शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेहा धुपियाले विवाह अघि जब परिवारलाई भनिन्, ‘म आमा बन्दै छु, त्यसपछि...’

मङ्गलबार, ०२ जेठ २०८०, ११ : ५०
मङ्गलबार, ०२ जेठ २०८०

बलिउड अभिनेत्री नेहा धुपिया र अभिनेता अंगद बेदीको विवाह भएको ५ वर्ष भयो । यी दुईले सन् २०१८ मा ‘सात फेरा’ लिए । उनीहरूको अचानकको विवाहले धेरैलाई चकित पार्‍यो । किनभने यी दुईको विवाहको चर्चा बलिउडमा मात्रै थियो । यो खबरपछि प्रशंसक त्यति बेला पुनः चकित भए जब नेहाले विवाह लगत्तै आफ्नो गर्भावस्थाबारे जानकारी दिइन् । विवाह अघि नै गर्भवती भएको भन्दै धेरैले उनलाई तथानाम भने । विवाहको पाँच वर्षपछि अब नेहा धुपियाले विवाह अघि गर्भवती भएको खबरमा उनका आमा–बुवाको प्रतिक्रिया कस्तो थियो भन्नेबारे खुलासा गरेकी छिन् । 

नेहा आफ्नो व्यावसायिक जीवनका साथै निजी जीवनका कारण पनि चर्चामा छाइरहन्छिन् । दुई सन्तानकी आमा भइसकेकी नेहाले हालै त्यो ७२ घण्टाको कहानीबारे जानकारी दिएकी छिन् जुन उनका आमा–बुवाले उनलाई विवाह अघि गर्भवती भएको कुरा सुनेपछि दिएका थिए ।

विवाह अघि भएकी थिइन् गर्भवती

नेहा धुपियाले हालै भारतीय सञ्चार माध्यम ‘टाइम्स नाउ डिजिटल’ सँग कुराकानी गरेकी छिन् जसमा उनले ५ वर्ष पुरानो त्यो राज खोलिन् जसबारे निकै कमलाई थाहा छ । नेहा धुपियाले आफू विवाह अघि नै गर्भवती भएको कुराबारे खुलेर कुराकानी गरेकी छिन् । आमाबुवालाई यसबारे थाहा भएपछि उनीहरूको प्रतिक्रिया कस्तो थियो भनेर पनि उनले जानकारी दिएकी छिन् ।

७२ घण्टाको कहानी

अभिनेत्रीले भनिन्, ‘हामीले कुनै योजना बिना नै विवाह गरेका थियौँ । म विवाह अघि नै गर्भवती थिएँ त्यसैले हामीले यो खबर आफ्नो आमाबुवालाई सुनायौँ । उहाँहरूले ‘यो निकै खुसीको खबर हो तर तपाईंहरुसँग विवाहका लागि ७२ घण्टाको मात्रै समय छ’ भनेर भन्नुभयो । मलाई साढे दुई दिनको समय दिइएको थियो । त्यति बेला मैले बम्बे गएर विवाह गर्नुपर्ने थियो । आमाबुवाको यस्तो इच्छा सुनेपछि हामीले ‘ठिकै छ नि त, विवाह गरौँ’ भन्यौँ ।’

आमाको अंगदसँग विशेष लगाव

अर्को एउटा अन्तर्वार्तामा नायिकाले आफ्नी आमाको अंगद बेदीप्रतिको लगावबारे कुराकानी गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘मेरी आमा मनपिन्दर उर्फ बबली धुपिया मेरो र अंगदको सम्बन्धसँग खुसी थिइन् । मेरो अरूसँग पनि सम्बन्ध थियो तर आमाले ‘अंगद निकै राम्रा छन्, तिमी अरूसँग किन डेट गरिरहेको छौ ?’  भनेर भन्नुहुन्थ्यो । सधैँ अंगद नै अंगद । मेरो घरमा अरूको नाम नै लिइँदैनथ्यो ।’

जिम, प्रेम र विवाह

नेहा र अंगदको पहिलो भेट जिममा भएको थियो । पहिलो नजरमा नै अंगदलाई नेहा मनपर्यो । तर नेहालाई भने अंगदप्रति खासै रुचि थिएन । एक दिन एक जना साथीको पार्टीमा उनीहरूको भेट भयो । यति बेला यी दुईले एक–अर्कालाई चिन्ने मौका पाए ।  कुराकानीको सिलसिला जारी रह्यो । यी दुई प्रेममा परे र उक्त सम्बन्ध विवाहमा परिणत भयो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप