बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
मिस नेपाल २०२३

श्रीच्छाले खोलिन् राजः सपना देखेको २ महिनामै मिस नेपालको ताज

श्रीच्छाको ईच्छाः राजनीति होइन, फरेष्ट्री
शनिबार, २० जेठ २०८०

मानिसहरु एक अर्काेसँगको भेटमा आफ्ना सपना शेयर गर्छन् । निरन्तर लागिरहे कतिपयको सपना छिट्टै पुरा हुन्छ भने कतिको वर्षाैँसम्म अधुरै । तर, श्रीच्छा प्रधान ती भाग्यमानीमा पर्छिन्, जसले देखेको सपना केवल दुई महिनामै पुरा भयो ।

उनले २ महिना अघि ‘मिस नेपाल वर्ल्ड’ बन्ने सपना देखेकी थिइन् । जुन २७ औँ मिस नेपाल भएर पुरा भयो । केही दिन अगाडि सम्पन्न प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

करिब ७ महिना अगाडि अमेरिकाबाट नेपाल फर्किदा उनमा मिस नेपालको केही चाहना थिएन । जब २ महिना अगाडि बुबाले पढ्दै गरेको पत्रिकामा उनले मिस नेपालको आवेदन खुल्ला भएको देखिन् । समुदायमा केही गर्ने पहिलेदेखि नै सोच भएकी उनले आफ्नो सोचका लागि उपयुक्त प्लेटफर्म मिस नेपाल नै भएको महसुस गरिन् । जलवायु अभियन्ता र विद्यार्थी मिस नेपालको फर्म भरिन्, सहभागी भइन् र ताज पहिरिन् पनि ।

‘मिस नेपाल वर्ल्ड’ चानचुने प्लेटफर्म होइन । कतिपयले वर्षाैँ मिहिनेत गर्दा पनि यो हासिल गर्न सकेको छैन । त्यो उनले पनि बुझेकी छन् । त्यसैले त उनलाई अहिलेको उपलब्धि पत्याउन गाह्रो परिरहेको छ । जब उनी पत्रपत्रिका, टेलिभिजन, अनलाइनलगायत मिडियामा आफूलाई देख्छिन् । तब उनलाई लाग्छ मिडियामा आफूलाई देखिरहेकी छु कि, अरू कोहीलाई ।

सपना देखेको दुई महिनामै यति ठुलो उपाधि हासिल होला भनेर कहिल्यै नसोचेको उनले रातोपाटीसँगको कुराकानीमा बताइन् ।

srichha pradhan (1)

‘सुरुमा त जित पत्याउन गाह्रो भयो । टिभीमा आफूलाई देख्दा आफै हो कि अरू हो जस्तो लाग्यो’, उनले भनिन्, ‘दिन बित्दै जाँदा आफ्नो काँधमा ठुलो जिम्मेवारी परेको फिल भयो ।’ विभिन्न मिडियामा आफूले फेस गर्नुपर्दा बल्ल आफैले जितेको अनुभव हुन थालेको उनले सुनाइन् ।

मिस नेपालको ग्राण्ड फिनाले गत शनिबार आयोजित भएको थियो । फिनालेमा विजेताको रूपमा नाम घोषणा हुँदा होस् वा पूर्व मिस नेपाल प्रियङ्का रानी जोशीले उनलाई क्राउन लगाउँदै गर्दा, उनी निकै भावुक देखिएकी थिइन् । 

विजेताको रूपमा अचानक आफ्नो नाम आउँदा विश्वास नलागेको, आफू एकदमै इमोसनल भएको उनले बताइन् । उनी भन्छिन्, ‘म मिस नेपालमा सहभागी भएको आफ्नो प्यासन जलवायु र जैविक विविधता विश्वमा फैलाउन, चिनाउन हो । त्यो पुरा हुने भयो भन्ने लाग्यो ।’

मिहिनेत र लगावले उपाधि

अहिले मिस नेपाल जस्ता धेरै प्रतियोगिता आयोजना हुन थालेका छन् । ती बाहेक आफूलाई एक्सपोज गर्ने युट्युब, टिकटक लगायतका धेरै सामाजिक प्लेटफर्म पनि छन् । 

srichha pradhan (4)

अगाडि बढ्न अव मिस नेपालमै भाग लिनुपर्छ भन्ने कसैलाई पनि लाग्दैन । तर, धेरै प्लेटफर्म भएपनि मिस नेपालको चार्म अलग्गै भएको उनको बुझाइ छ ।

श्रृंखला खतिवडालाई आफ्नो आदर्श मान्ने उनले मिस नेपाल राम्रो प्लेटफर्म हो भन्ने बुझेको पनि खतिवडाकै समयदेखि हो । त्यो समय उनले खतिवडाले ‘मिस वर्ल्ड’का लागि तयार पारेको ‘ब्युटी वीथ प्रपोज’को भिडियो प्रोजेक्ट हेरेकी थिइन् ।

‘त्यही समय मलाई लागेको थियो । मिस नेपाल समुदायमा पुग्ने उपयुक्त माध्यम हो । यसबाट देशलाई विश्वको कुना कुनामा समेत चिनाउन सकिन्छ,’ उनले भनिन् ।

‘२९ वर्षको इतिहाससहित मिस नेपाल अगाडि बढिरहेको छ’, उनले यो प्रतियोगिता रोज्नुको कारण राखिन्, ‘द हिडन ट्रेजरका प्रतियोगी सफल र सक्षम छन् ।’

श्रीच्छा भर्खर २३ वर्षमा टेकेकी छन् । मिस नेपालमा आवेदन दिँदा पनि उनी आफूलाई शून्य महसुस गर्थिन् । विश्वमा वातावरणको प्रभावबारे सबैलाई जानकारी होस्, यसको इस्यु सबैको मुख मुखमा होस् भन्ने उनको एउटै सोच थियो । भन्छिन्, ‘यसकै लागि मात्र ‘मिस नेपाल वर्ल्ड’ जित्नुपर्छ भन्ने थियो ।’

srichha pradhan (5)

सहभागी हुँदै गर्दा सुरुमा प्रतियोगीको रूपमा छानिन्छु भन्ने नै थिएन । छानिएर सहभागी भएपछि त्यहाँको विभिन्न प्रशिक्षणले टप टेनमा पुग्छु भन्ने आत्मविश्वास जाग्यो । ‘मिहिनेत र आयोजकको उचित प्रशिक्षणले उपाधि नै हात पर्‍यो’, उनले जितको खुसी शेयर गरिन्, ‘हिजोसम्म शून्यमा रहेको म एकाएक चर्चामा केन्द्रमा रहे ।’

मिस नेपालमा पैसा लगायतको चलखेल हुन्छ भन्ने आरोप समेत लाग्दै आएको छ । सधैँ राम्रा फ्यामिलीका युवतीको हातमा उपाधि पर्नुले पनि आरोप जायजजस्तै देखिन्छ ।

श्रीच्छा भने आरोपको खण्डन गर्छिन् । मिस नेपालमा धनी गरिब केही हेरिँदैन । सबैमा एउटै व्यवहार हुन्छ । सहभागीले आफ्नो मिहिनेत र लगावले उपाधि जित्ने श्रीच्छा आफ्नो अनुभव सुनाउँछिन् । 

‘प्रतियोगितामा सबैभन्दा महत्त्वपूर्ण प्रतिभा रहेछ’, श्रीच्छाले अनुभव बाँडिन्, ‘हामी प्रतिस्पर्धीबीच पनि कहिल्यै नराम्रो सोच, रिसराग भएन ।’ 

‘सौन्दर्य प्रतियोगितामा एकअर्काेसँग मेलमिलाप हुँदैन भन्ने सुनेकी थिएँ । तर, यसपालि हामी मिस नेपालमा जति प्रतियोगी थियौँ, सबैमा दिदीबहिनीको जस्तो सम्बन्ध थियो । कम्पिटिसन भन्दा पनि सेलिब्रेसन जस्तो भयो, रमाइलोमै बित्यो,’ उनी खुसी देखिइन् ।

srichha pradhan (2)

राजनीति होइन, फरेष्ट्री

सौन्दर्य प्रतियोगितालाई कतिपयले महिलाका अंग प्रदर्शनको थलो भन्छन्, कति शरीरको आकार र तौलको मापन । श्रीच्छा भने यसलाई ज्ञान, अध्यात्म र करुणाको संगम ठान्छिन् । ‘हामीले सौन्दर्य प्रतियोगिता देवावटी सौन्दर्यसँग मात्र जोड्छौ तर यो साँगुरो हेराई हो । ब्युटी पेजेन्ट समुदायसँग जोडिएर राम्रो काम गर्नलाई हो ।’ उनको जिकिर छ ।

‘मिस नेपाल वर्ल्ड’को उपाधिसँगै श्रीच्छाको काँधमा एउटा ठुलो जिम्मेवारी पनि थपिएको छ ‘मिस वर्ल्ड’ । यो एकदमै महत्त्वपूर्ण प्लेटफर्म पनि हो । त्यहाँ उनले आफ्नो भन्दा पनि देशको प्रतिनिधित्वको रूपमा सहभागी हुनुपर्छ । त्यसमा देश कसरी चिनाउने ? अहिलेको उनको चिन्ताको विषय यही हो । 

‘देशको जैविक विविधता राख्छु । हाम्रो कल्चरबाट पनि विश्वले धेरै सिक्न सक्छ,’ उनले भनिन् ।

हँसिलो स्वभावकी श्रीच्छाको ‘मिस वर्ल्ड’बाहेक व्यक्तिगत इच्छा जैविक विविधता र वातावरणीय परिवर्तनको विषयमा एउटा संस्था खोल्ने छ । ‘जसले बालबालिका र महिलालाई उद्यमशील बन्ने प्रेरणा देओस्’, उनी भन्छिन्, ‘फेसन र मेकअपप्रति पनि केही गर्न मन छ ।’

हाइकिङ, बाइकिङ र आउटडोर लोकेसनमा स्वीमिङमा रमाउने उनको गीत गाउने र लेख्न सौख पनि छ । मिस नेपालको ट्यालेन्ट राउण्डमा पनि उनले गीत गाएर जज रिझाएकी थिइन् । त्यसैले, अर्को वर्ष गीत रेकर्ड गरेर सार्वजनिक गर्ने उनको अर्को प्लान पनि छ । 

राजनीति भन्दा फरेष्ट्री मन पराउँछिन् उनी । अवसर मिले फरेष्ट्रीमा लाग्ने सोच पनि छ । अहिले मिस वर्ल्ड बाहेक केही नसोचेकी उनले कुराकानीको बिट मार्दै अभिनयका विषयमा भनिन्, ‘कलेज समयमा अभिनयको क्लास लिएकी थिएँ । राम्रो पनि गर्थे । तर, अहिले अभिनयमा चाहना छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया