मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित होइन : प्रधानमन्त्री दाहाल

बुधबार, २४ जेठ २०८०, १३ : ४८
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताएका छन् । हुन बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकी विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री दाहालको तर्क थियो । 

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न पनि सबै पार्टीलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्‍याएका थिए । बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरूसँगको कुराकानी गरेको उनको स्पष्टीकरण थियो । 

प्रधानमन्त्री दाहालेले भने, 

अब माननीय सदस्यहरूले फेरि अर्को कुरा पनि राख्नु भयो । यो सट्टापट्टावाला कुरा के भएको हो ? तपाईंले त जमिन नै दिएर आउनु भएछ भनेको जस्तो गरेर । पहिलो कुरा, म के भन्न चाहन्छु भने मैले औपचारिक कुनै पनि बैठकमा जमिन सट्टापट्टाबारे कुरै गरेको छैन । र, गरेकै होइन । खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । त्यो समस्या छिटोभन्दा छिटो वार्ता, संवादद्वारा हल गर्नु पर्छ भन्ने कुरा मात्रै भनेको हो । मैले नेपाली पत्रकारहरूसँग कुरा गर्दा यो विषयमा धेरै खालको विचारहरू पनि छन् । नेपालकै कतिपय बुद्धिजीवीहरूले हामीले यदि बंगलादेशको मोडेल अध्ययन गरेर त्यसलाई पनि लिनुपर्छ । या बंगलादेश जाने बाटो हामीले पाउने हो भने समस्याको त्यो पनि समाधान हुन सक्छ भनेर भनेका छन् भन्ने सन्दर्भमा मैले यो कुरा बोलेको हो । त्यो भारत सरकारसँग प्रस्ताव राखेको या भारतसँग कुरा भएको होइन । माननीय सदस्यहरूलाई प्रष्ट होस् । मैले त यो विकल्पबारे नेपालको एउटा, दुईटा बुद्धिजीवीले मात्रै होइन नेपालमा धेरै पटक सीमा सम्बन्धी समस्या समाधानको बारेमा सरकारले नै समय समयमा अध्ययन गराउने गरेको छ । २०७२ मा अध्ययन भएको छ । २०७७ मा पनि अध्ययन भएको छ । र, त्यो अध्ययन गरेका बुद्धिजीवीहरू, विशेषज्ञहरूले समस्या जटिल भयो भने हामीले सटापटा पनि गर्न सकिन्छ भनेर उहिल्यैदेखि भनेको भेटिन्छ । त्यसकारण यो मैले आविष्कार गरेको कुरा पनि होइन । यो भारत सरकारसँग अहिले नै औपचारिक ढंगले प्रस्ताव गरिएको कुरा पनि होइन । यस्ता पनि विचारहरू छन् चाहिँ मैले भनेको हो । त्यसकारण यसलाई फेरी अतिरञ्जित ढंगले यति राम्रो भएको सम्बन्धमा चाहिँ दरार पैदा कसरी गर्न सकिएला ? भनेको जस्तो गरी तर्क गर्नु म माननीय सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु–उचित हुँदैन । त्यस्तो केही पनि भएको छैन । सीमा सम्बन्धी समस्या हल गरिन्छ भन्ने कुरा हामीले त भनेकै कुरा हो । भारतीय प्रधानमन्त्रीले पनि पहिलो चोटि भन्ने परिस्थिति सृजना गरियो । त्यसमा तपाई, हामी सबैले गर्व गर्नु पर्दछ । 

मलाई त लागेको थियो अघि मैले जुन पढेँ । यहाँहरूको बीचमा राखे भारत भ्रमणको उपलब्धिबारे । देशले सिंगै के सत्तापक्ष, के प्रतिपक्ष, नागरिक समाज सबैले नै मलाई चाहिँ बधाई दिन्छन् भनेर सोचेरै आएको थिए म । स्वागत हुन्छ भव्य भन्ने लागेको थियो । किनभने नेपालको इतिहासमा केही युगान्तकारी काम भएका छन् माननीय सदस्यहरू । राजनीतिक कारणले हामी कसैलाई भन्न मन लाग्ने, कसैलाई नलाग्ने त एउटा होला । तर, नेपालको इतिहासमा पहिलो पटक सीमा सम्बन्धी समस्या हामी हल गर्छौँ भनेर दुवै जना प्रधानमन्त्रीले दुनियाँको अगाडि उभिएर कमिटमेन्ट गर्ने सानो उपलब्धि होइन । मेरो भारत भ्रमण महत्त्वपूर्ण भएको छ । गेमचेन्ज गर्ने तरिकाले अगाडि बढेको छ । किन ? हामी दुई छिमेकीहरू राम्रो विश्वासको वातावरण बनाएर मात्रै लिपुलेक, कालापानीको पनि समस्या हल हुने हो । एकले अर्कालाई पोलिटिक्स मात्रै गरिराखेर त यो बल्झिने मात्रै हो । कचिङ्गल हुने मात्रै हो । सरकारको नेतृत्व हुनेको हैसियतले हामीले संवादद्वारा सकारात्मक ढंगले समाधानको उपाय खोज्ने पो हो । प्रधानमन्त्रीले विश्वासको वातावरण बनाएर सीमाको समस्या हल गर्छौ भन्ने ठाउँसम्म भारत पनि सहमत भएर आएको कुरालाई त अरू कसैले गर्‍यो र ? अरू कुनै सरकार, हामी स्वयम रहेका हिजोको सरकारले पनि हिजो गर्न सकेको कुरा थियो र यो ? 

अहिले बडो केही नि भन्ने साथीहरूले, माननीय सदस्यहरूले हिजो त सरकारको नेतृत्व उहाँहरूको दलले पनि गरेकै थियो । थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँहरूले के चाहिँ गर्नु भएको थियो ? गर्नु भयो केही ? भएको थियो र केही ? अहिले अलि भयो । उत्पात भयो भन्ने मेरो दाबी होइन । तर एउटा नयाँ सुरुवात भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । अव नेपालमा अर्बौँ, खर्बौँ लगानी आउने वातावरण बनाइयो । यसमा त हामीले खुसी पो व्यक्त गर्नु पर्छ त । त्यसकारण म माननीय सदस्यहरूलाई गम्भीरतापूर्वक अनुरोध गर्न चाहन्छु–यो बेला हो नेपालीहरूले बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने । ठिक भएको छ । अझ ठिक हुनुपर्छ । भएका सहमति ठिक ढंगले कार्यान्वयन हुन । हामी सबै नेपालीहरूले तिखो आँखाले हेरौँ । सहमति र सम्झौता भएका कुराहरू पालना हुन । जस्तो पञ्चेश्वर २६ वर्ष भयो । मैले जानु अगाडि यस सम्मानित सदनमा पनि ती कुरा जानकारी गराएका थिएँ । अहिले ३ महिनामा डीपीआर बनाउने । एक वर्ष भित्र निर्माणको मोडालिटी तयार गर्ने भन्ने भएको छ । र, टनकपुरबाट हामीले पाउने पानी हामीतिरकै संरचना पूरा भइसकेको रहेनछ । तर अहिले त्यो पानी दिने भन्ने भएको छ । यी सबै उपलब्धि होइनन् र ? यसले नयाँ वातावरण बनाएको होइन र ? अनि, हामी सबैले एक भएर यी भएका सहमति, समझदारी ठिक ढंगले कार्यान्वयन हुन । हुन बाँकी सहमति पनि बनाउनु प¥यो पो भन्नु पर्छ र । त्यसो भन्यो भने पो नेपाल बलियो हुन्छ । हामी बलियो हुन्छौँ । त्यसकारण यसमा अनावश्यक हामीले सकिनसकी विरोध गर्नुपर्ने, कनीकुथीको तरिका अपनाउनु उचित छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप