सन्देश शर्माले अडियो जाँचका लागि ‘स्वर परीक्षण’ गर्न मानेनन्

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दा चलाएर ठगेको आरोपमा सन्देश शर्मा थुनामा छन् । शर्मा चैत २९ मा पक्राउ परेका हुन् । शर्मासँगै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जना हिरासतमा छन् ।
ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्मा र पीडित मध्येका गजेन्द्र बुढाथोकीको बीचमा भएको ‘लेनदेन अडियो’ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरुले सो अडियो परीक्षणका लागि ‘फरेन्सिक ल्याब’मा पठाएका थिए । तर, आरोपित शर्माले ‘स्वर परीक्षण’का लागि स्याम्पल दिन नमानेपछि अडियो परीक्षण हुन सकेको छैन ।
शर्माले स्वर जाँचका लागि ‘स्याम्पल’ दिन अस्वीकार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । स्वर परीक्षण गर्न नमान्नुको अर्थ सार्वजनिक भएको अडियो कुराकानीको स्वीकारोक्ति मानिने अनुसन्धान अधिकृतहरु बताउँछन् । अनुसन्धानबारे जानकार एक जना प्रहरी अधिकृतले भने, ‘परीक्षण गर्न नमानेपछि अडियोमा भएको कुराकानी स्वीकारेको अर्थ लाग्छ ।’
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ घर भएका ३४ वर्षीय शर्मा ललितपुरको गोदावरी नगरपालिकास्थित हरिसिद्धिमा बस्दै आएका थिए । अडियो कुराकानीमा सन्देशले गजेन्द्रसँग भनेका छन्, ‘मैले नेता र मन्त्री पत्नीलाई पैसा बुझाएको छु, मसँग रेकर्ड छ ।’
अमेरिकामा मान्छे पठाउन नसकेपछि रकम फिर्ता माग्दा शर्मा भन्छन्, ‘गरिदिने मान्छेलाई पैसा दिएका छौं, समिति बनाउने बार्गेनिङ गरेर हामीसँग नै खाइरहेका छन्, नियतवश प्रमुख जिल्ला अधिकारीको सरुवा गरेर काम लम्ब्याउन खोजिँदै छ ।’
प्रहरीसँग सन्देशले गृह मन्त्रालय मिलाउने जिम्मा आफ्नो रहेको बयान दिएका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक आफ्नो साथी भएको उल्लेख गर्दै शर्माले भनेका छन्, ‘गृह मन्त्रालयमा कुरा गर्ने र सूचना ल्याउने जिम्मा मलाई दिएका थिए ।’
केशव दुलाल र सानु भण्डारीले गृहमा मिलाएबापत आफूलाई ‘मोटो रकम’ आउने आश्वासन दिएको शर्माले प्रहरीसँगको बयानमा बताएका छन् । प्रतीक थापाविरुद्ध पनि जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ
-
बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार