बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
रंगमञ्च

‘इन्जिनियर’ छाडेर महेश त्रिपाठी बने ‘हल्कारा’ : हल्लाए संसार

शुक्रबार, २९ वैशाख २०८०, १० : ४८
शुक्रबार, २९ वैशाख २०८०

सन् २०१७ मा अभिनेता महेश त्रिपाठी ओस्कर कलेजमा पढाउँदै थिए । फिल्म निर्देशक विक्रम सापकोटाले उनलाई फोन गरेर इमेल मागे । उक्त समय धेरैले महेशलाई इमेलमार्फत स्क्रिप्ट पठाउँथे, फिडब्याक माग्थे । त्यसैका लागि सापकोटाले पनि मागेको होलान् इमेल पठाए ।

इमेलमा महेशलाई फिल्म ‘हल्कारा’ को स्क्रिप्ट प्राप्त भयो । उनले स्क्रिप्ट पढे । पढ्दा उनलाई ‘हल्कारा’ आफूले खोजेकै स्क्रिप्ट भएको फिल्म लाग्यो । उनले स्क्रिप्टमा र पात्रमा हुनुपर्ने सबै गुण ‘हल्कारा’मा भेटे ।

‘हल्कारा’को स्क्रिप्ट हेरेपछि फिल्ममा काम गर्न लोभ पलायो महेशलाई । ‘फिल्म अभिनयका लागि आफैँले फोन गरेर म पनि अडिसन दिन्छु भने ।’  यसरी उनी अडिसनबाटै ‘हल्कारा’को लागि छनोट भए ।

‘हल्कारा’ फिल्म आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । महेश यसका मुख्य नायक हुन् । फिल्ममा अभिनेत्रीका रूपमा विनिता थापामगरले अभिनय गरेकी छन् । फिल्म चिट्ठी पुर्‍याउने एउटा ‘हल्कारा’को कथाबस्तुमा निर्माण भएको छ ।

‘फिल्मले हल्काराको कथा मात्र भन्दैन । यसले प्रत्येक घरका युवाले भोगेको विषय भन्छ । हल्कारा त एउटा चरित्रको सानो पार्ट र जिम्मेवारी हो’, महेशले भने, ‘मिडिल क्लास फेमिलीका मानिसलाई कुन कुन चीजले तड्पाउँछ, उनीहरू केको खोजीमा दौडिरहेका छन्, लगायत विषय फिल्ममा छ ।’

‘मिडिल क्लासका मानिस अहिले खुलेर दुःख भन्न पनि सक्दैनन्, लुकाउन पनि सक्दैनन्’, उनले अगाडि थपे, ‘उनीहरू अहिले तरबारको धारमा हिँडिरहेका छन् । म त्यही डाइनामिक भूमिकामा छु ।’ फिल्म कमर्सियल मसलाले भरिएको उनको धारणा छ ।

26220740_1811732658860088_5148599591024805097_o

‘हल्कारा’ अमेरिकामा उत्कृष्ट

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट घोषित भएको थियो । यसको अलावा नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृतसमेत भएको छ । अन्य केही विभिन्न फेस्टिभलमा पनि यो छनोट भएको थियो ।

नेपालमा रिलिज भएका कमर्सियल फिल्म प्रायः फेस्टिभलमा जाँदैन  । त्यो हिसाबले ‘हल्कारा’ फेस्टिभल फिल्म भएको र मनोरञ्जनात्मक विषयवस्तु नभएको कतिपयको बुझाइ छ ।

‘‘हल्कारा’ले फेस्टिभलमा प्रतिनिधित्व गरेको हिसाबले यसमा मनोरञ्जन छैन भन्ने अनुमान गर्नु गलत हो । फिल्म एकदमै मनोरञ्जनात्मक, हँसाउने, रुवाउने सबै विषयवस्तुले भरिएको दर्शक बाँध्न सक्ने क्षमता राख्ने छ’, महेशले अगाडि भने, ‘हाम्रोमा फेस्टिभलमा जाने फिल्म धेरै छन्, अवार्ड जित्ने कम ।’ अवार्ड जित्नका लागि फिल्म दमदार हुनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘विश्वका राम्रा अवार्ड जितेको फिल्म के नराम्रो होला त ?’

‘टप थ्री’मा नाम, लागेन विश्वास

अमेरिकाको ‘वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा  ‘हल्कारा’ले उत्कृष्ट फिल्म अवार्ड मात्र जितेन, फिल्मबाटै महेशले पनि उत्कृष्ट अभिनेताको अवार्ड चुमे । फिल्मले राम्रो उचाइ पाउँछ भन्ने उनले स्क्रिप्ट पढ्दैमा महसुस गरेका थिए । तर फिल्मबाट आफूले अन्तर्राष्ट्रिय अवार्ड जित्ने उनको कल्पना थिएन । ‘मैले अभिनय गर्न खोजेजस्तो फिल्म पाएँ । त्यसमै सन्तुष्ट छु,’ उनले भने ।

फेस्टिभल स्टेफन स्टिलबल्र्ड, याङ्ली हलिउडका राम्रा निर्देशकले अवार्ड थापेको प्लेटफर्म थियो । त्यहाँ हलिउडका राम्रा अभिनेता अभिनेत्रीहरूको पनि उपस्थिति थियो । त्यस्तो ठाउँमा महेशले अवार्ड पाउने कल्पनै गरेका थिएनन् ।

‘जुन दिन पहिलो पटक नोमिनेसनको खबर आयो, म ओस्कर कलेजमा पढाउँदै थिए । नोमिनेसन हेर्दा पहिले विश्वास नै भएन । कसैले फेक बनायो कि भन्ने लाग्यो । त्यहाँ विश्वका विभिन्न भाषाका फिल्म थिए । त्यसमा हलिउड र यूकेका अभिनेताको बीचमा मेरो नाम टप थ्रीमा थियो’, महेशले थपे, ‘कलेजको एक जना सरलाई देखाएँ । उहाँले आधिकारिक हो भन्दै बधाई दिनुभयो अनि विश्वास लाग्यो ।’

महेश डेढदेखि कलाकारितामा छन् । अहिलेसम्म उनले साधारण जीवन चलाउनुका अलावा कलाकारिताबाट केही गर्न सकेको छैनन् । त्यसैले, कलाकारिताको यो यात्रामा कति पटक उनलाई अभिनयको बाटो गलत पनि नलागेको होइन । 

‘अन्तर्राष्ट्रिय अवार्डको नोमिनेसनमा पर्दा बल्ल म सही बाटोमा रहेछु भन्ने लाग्यो’, उनले खुसी साटे, ‘अवार्ड हात पर्दा सबैबाट राम्रो प्रतिक्रिया पाए ।’ अहिले उनलाई काम दिनेको भीड छ ।

‘हल्कारा’ उनको अभिनय हिसाबले दोस्रो र रिलिजका हिसाबले तेस्रो फिल्म हो । यसअगाडि उनको ‘नोभेम्बर रेन’ र ‘चपली हाइट २’ रिलिज भएको छ । दुवै फिल्मको रिलिजभन्दा अगाडि ‘हल्कारा’का कारणले उनलाई फिल्मको चाङ लागेको छ । 

‘अन्तर्राष्ट्रिय चर्चाले काम बढेको छ । फिल्मको रिलिजपछि झन् बढ्ला,’ उनले भने, ‘अहिले तीन वटा फिल्मको अभिनयका लागि सम्झौता गरिसकेँ । थुप्रै स्क्रिप्ट अध्ययनमा छु ।’

फिल्म रिलिजको समयमा अभिनेतालाई फिल्मको व्यवसाय के हुने हो भन्ने चिन्ता हुने गर्छ । तर उनमा केही चिन्ता छैन । ‘हल्कारा’ले अन्तर्राष्ट्रिय चर्चा पाएको हिसाबले व्यावसायिक सफलता हात पार्छ । यसमा दुई मत छैन,’ उनी ढुक्क देखिए ।

इन्जिनियर छोडेर अभिनयमा 

महेशमा नायक बन्ने सपना सानैदेखि थियो । सन् २००८ मा उनी पोखरामै इन्जिनियरिङ तेस्रो वर्षको अध्ययन सकेर अभिनयका लागि काठमाडौँ छिरे । काठमाडौँमा उनले निर्देशकदेखि स्पोट ब्वाइसम्म कोही पनि चिनेका थिएनन् ।

त्यो समय उनी विदेशका फिल्म धेरै हेर्थे । फिल्ममा ‘स्पेस’ धेरै भएको बुझेका थिए । सुरुवात कहाँ र कसरी गर्ने बुझ्न सिरियल निर्देशक भेट्न थाले । सो क्रममा कतिले उनलाई वास्तै गरेनन्, कतिले भेटै दिएनन् । केहीले भेटे पनि मतलब गरेनन् तर उनले सुटिङ सेटमा धाउन छाडेनन् ।

सुटिङ हेर्दै, रमाउँदै दिन बिताउन थाले । त्यस क्रममा मौका मिल्नासाथ निर्देशक, निर्मातालाई सुटिङ र फिल्मको विषयमा अनेक जिज्ञासा राख्थे । कहिलेकाहीँ निर्देशकलाई केही कुरामा सघाउँथे पनि ।

332480913_902772941059400_1551542289223589962_n

यसरी दिनुहुँ धाउँदा धाउँदै करिब ४ महिनापछि उनले ‘आफन्त’ नामक सिरियलमा ४/५ भाग अभिनय गर्ने अवसर पाए । त्यसपछि ‘यात्रा जिन्दगी’ र ‘जीवनचक्र’ हात पर्यो ।

एक, दुई गर्दै करिब २ वर्षमा उनले ‘जीवनचक्र’, ‘आफन्त’, ‘मृगतृष्णा’ लगायत आधा दर्जन सिरियलमा अभिनय गर्न भ्याए ।

‘एकपछि अर्को गर्दै केही भागका लागि भए पनि सिरियल लगातार मिल्न थाल्यो । पब्लिकले नचिने पनि मेकरले चिन्न थाले’, महेश भन्छन्, ‘अभिनय गर्दै जाँदा बुझ्दै र सिक्दै पनि गएँ ।’ 

एकपछि अर्को अभिनय थपिँदै जाँदा उनलाई अभिनयमा मजा आउन थाल्यो । अभिनयको गहनता पनि बुझे । त्यसैले अध्ययनसहित अभिनयमा होमिने भनेर ओस्कर फिल्म कलेजमा भर्ना भए । ‘कलेज पढ्न थालेपछि अभिनयको महत्त्व झन् बुझे । अब भने उनलाई अभिनय गाह्रो लाग्न थाल्यो ।

‘इन्जिनियरिङ पढ्दा त्यति गाह्रो भएन । जति अभिनय अध्ययन गर्दै जाँदा भयो,’ महेशले अनुभव सुनाए, ‘इन्जिनियरमा फर्मुला हुन्छ । अभिनयमा त्यो केही फर्मुला छैन । यो नितान्त महसुस गर्ने, हेर्ने र सूक्ष्म अवलोकन गर्ने हो ।’ अभिनय जीवन्त हुनुपर्छ, लामो समय जाने हुनुपर्छ, सबैको प्रिय हुनुपर्छ भन्ने फिल भए पनि अभिनय झन् कठिन लाग्न थालेको उनले सुनाए ।

‘हामीले बाहिर हेरेर बोलेर मात्र हुँदैन । त्यसको भाव के छ, दिमागमा के चलिरहेको छ, घरपरिवार व्यवहारमा के चलिरहेको छ ? त्यसको प्रभाव के छ, सबै बुझ्नुपर्छ’, उनले अगाडि भने, ‘अभिनय गाह्रो महसुस भएकाले इन्जिनियरिङ छाडेर आएर गलत गरिनँ भन्ने पनि लाग्यो ।’

इन्जिनियरङ छाडिसकेकाले अभिनय छोड्नु हुँदैन भन्ने लागेर यसलाई नै निरन्तरता दिएको उनले सुनाए । उनले भने, ‘निरन्तरता नदिएको भए अहिले सफल हुने थिइनँ । जुनै विषयमा पनि सफलताका लागि निरन्तरता आवश्यक रहेछ ।’ 

अनि करियरले लियो रफ्तार 

जुन कलेजमा अभिनय पढ्थे, उनी अहिले त्यहीँ अभिनय पढाउँछन् । महेशले अस्कर कलेज पढाउन थालेको पनि दस वर्षभन्दा बढी भयो ।

316210005_6111669055533072_6157982416337353498_n

२०१३ मा यो ‘नोभेम्बर रेन’ अभिनय गर्दा उनको फिल्म अध्ययन तेस्रो वर्षमा रनिङ थियो । कलेजकै धेरै प्रोजेक्ट गरेकाले कलेजमा उनी राम्रो कलाकार भन्ने हल्ला चलेको थियो । त्यही भएर निर्देशक दिनेश राउतले उनलाई फिल्म ‘नोभेम्बर रेन’मा चान्स दिए । फिल्ममा उनको अलावा आर्यन सिग्देल, नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए ।

‘‘नोभेम्बर रेन’मा म नायिका नम्रताको साथी थिएँ । हिरोइन मन पराउने तर भन्न नसक्ने मेरो भूमिका थियो,’ महेशले भने, ‘हिरो (आर्यन) र हिरोइनको जब मिलन हुन्छ । मलाई त्यो मन नपरेर नेगेटिभ हुने भूमिका थियो ।’

त्यो आफ्नो छनोटको फिल्म नभए पनि कामका लागि गरेको उनले बताए । ‘जे भए पनि फिल्मबाट सिक्ने कुरा भने धेरै भयो,’ उनले भने, ‘अभिनय गरिरहँदा निर्देशक, छायाँकारले भन्थे, फिल्मबाट तिम्रो स्पेस बन्ला नबल्ला तर अभिनय राम्रो छ, नछोड भन्थे ।’ अहिलेसम्म अभिनयमा रहनुको कारण त्यो पनि भएको उनले खुलाए । ‘त्यस्ता प्रतिक्रियाले अभिनयमा अहिले पनि मोटिभेट गरिरहेको छ,’ उनले थपे ।

नोभेम्बर रेन रिलिजपछि उनले अभिनयमा ब्रेक गरे । किनभने उनी अभिनयमा सिरियस थिए । अभिनय भर्खर पढेको र तात्तातो जोस भएकाले आफूले गर्न खोजेको अभिनय यो होइन भन्ने उनलाई लाग्यो । त्यसैले, आएका फिल्म अफर रिजेक्ट गर्न थाले ।

यो समय उनलाई फिल्मभन्दा नाटक उपयुक्त लाग्यो । नाटक अभिनय गर्दागर्दै विदेशी निर्देशकसँग काम गर्ने मौका मिल्यो । अमेरिका, चीन, जापान, इन्डोनेसिया, इटाली लगायतका देशका धेरै निर्देशकका सर्ट फिल्म, फिल्म आदिमा काम गरे ।

‘नाटक र विदेशी फिल्ममा रमाइरहेको थिएँ । नेपाली फिल्मको अफर मिल्न छोड्यो । बजारमा महेशले नेपाली फिल्म गर्दैन भन्ने परेछ’, उनले कलेज पढाउनुका कारण खोले, ‘जीवन चलाउन अस्कर पढाउन थालेँ । अब भने अभिनयले रफ्तार लियो । अध्यापन के हुन्छ भन्न सक्दिनँ,’ उनले कुराकानीको बिट मारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप