गण्डकी मन्त्रिपरिषद् विस्तारको तयारी
पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद्लाई विस्तार गर्ने तयारी भइरहेको छ । सरकारको बागडोर सम्हालेको दुई हप्तापछि शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
सत्तारुढ दलबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको कार्यक्षेत्र मिलान गरेसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको स्रोतले जनाएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभेको छ । आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामजिक विकास तथा स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई भने यथावत राखिएको छ । कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय बनाइएको छ ।
यसैबीच माओवादी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु टुङ्ग्याएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । जुग्जाली खगराज अधिकारी नेतृत्वको सरकारमा उद्योग, पर्यटन तथा वाणिज्य मन्त्रालयको जिम्मेवारीमा थिए । बैठकले जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाउने निर्णय गरेको हो । यसअघि बिना विभागीय मन्त्री सुशिला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
कांग्रेसका मन्त्रीको नाम गोप्य
कांग्रेसबाट सरकारका जानेहरुको नाम भने गोप्य राखिएको छ । यद्यपि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट सरकारमा सहभागी हुनेको नाम टुङ्ग्याएको स्रोतले जनाएको छ ।
कांग्रेसबाट यसअघि नै सरस्वती अर्याल तिवारी मन्त्री बनिसकेकी छन् । अब महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापालाई मन्त्री बनाउने टुङ्गो लागेको स्रोतले बतायो । कांग्रेसबाट लमजुङका डा. टकराज गुरुङ, नवलपुरका जिसी, कास्कीका विन्दुकुमार थापा, कास्कीकै प्रकाश बराल, बागलुङका जीत शेरचन, कास्कीकी सरस्वती गुरुङ, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदी र थापा मन्त्री बन्ने रेसमा थिए ।
नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि मन्त्री बन्ने लगभग निश्चित छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री पाण्डे तयार थिएनन् । तर, केन्द्रको दबाबपछि पाण्डेले मनाङेलाई मन्त्री बनाउने तयारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण