शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

बजेटमा बागमती : सुरुङ मार्गदेखि रेल मार्गसम्मका योजना

मङ्गलबार, १६ जेठ २०८०, १५ : ४९
मङ्गलबार, १६ जेठ २०८०

मकवानपुर । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले ल्याएको बजेटमा बागमती प्रदेशमा सुरुङ मार्ग निर्माणदेखि रेल मार्ग सम्भाव्यता अध्ययनका योजना समेटिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमार्फत सडक पूर्वाधार, सुरुङ मार्ग, सिँचाइ, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई समेटेर योजना सञ्चालनको तयारी गरेको हो ।

सडक पूर्वाधारतर्फ सरकारले नागढुंगा सुरुङमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न ५ अर्ब १३ करोड विनियोजन गरेको छ । टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन कार्य सम्पन्न भइसकेकाले विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सरकारले पथलैया–नारायणगढ सडक खण्डको स्तरोन्नति सुरु गर्ने जनाएको छ । नारायणी नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने, मध्यपहाडी राजमार्ग अन्तर्गत बागमती प्रदेशका रामेछाप, नुवाकोट, लगायतका विभिन्न खण्डको निर्माण तथा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ ।

नागढुंगा–नौबिसे सडकखण्ड स्तरोन्नति सम्पन्न गर्ने र नौबिसे–मुग्लिन खण्डको २५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिका लागि २ अर्ब १६ करोड रुपैयाँ छुट्याइएको छ ।

सरकारले सूर्यविनायक–धुलिखेल सडकखण्डको विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ भने काठमाडौँ चक्रपथको कलंकी–बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीव्रता दिन २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै, राष्ट्रिय राजमार्गमा आवश्यकता अनुसार फ्लाइओभर र अन्डरपास निर्माण गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा उल्लेख गरेका छन् । जसमा ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरु गर्ने लगायतका योजना समेटिएको छ ।

सरकारले वीरगन्ज–काठमाडौँ रेलमार्ग र रसुवागढी– काठमाडौँ रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने, वसन्तपुर, खुर्कोट लगायतका नयाँ सहर आयोजनाको पूर्वाधार निर्माण कार्यका लागि बजेट विनियोजन गरेको छ ।

खेलकुद क्षेत्रतर्फ सरकारले बागमती प्रदेशमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको लागि बजेट विनियोजन गरेको छ । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाको रूपमा विकास गर्ने र सो रङ्गशालामा फ्लड लाइट राख्ने कार्य सम्पन्न गर्न बजेट छुट्याएको छ ।

मूलपानी क्रिकेट रङ्गशालाको निर्माण कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य छ भने काठमाडौँको सुवर्ण शमशेर क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको छ ।

कृषि क्षेत्रतर्फ चोभारमा फलफूल तथा तरकारी बजारको निर्माण सम्पन्न गर्न, काठमाडौँको कागेश्वरी मनोहरा र बुढानिलकण्ठामा कृषि थोक बजार निर्माण सम्पन्न गर्न, सिन्धुलीमा कृषि उपज थोक बजारस्थलमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला सेवा विस्तार गर्न बजेट छुट्याइएको छ ।

अर्थमन्त्री डा. महतका अनुसार उद्योगतर्फ सरकारले चितवनको शक्तिखोर र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटान लगायतका पूर्व तयारीका कार्य सम्पन्न गर्ने र सार्वजनिक निजी साझेदारीमा विकास तथा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरिएको छ । काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने, पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्रामको रूपमा नामकरण गरी उद्योग सञ्चालन गर्न प्रोत्साहित गर्न बजेट विनियोजन गरिएको छ ।

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण कार्यलाई तीव्रता दिने, खानीजन्य उद्योगको प्रवर्द्धन गर्न मकवानपुरमा ग्रेनाइट, स्लावस्टोन र सेरामिक्स, धादिङमा डोलामाइटको अन्वेषण र उत्खनन कार्य अगाडि बढाउन सरकारले बजेट छुट्याएको छ ।

त्यस्तै पर्यटन तथा संस्कृति क्षेत्रतर्फ सरकारले पशुपति क्षेत्रको बृहत् गुरुयोजना कार्यान्वयनमा ल्याउने, भूकम्पबाट क्षतिग्रस्त भएका भक्तपुर दरबार क्षेत्र, हनुमानढोका, नुवाकोटको ७ तले दरबार लगायतका सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न गर्ने, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा रहेका गुम्बा पुनर्निर्माण कार्यलाई निरन्तरता दिने, प्रदेशको दोलखा भिमसेन र दुप्चेश्वर महादेव, मन्दिरको संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गर्ने, सिन्धुलीगढी लगायत नेपालको एकीकरणसँग सम्बद्ध ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदा, गढी र स्थलहरूको संरक्षण तथा प्रवर्द्धन गर्न बजेट विनियोजन गरिएको छ ।

सरकारले भरतपुर, विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने भएको छ । सरकारले चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३०० शय्यामा विस्तार गर्ने, भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याउने, सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विकास गर्ने, सहिद गंगालाल हृदय केन्द्रमा अत्याधुनिक ब्लड बैंक सञ्चालनमा ल्याउन सरकारले बजेटको व्यवस्था गरेको छ ।

भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन तथा साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री डा. महतले जनाएका छन् । यस्तै, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गर्ने, वी.पी. कोइराला क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गरिएको छ ।

सरकारले काठमाडौँको वीर अस्पतालमा रहेको बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरको रूपमा विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । यस्तै, निजामती अस्पतालको स्तरोन्नति गरी सुपर स्पेशियालिटी सहितको अस्पतालको रूपमा विकास गर्ने, सिन्धुलीको भीमान र धादिङको बेल्खुमा नजिकको सरकारी अस्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने जनाइएको छ ।

सरकारले बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद पन्चकर्म योग सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न, काठमाडौँको गोठाटारमा १ सय ६५ क्षमताको वृद्धाश्रम र ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेको छ ।

खानेपानी तथा सिँचाइका क्षेत्रमा सरकारले मेलम्ची आयोजनाको अस्थायी हेडवर्क्सको स्तरोन्नति गरी वर्षभरि नै खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाउने, मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझाव बमोजिम आयोजनाको दिगो सञ्चालन गर्ने र आयोजनाको दोस्रो चरण अन्तर्गत मेलम्चीमा याङ्ग्री र लार्के जोड्ने गरी संरचना निर्माण कार्य अघि बढाउने भएको छ ।

काठमाडौँ उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन लगायत पूर्व तयारीका कार्य सम्पन्न गर्ने, काठमाडौँ उपत्यकाको चक्रपथभित्र नयाँ वितरण प्रणालीमार्फत पानी वितरण गर्ने, दोस्रो चरण अन्तर्गत कीर्तिपुर, भक्तपुर, ठिमी, जोरपाटी, टोखा, कपन र पेप्सीकोला क्षेत्रमा पाइपलाइन निर्माण कार्य सुरु गर्न सरकारले बजेट विनियोजन गरेको छ ।

सुक्खाग्रस्त क्षेत्रमा सञ्चालित जलवायु अनुकूल खानेपानी आयोजना अन्तर्गत आगामी वर्ष धादिङको गजुरी, चितवनको दिव्यनगर र भण्डारा लगायतका आयोजना निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ । भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गर्ने, सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत निर्माणाधीन काभ्रेको पाँचखाल, भक्तपुरको दधिकोट, तथा काठमाडौँको डाँछी खानेपानी आयोजनाहरु आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने, सहलगानी खानेपानी आयोजना अन्तर्गत चितवनको जुटपानी आयोजनाको निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. महतले जनाएका छन् ।

काठमाडौँको धोबीघाट, हनुमानघाट तथा गोकर्णमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, भक्तपुरको कटुन्जे, ललितपुरको झिकुवा महालक्ष्मी र काठमाडौँको भत्केपाटी चिखँ ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ । काठमाडौँ उपत्यकाको जलाधार संरक्षण एवं सुक्खा याममा समेत बागमती नदीमा पानीको न्यूनतम बहाव सुनिश्चित गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा बागमती ड्यामको निर्माण कार्य सुरु गर्ने, स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुमबासको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारा खाली गराउने सरकारको योजना रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न गर्ने र आयोजनाको हेड वर्क्स तर्फको कार्य तीव्र गतिमा अघि बढाउन ४ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ । नारायणी नदी नियन्त्रण गरी किनारको जग्गामा आकर्षक उद्यान निर्माण र सौन्दर्यीकरण गर्न बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप