शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
विद्यार्थी दिवस र अबको बाटो

सत्तारुढ दलका नेताले गरे भ्रष्टाचारदेखि राजावादीसम्मको आलोचना

सोमबार, ०१ जेठ २०८०, २३ : ०८
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । सत्तारुढ दलका नेताहरुले भ्रष्टाचार नियन्त्रणदेखि राजावादीहरु सलबलाएको विषयलाई मुख्य चुनौतीका रूपमा उठाएका छन् ।

सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले काठमाडौंमा सोमबार आयोजना गरेको ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई छोड्न नहुने बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा व्यवस्था र अवस्था आधामात्रै बदलिएको टिप्पणी गरे । व्यवस्था र अवस्थामा थुप्रै खालका समस्या देखिएकाले पूर्ण रूपमा सुधार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

‘सिङ्गो व्यवस्थालाई रुपान्तरण गर्न खाँचो छ । अनिमात्रै अवस्थामा परिवर्तन गर्न सक्छौं,’ अध्यक्ष नेपालले भने, ‘अर्को भाष्य छ– चुनावदेखि चुनावसम्म र जनतादेखि जनतासम्म । हामी कम्युनिस्टहरु जनताको सेवामा समर्पित हुने, जनताको हित र कल्याणमा लागि रहने हो ।’

देशमा बढ्दै गएको निराशा चिरेर कम्युनिस्टहरुले आशाको दियो बाल्नुपर्ने नेपालले बताए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा सामाजिक सुरक्षादेखि भूमिको स्वामित्व जनतालाई दिन नसक्दा असन्तुष्टि बढ्दै गएको बताए । देशमा भ्रष्टाचार, अनियमितता बढ्दै गएकाले व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको उनको भनाइ छ ।

देशमा पटकपटक ‘हलाल क्रान्ति’ गरे पनि ‘छिनाल क्रान्ति’ गर्न नसक्दा भनेजस्तो काम गर्न नसकिएको डा. भट्टराईले बताए । त्यसैले, कतिपय यथास्थितिवादी र पश्चगामी शक्तिहरुसँग सम्झौता गर्न बाध्य हुनु परेको उनले प्रस्ट पारे ।

भट्टराईले २००७ सालदेखि २०६२/०६३ को जनआन्दोलनसम्म आउँदा लोकतन्त्रको लडाइँ पूरा गरे पनि त्यसलाई पूर्ण विजयमा पु¥याउन नसकेको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र ल्याउनेहरुबाटै संकट भएकाले सुधार गर्न लाग्नुपर्ने बताए । ‘राजावादीहरु यो लोकतन्त्र किन चाहियो भन्दै असाध्यै उत्साहित छन् । लोकतान्त्रिक गणतन्त्रलाई दुरुपयोग गरेर त्यसबाट फाइदा उठाएर केही मान्छेहरुले काम गरिराखेका छन्,’ उनले भने, ‘राजनीतिलाई पैसा कमाउने र सम्पत्ति आर्जन गर्ने हतियार बनाइयो ।’

लोकतान्त्रिक गणतन्त्रलाई जनताप्रति वितृष्णा फैलाउन शक्ति केन्द्रका एजेण्टहरु सक्रिय भइरहेको उनको भनाइ छ । लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन युवाहरु नै अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डलाई भुटानी शरणार्थी प्रकरणदेखि अन्य भ्रष्टाचारलाई त्यसै नछोड्न सुझाव दिएको उनको भनाइ छ ।

यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शिक्षालाई व्यापारको बस्तु बनाउन थालिएको टिप्पणी गरे । अहिलेको शिक्षा प्रणालीले अधिकार र समानताभन्दा नाफा र घाटामात्रै हेरेको उनको भनाइ छ ।

उनले बहुदलीय व्यवस्थाकै कारण भ्रष्टाचार र भ्रष्टाचारी बढ्दै गएको टिप्पणीसमेत गरे । यही व्यवस्थाका कारण असल मान्छे पनि सिङ र पुच्छर उमारेर निस्कने गरेको भन्दै विप्लवले व्यङ्ग्य गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप