मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

नेपाल–भारत सम्बन्ध ‘हिट’बाट कसरी हुन्छ ‘सुपरहिट’ ?

आइतबार, २१ जेठ २०८०, २२ : ५०
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । ‘मलाई सम्झना छ, ९ वर्ष पहिले सन् २०१४ मा कार्यभार सम्हालेको तीन महिनाभित्र मैले नेपालको आफ्नो पहिलो यात्रा गरेको थिएँ । त्यस समय मैले भारत–नेपाल सम्बन्धका लागि एक हिट फर्मूला ‘एचआईटी’ दिएको थिएँ– हाईवेज, आइवेज र ट्रान्सवेज । मैले भनेको थिएँ, भारत र नेपालबीच यस्तो सम्बन्ध स्थापित गरिनेछ कि हाम्रो बोर्डर हामीबीच बेरियर नबनोस् । ट्याङ्करको ठाउँमा पाइपलाइनबाट तेलको निर्यात हुनुपर्छ । साझा नदीमाथि ब्रिज बनाउनुपर्छ । नेपालबाट भारतमा बिजुली निर्यातका लागि सुविधा बनाउनुपर्छ । आज ९ वर्षपछि मलाई यो बताइरहँदा खुसी छ कि हाम्रो पार्टनरशीप बकाइदा ‘हिट’ (एचआईटी) छ । आज मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरशीपलाई सुपरहिट बनाउनका लागि धेरै महत्त्वपूर्ण निर्णय लिएका छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राखेको धारणा हो यो । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आएको बेला नेपाल–भारत सम्बन्ध ‘एचआइटी’ (हिट) हुने अभिव्यक्ति दिएका थिए । नेपालको संसदमा आफ्नो अभिव्यक्ति दिँदै उनले भनेका थिए, ‘मेरो मनमा आयो नेपाललाई हिट गरौँ, एचआईटी अर्थात हाईवेज, आइवेज र ट्रान्सवेज ।’

हिन्दुस्तानलाई बिजुली बेचेरमात्र नेपाललाई समृद्ध बनाउन सकिने भन्दै मोदीले यो विकास यात्रामा आफू जोडिन चाहेको बताएका थिए । यहाँ ट्याङ्करबाट तेल आउँछ, युग परिवर्तन भइसकेको छ, पाइपलाइनबाट किन नल्याउने भन्दै उनले त्यो कामलाई आफूले पूरा गर्ने प्रतिबद्धता त्यतिबेला जनाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला जेठ १८ गते संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नौ वर्ष अघिको दिन सम्झिँदै पछिल्लो ९ वर्षमा अनेक क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरेको धारणा राखेका थिए ।

नौ वर्षभित्र वीरगञ्जमा नेपालको पहिलो आइसीपी बन्यो । भारत–नेपालबीच पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन बन्यो । ब्रोडगेज रेल्वे लाइन स्थापित भयो । सिमानामा ट्रान्समिसन लाइन निर्माण भयो । त्यो ‘एचआइटी’ (हिट)लाई सुपरहिट बनाउने घोषणा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यी ९ वर्षका उपलब्धिका वर्णन गर्न लाग्ने हो भने पूरै दिन बित्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, सुरक्षा तथा विकास सहकार्य लगायतका विषयवस्तुमा दुई पक्षबीच छलफल भयो । ऊर्जा क्षेत्रमा सहकार्य गर्न सन् २०२२ अप्रिलमा जारी गरिएको संयुक्त दृष्टिकोणपत्रको स्मरण गर्दै दुवै प्रधानमन्त्रीले यस क्षेत्रमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

यसमा जलविद्युत परियोजनाको विकास, विद्युत प्रसारण, पूर्वाधार तथा ऊर्जा, व्यापार समावेश छन् र ती सबै ‘एचआइटी’ अन्तर्गत पर्छ । त्यसलाई अझै सुपर हिट बनाउने प्रधानमन्त्री मोदीको घोषणा थियो ।

तर राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘प्रधानमन्त्री प्रचण्डको यो भ्रमण सुपर हिट होइन, सुपर फ्लप भएको हो । जति पनि सहमति र छलफल भएका छन् ती सबै पुराना हुन्, नयाँ सम्झौता केही पनि भएको छैन ।’

विश्लेषक रोकाका अनुसार सुपर हिट त्यतिबेला हुन्थ्यो जतिबेला इपीजी, लिपुलेक, कालापानी, लिम्पियाधुरा, हवाई रुट जस्ता विषयमा छलफल हुन्थ्यो र त्यसमा सहमति हुन्थ्यो । तर प्रधानमन्त्री प्रचण्डकै कुरा सुन्ने हो यी विषयमा कुरा समेत भएको छैन भने यस भ्रमणलाई सुपर हिट कसरी भन्ने भनेर उनले प्रश्न गरे ।

नेपालको तर्फबाट भ्रमणका क्रममा गरिने छलफल, सहमति लगाएका विषयमा कुनै गृहकार्य नै नभएको भन्दै रोकाले भारतमा गएर हात थाप्ने उताबाट दिए जस्तो गर्नेमै प्रधानमन्त्री प्रचण्डको भ्रमण सीमित रहेको बताए ।

‘नेपाली जनताको सरोकारका विषयमा कुनै पनि छलफल र सहमति भएन,’ उनले भने । भारतले आफ्नो फाइदा हुने गरी मात्र सबै सहमति गरेको रोकाको बुझाइ छ ।

विदेश मामिलाका जानकार विजयकान्त कर्णले प्रधानमन्त्री प्रचण्डको भ्रमण ‘सुपरहिट’ नभए पनि हालसम्मकै उपलब्धिमूलक भ्रमण भएको टिप्पणी गरे । ‘दुई देशमा जति पनि नेपाल–भारतको बीचमा एग्रीमेन्ट भएका छन्, सबैभन्दा उपलब्धिमूलक एग्रीमेन्ट यसपटक भएको हो, उनले भने, ‘यसअघि बढी राजनीतिक कुरा हुन्थ्यो तर यसपटक राजनीतिक कुराका साथसाथै आर्थिक समृद्धि र विकासका विषयमा थुप्रै कुराकानी भएका छन् र सहमति पत्रमा हस्ताक्षर पनि भएका छन् ।’

तर यी सबै कार्यान्वयन कसरी हुन्छ भन्नेमा धेरै कुरा निर्भर हुने उनको भनाइ छ । भएका सहमतिहरू कार्यान्वयनमा आएमात्र यसलाई ‘सुपरहिट’ मान्न सकिने उनले बताए ।

‘सम्झौता गरेर मात्र हुँदैन, त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्छ । भारतले दश वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने भनेको छ तर नेपालले त्यो दिन सक्छ कि सक्दैन, त्यो मुख्य कुरा हो,’ कर्णले भने, ‘१० हजार मेगावाट बिजुली दिनका लागि नेपालले लगानीकर्ता खोज्नुपर्छ, त्यसका धेरै तयारीहरु गर्नुपर्छ । त्यो गर्न सक्छ भने यो सुपरहिट नै हुन्छ, यदि सक्दैन भने सुपरहिट हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप