बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

‘हेलो, आई एम रिटा.. : के तपाईंलाई चाहिन्छ पोल्याण्डको भिसा ?’

नेपालीलाई रोजगारीको अवसर भन्दै टिकटकमा लाइभ आउने दुबईकी रिटा नियन्त्रणमा
आइतबार, ०७ जेठ २०८०, २० : २१
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । दुबईकी रिटा फियाडोसिक सामाजिक सञ्जाल टिकटकमा हालै लाइभमा आइन् । नर्थ अमेरिकन सर्भिसेज् सेन्टर एकान्ट (nasc1986)  बाट लाइभमा आएकी उनको त्यो दिनको विषय थियो– पोल्याण्डमा वर्किङ भिसामा नेपाली कामदार लैजाने र त्यसका लागि नेपालमा सेमिनार गर्न लागेको । 

उनको लाइभमा धेरै नेपालीले ‘इन्ट्रेस्टेड’ भन्दै कमेन्ट गरिरहेका थिए । कतिपयले आवश्यक पर्ने डकुमेन्टको विषयमा सोधिरहेका थिए । धेरै नेपाली उत्साहित थिए । नेपालीहरूको उत्साह देखेर नर्थ अमेरिकन सर्भिसेज् सेन्टर पनि नेपाल आउन उत्साहित थियो । 

त्यही टिकटक एकाउन्टबाट केही दिन अगाडि एउटा पोष्ट सेयर गरिएको थियो । जसमा रिटाले भनेकी थिइन्, ‘के तपाईं नेपालमा बस्नुहुन्छ र युरोपमा वर्किङ भिसामा आउने सोचिरहेको छ ? मेरो नाम रिटा । म पोल्याण्ड इमिग्रेसनको अधिवक्ता र पोल्याण्ड रिक्युरमेन्ट कम्पनीको प्रतिनिधि । ठुलो सेमिनारका लागि म काठमाडौँ आउँदैछु । मलाई एक हजारभन्दा बढी नेपाली वर्कर चाहिएको छ । पोलिस फ्याक्ट्री र वेयरहाउसमा दक्ष कामदार चाहिएको छ । उक्त सेमिनारमा सहभागी हुन चाहने नेपालीहरूले नाम रजिष्ट्रर गर्न सक्नुहुन्छ र मेरो ह्वाट्सएप नम्बरमा सम्पर्क गर्न अनुरोध छ । यो निःशुल्क सेमिनार भएकाले मौका नगुमाउनु होला ।’

उक्त कम्पनीले २० र २१ मे २०२३ मा काठमाडौँको मेरियट होटलमा सेमिनार राखेको थियो । त्यसका लागि रिटा र एक अर्का व्यक्ति एलेग फेडोसिक यही शुक्रबार काठमाडौँ आइपुगेका थिए । 

उक्त सेमिनारको सम्पूर्ण व्यवस्था इगल म्यानपावर कन्सलटेन्टका सञ्चालक कृष्ण ढकालले गरेका थिए । जुन मेनपावर गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै दर्ता भएको थियो । 

टिकटक लाइभ र टिकटक एकाउन्टमा गरिएको विज्ञापनको आधारमा शनिवार बिहानैदेखि झण्डै एक हजार जना मेरियट होटलमा आइपुगेका थिए । उक्त सेमिनार तीन चरणमा गर्ने भनिएको थियो । दुई चरणमा पोल्याण्ड जान इच्छुक व्यक्तिहरूलाई आवश्यक जानकारी दिने र एक चरणमा इगल म्यानपावरका सञ्चालकहरूसँग छलफल कार्यक्रम थियो । 

तर, सेमिनार हुनु अगावै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो । सेमिनार बिथोलियो । पक्राउ परेका दुवैजना वैदेशिक रोजगार विभागको नियन्त्रणमा छन् । 

यस घटनामा विभागले शाखा अधिकृत केदार अधिकारीलाई अनुसन्धान अधिकृत तोकेको छ । उनले प्रारम्भिक चरणको बयान लिएका छन् । सामान्य सोधपुछको क्रममा आफूहरू मलेसियाको एक कन्सल्टेन्सीमा काम गर्दै आएको बताएका छन् ।

विभागको नियन्त्रणमा रहेका उनीहरूले ‘किन पक्राउ गरेको ?’ भन्दै प्रश्न गर्दै आएका छन् । कानुनबारे जानकारसमेत रहेकी रिटाले पक्राउ गर्दा पक्राउ पुर्जीसमेत नदिएको बताइन् । तर, अधिकृत अधिकारीले ‘जरुरी पक्राउ’ पुर्जी दिएर नै नियन्त्रणमा लिइएको जनाए । 

बयानको क्रममा रिटाले भनिन्, ‘हामी मलेसियाको कन्सल्टेन्सीमा काम गर्दै आएका हौँ । हामीलाई नेपालमा सेमिनार गर्न लागेका छौँ । तपाईंहरू त्यहाँ जानुपर्छ भनेर पठाइएको हो । यो बाहेक हामीलाई अरू केही जानकारी छैन । पक्राउ गर्ने नै भए कम्पनीको ओनरलाई पक्राउ गर्नुहोस् । हामी त कम्पनीले जाउ भनेर पठाएपछि आएका हौँ ।’

उक्त सेन्टरले नेपाल भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स लगायतका देशबाट वर्किङ भिसामा कामदार लैजाने गरेको देखिन्छ । त्यस्तै, विभिन्न देशबाट वर्किङ भिसाको लागि माग आएको भन्दै विज्ञापन गरेको देखिन्छ । 

नेपालबाट समेत केही व्यक्तिले वर्किङ भिसा प्राप्त गरेको र पोल्याण्ड पुगेको भन्दै भिडियो बनाएको देखिन्छ । 

रिटाले आफ्नो फेसबुक प्रोफाइलमा समेत नेपालबाट वर्किङ भिसा प्राप्त गरेका एक व्यक्तिको फोटो राखेकी छिन् । उनले दूतावासले शतप्रतिशत एप्रुभल दिने भन्दै ग्यारेन्टीसमेत गरेकी छिन् । 

उनको टिकटक लाइभ हेरेर बसेका एक व्यक्तिले मेरिट होटलमा हुने सेमिनारमा सहभागी हुने योजना बनाएका थिए । त्यसका लागि आइतबार जाने तयारी गरेका थिए । तर, शनिवार नै दुवै जना पक्राउ परेको सूचना पाएपछि चकित परे । 

नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘टिकटक लाइभ हेरेको थिएँ । त्यसैमा म पनि इन्ट्रेस्टेड भनेर कमेन्ट गरेको थिएँ । आइतबारको दिन जानु पर्ला भनेर सोचेको थिए । तर, उनीहरू शनिवार नै पक्राउ परेछन् ।’

सुरुमै सम्पर्कमा आएका एकजनासँग जनही २ लाख रुपैयाँ लिएको पाइएको छ । पीडितले विभागमा उजुरी दिएका छन् । दुबईमा रहेका बेला पैसा बुझाएको तर पोल्याण्ड नलगेपछि विभागमा उजुरी दिएका एक पीडितले उनीसँगै ४० भन्दा बढीसँग यसरी नै पैसा लिएको बताए । 

विभागले ठगीमा परेका सबैलाई हेलो सरकारमार्फत वा मेल, ह्वाट्सएप, भाइबरलगायत जुनसुकै माध्यमबाट समेत उजुरी दिन आग्रह गरेको छ । 

बिना लाइसेन्स कामदार पठाउन पाइँदैन 

विना लाइसेन्स वैदेशिक रोजगारीमा कामदार पठाउन मिल्दैन । तर विना लाइसेन्स रिटाको टिमले मान्छे लैजान्छु भने । 

वैदेशिक रोजगार ऐन २०६४ को दफा १० मा इजाजत पत्र विना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने भन्ने छ । उक्त ऐन बमोजिम इजाजत पत्र नलिई कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने अनुसन्धान अधिकृत अधिकारीले बताए । 

त्यस्तोमा तीन लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 

दफा ४३ मा ‘इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई निजलाई  तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद हुनेछ । विदेश पठाइ नसकेको भए सो सजायको आधा सजाय हुनेछ ।’ भन्ने उल्लेख छ । 

विभागका निर्देशक गोपालराज तिमल्सिनाले होटल मेरियटमा सयौँको सङ्ख्यामा युवाहरू जम्मा गरेको अवस्थामा वैदेशिक रोजगार विभागबाट खटिएको टोलीले  सोधखोज गर्दा सो कार्यक्रम गर्न कहीँ कतैबाट अनुमतिसमेत नलिएकाले पक्राउ गरिएको बताए ।  

पछिल्लो समयमा टिकटक, फेसबुक तथा भाइवरमार्फत नेपालीहरूलाई विदेशका विभिन्न मुलुकमा आकर्षक तलब सुविधा देखाई प्रलोभनमा पार्ने र पैसा उठाइ अलपत्र पार्ने क्रम बढ्दै गएको भन्दै सचेत रहन उनले आग्रह गरे । यस्ता सामाजिक सञ्जालको पछाडि नलाग्न र विभागबाट इजाजतप्राप्त संस्थाहरुमार्फत् मात्र वैदेशिक रोजगारीको कार्य गर्न उनले अनुरोध गरे । 

विभागले उक्त घटनापछि मेरियट होटलका सञ्चालक र मेनपावर व्यवसायी पाण्डेसँग समेत सोधपुछ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप