शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् सांसदहरु ?

कांग्रेसले भन्यो–नागरिकता प्रमाणीकरणमा त्रुटि भयो
आइतबार, २१ जेठ २०८०, १६ : २९
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गरेको बताए ।  

बर्तौलाले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए । नागरिकता विधेयकलाई असंवैधानिक रुपमा राष्ट्रघात हुनेगरी प्रमाणीकरण गरिएको उनले बताए ।  

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफलता मिलेको बताए । यो भ्रमण विगतको भन्दा अलग भएको पनि उनको भनाई छ । उनले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद् अवरोध गर्नु जायज नभएको बताए । संसदमा सबै प्रक्रिया पुरा गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यसमा केही गलत नभएको उनले बताए ।  

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको बताए । उनले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताए । उनले नागरिकता विधेयक प्रमाणीकरणको समय पनि नमिलेको टिप्पणी गरे ।  

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसदमा विरोध गरेको बताए । विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उनको भनाई छ । त्यस्तै उनले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले बहुमत पु¥याउन खोजेको बताए । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको विरोध रहेको बताए । उनले असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए । यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उनले बताए ।  

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको बताए । उनले यस विषयमा देशघात भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गरे ।  

त्यसैगरी स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपाली जनताले केही नपाएको टिप्पणी गरे । उनले सीमा सम्बन्धी विवाद र इपिजीको रिपोर्ट सम्बन्धी कुनै चर्चा नभएको भारतीय पक्षले बताइरहेको भन्दै कुनै ठोस प्रगति नभएको बताए । उनले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा पूजाआजा गर्नुपनि उपयुक्त नभएको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप