सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यमन : सात घण्टा ऊँटको पिठ्यूँमा सवार भएर बच्चा जन्माउने मोनाको कहानी

शुक्रबार, १२ जेठ २०८०, १४ : ३३
शुक्रबार, १२ जेठ २०८०

चारलीन ऐने रडरिग्स/बीबीसी

अस्पताल मोनाको घरबाट करिब ४० किलोमिटर टाढा छ । उनलाई  प्रसव व्यथा सुरु भएपछि उनका लागि जीवन रेखा बन्यो एउटा ऊँट । 

उत्तर–पश्चिमी यमनको महवीत प्रान्तको एउटा गाउँ अल–मकरामा बस्ने १९ वर्षकी मोनाका लागि अस्पताल पुग्नु ठुलो चुनौती थियो । 

सबैभन्दा नजिकको अस्पताल बानी सादमा थियो, जुन पहाडमा उनको घरबाट लगभग ४० किलोमिटर टाढा थियो ।

घरबाट अस्पताल पुग्न उनलाई चार घण्टाको समय लाग्थ्यो । तर सडक नभएका कार(ा र मौसम खराब भएका कारण अस्पताल पुग्न सात घण्टा लाग्यो । 

यात्राका बेला मोना लगातार प्रसव पीडा झेलिरहेकी थिइन् । उनी भन्छिन्, ‘यस्तो लागिरहेको थियो कि ऊँटको हरेक कदमले मेरो जीवन खोस्नेछ ।’

ऊँट आधा बाटोमा अघि बढ्न नसकेपछि मोना ऊँटको पिठ्युँबाट ओर्लिन् । उनले श्रीमान्‌सँगै पैदल यात्रा गर्ने निधो गरिन् ।

बानी साद यमनको महवीत प्रान्तको एक मात्र अस्पताल हो, जुन हजारौँ महिलाको उपचार गर्ने एक मात्र ठाउँ हो । मोनाको गाउँबाट यहाँ पुग्न दुई वटा मात्र बाटो छ, ऊँटको पिठ्युँमा सवार भएर पहाडी बाटो पार गर्नु वा पैदल नै अस्पताल पुग्नु । 

मोनाका अनुसार यात्राका बेला जति समय उनी ऊँटमा सवार थिइन्, उनलाई आफ्नो र आफ्नो नजन्मेको बच्चाको सुरक्षाको चिन्ताले सताइरह्यो । 

उनी भन्छिन्, ‘पहाडी बाटोमा खाल्डाखुल्डी थियो । यो यात्रा मानसिक र शारीरिक रूपमा असाध्यै थकाउने खालको थियो । कति पटक त मैले अल्लाहलाई प्रार्थना गरेर आफ्नो ठाउँमा बोलाउन र यो पीडाबाट पार गराइदिन पुकारिरहेको थिएँ । तर आफ्नो बच्चा भने सही सलामत होस् भनेर अल्लाहसँग प्रार्थना गरिरहेको थिएँ ।’

मोनालाई उनी कहिले अस्पताल पुगिन् भन्ने थाहा छैन, उनको कहिले उपचार भयो भन्ने पनि उनलाई केही अत्तोपत्ता छैन । उनले आँखा खोल्दा उनको नवजात शिशु डाक्टरको हातमा थियो र चिच्याउँदै रोइरहेको थियो । उनलाई यत्ति मात्रै याद छ । 

मोना र उनका श्रीमान्‌ले आफ्नो छोराको नाम जार्रा राखेका छन् । जार्रा ती डाक्टरको नाम हो जसले मोना र उनको बच्चाको उपचार गरेर उनको ज्यान जोगाए ।

yamanअस्पतालसम्म पुग्नै मुस्किल

आसपासको गाउँबाट अस्पताल पुग्न असाध्यै चुनौतीपूर्ण छ । कुनै ठाउँमा सडक भत्किएका छन् भने कतिपय स्थानमा वर्षौँको युद्धका कारण बाटो बन्द छ । 

पछिल्लो आठ वर्षदेखि यमनमा सरकार समर्थित सेना (जसलाई साउदी अरबको नेतृत्वको गठबन्धन सेनाको समर्थन पाएको छ) र इरान समर्थित हुती विद्रोही गुटबीच सङ्घर्ष जारी छ । 

यसको ठुलो असर यहाँको गाउँ र त्यहाँसम्म पुग्ने सुविधामा परेको छ । महिला र परिवारका अन्य सदस्य पहाडी बाटो पार गरेर अस्पताल पुग्न गर्भवती महिलाको मद्दत गरिरहेको देख्न सकिन्छ ।

३३ वर्षकी सलमा अब्दूले एक गर्भवती महिलालाई अस्पताल लैजान मद्दत गरेकी थिइन् । उनी भन्छिन्, ‘अस्पताल जाँदै गर्दा आधा बाटोमा मैले गर्भवती महिलाको शव देखेँ । उनको मृत्यु अस्पताल जाँदै गर्दा भएको थियो ।’

सलमा महिला र बालबालिकाप्रति दया देखाउन मानिसहरूलाई अपिल गर्छिन् । उनी भन्छिन्, ‘हामीलाई सडक चाहिन्छ, अस्पताल र औषधीको पसल चाहिन्छ । हामी एक तरिकाले यो पहाडले घेरिएको गाउँमा फसेका छौँ । यसरी कठिन यात्रा गर्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।’

यद्यपि, यहाँ समस्या भनेको अस्पतालसम्म पुग्नु मात्रै होइन । यहाँको अर्को समस्या भनेको गरिबी पनि हो । थुप्रै परिवार यस्ता छन् जोसँग अस्पतालसम्म पुग्नका लागि स्रोत साधन छैन ।

यमनमा काम गरिरहेकी संयुक्त राष्ट्रको संस्था, युनाइटेड नेसन्स पपुलेसन फन्ड (यूएनएफपीए) को हिचाम नाहरोका अनुसार यमनमा हरेक दुई घण्टामा एक महिलाको मृत्यु प्रसुतीका बेला हुने गर्छ, तर उनीहरूको ज्यान बचाउन सकिन्थ्यो ।

हिचाम नाहरो भन्छन्, ‘यमनको ग्रामीण इलाकामा महिलाको नियमित स्वास्थ्य परीक्षण पनि हुन पाउँदैन । गर्भवती महिला समय अघि नै रक्तस्राव हुने वा अचानक अत्यधिक पीडाको अवस्थामा तुरुन्त मद्दतसमेत पाउँदैनन् । ’

यूएनएफपीका अनुसार प्रशिक्षित डाक्टरको निगरानीमा निकै कम गर्भवती महिलाको उपचार भइरहेको छ । 

संस्थाका अनुसार यमनको आधाभन्दा कम जनसङ्ख्याले अस्पताल पुग्नका लागि कम्तीमा एक घण्टा यात्रा गर्नुपर्ने हुन्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप