन्नपुग्यो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको सञ्जालमा जोडिएका पाण्डेले कति आर्थिक फाइदा लिए, अनुसन्धानले बताउँदै जाला । तर, अहिले उनी आफ्नै कर्मले प्रहरी हिरासतमा पुगेका हुन् ।

सरकारका पूर्व गृहमन्त्री खाण जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । काठमाडौं परिसरको हिरासतमा धेरै लामो समयपछि भीआईपीको प्रवेश हो यो । तत्कालीन गृहसचिव पाण्डेको तानावानामा लाग्दा खाणले गलत बाटो रोजे । उनीमाथि लगाइएको आरोप पुष्टि हुन बाँकी नै छ । तर, राजनीतिक हाइट बनाइसकेका खाणका लागि प्रहरी हिरासत धेरै महँगो पर्ने निश्चित छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पनि परिसरकै हिरासतमा छन् । राईले गृह वा त्यस मातहतका कार्यालयको सुधारका लागि के पहल गरे वा गरेनन् ? त्यसको फेहरिस्त गृहमा होला । तर, पोल खुल्दै जाँदा राईले पनि ठगी धन्दामा लागेर हिरासतकै बाटो रोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

पक्राउ परेका अन्य व्यक्तिले राईको नाम पोलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । राईसँग बयान लिने प्रहरी समेत आजित बनिसके । उनी एउटै कुरा दोहो¥याउँछन् । भन्छन्, ‘मैले के गरे खै ? पैसा लिएको भनेर मात्रै हुन्छ ? प्रमाण चाहिँदैन । खै पैसा ?’

राईलाई धेरै जनासँग सम्पर्क नहुने गरी हिरासतमा राखिएको छ । लैनचौर प्रहरी वृत्तको हिरासतमा खाणका निजी सचिव नरेन्द्र केसीलाई राखिएको छ ।

प्रहरीले यो प्रकरणमा जोडिएका र निकट सम्बन्ध रहेकालाई फरकफरक ठाउँमा राखेको छ । मुख्य आरोपित भनिएका दाङका सन्देश शर्मा र मोरङका केशव दुलाललाई फरकफरक ठाउँमा राखिएको छ । शर्मालाई दरबारमार्ग र दुलाललाई कालीमाटी प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

अर्का मुख्य आरोपी भनिएका सानु भण्डारीलाई भने जनसेवा वृत्तको हिरासतमा राखिएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं एआइजी श्यामलाल ज्ञवालीले एउटै घटनाका अभियुक्तलाई एउटै हिरासतमा राख्दा बयान फेर्ने वा प्रमाण लुकाउन गोप्य साँठगाँठ हुने भएकाले फरक हिरासतमा राखिएको बताए । उनले भने, ‘अहिले आरोपीको भूमिका अनुसार हिरासतमा राखिएको छ । सँगै राख्दा प्रमाण लोप गर्न र बयान फेर्न सक्ने सम्भावना बढी भएकाले यसो गरिएको हो । यो विगतदेखिकै अभ्यास हो ।’

पक्राउ परेका को कहाँ ?

– पूर्व गृहमन्त्री बालकृष्ण खाण (काठमाडौं जिल्ला परिसर टेकुको हिरासत)

– खाणका निजी सचिव नरेन्द्र केसी ( लैनचौर वृत्तको हिरासत)

– सचिव टेक नारायण पाण्डे (सिंहदरबार वृत्तको हिरासत)

– एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी (टेकु परिसरको हिरासत)

– तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई (टेकु परिसरको हिरासत)

– दाङका सन्देश शर्मा (दरबारमार्ग वृत्तको हिरासत)

– मोरङका केशव दुलाल (कालिमाटी वृत्तको हिरासत)

– मोरङका सागर राई (टेकु परिसरको हिरासत)

– ललितपुरका सानु भण्डारी (जनसेवा वृत्तको हिरासत)

– पाँचथरका कुमार गुरुङ (जनसेवा वृत्तको हिरासत)

– टोखाका रामशरण केसी (टेकु परिसरको हिरासत)

– सुनसरीका गोविन्द चौधरी (टेकु परिसरको हिरासत)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप