मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

संसदीय सुनुवाइ समितिमा उजुरीकर्ता न्यायाधीशको आलोचना

सोमबार, २९ जेठ २०८०, १५ : ०४
सोमबार, २९ जेठ २०८०

काठमाडौं । संसदीय सुनवाइ समितिमा उजुरीकर्ता न्यायाधीशको आलोचना भएको छ । सोमबार बिहान ११ बजे बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उजुरी हालेर मिडियाबाजी गर्दै हिँडेको भन्दै उजुरीकर्ता न्यायाधीश श्रीकृष्ण भट्टराईको आलोचना भएको हो ।

नेकपा एमालेका सांसद महेश बर्तौलाले न्यायाधीश भट्टराईको नाम नलिई मिडियाबाजी गर्न उजुरी हाल्ने र उजुरी हालेर मिडियाबाजी गरेको भन्दै आलोचना गरेका हुन् । सांसद बर्तौलाले भने, ‘उजुरी दर्ता हुनुभन्दा पहिले नै मिडियालाई उजुरी दिएर प्रचारबाजी गर्नेलाई निरूत्साहित गर्ने काम गरौं । कैयन् दिनदेखि टिभीहरुमा अन्तरवार्ता दिँदै हिँडेको पनि देखिएकै छ, यो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’

त्यसैगरी सांसद पदम गिरीले पनि चर्चामा आउन उजुरी हाल्नेको विषयमा समिति सचेत हुनुपर्ने बताए । उनले भने, ‘चर्चामा आउन उजुरी दिने र मानहानी गर्नेको लर्काे छ, त्यो विषयमा ख्याल गर्नुपर्छ । प्रधानन्यायाधीशको विषयमा आएका बेनामे उजुरीमा दम छजस्तो लाग्दैन, त्यस्तालाई छलफलमा ल्याउनु पनि पर्दैन ।’

त्यसैगरी सांसदहरुले उजुरी हाल्न आउने पेसेवर उजुरीकर्ताको विषयमा पनि टिप्पणी गरे । एमाले सांसद महेश बर्तौलाले भने, ‘एउटै मानिस राजदूत नियुक्तिमा पनि उजुरी लिएर आउँछ, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिमा पनि उजुरी ल्याउँछ र संवैधानिक नियुक्तिमा पनि उजुरी लिएर आउँछ । त्यो केवल पब्लिसिटी स्टण्टका लागिमात्रै हो । त्यसलाई पनि नियन्त्रण गर्नु पर्छ ।’

कांग्रेस सांसद डा. ज्ञानेन्द्र कार्कीले उजुरीका लागिमात्र उजुरी गर्ने विकृति बढेको भन्दै सबै उजुरीलाई छलफलमा ल्याउन आवश्यक नभएको बताए । उनले प्रधानन्यायाधीशको पद लामो समय खाली भएको भन्दै उजुरीकर्तासँग छलफल गर्न प्रस्ताव गरिएको दुई दिनको समय धेरै भएको भन्दै त्यसलाई एक दिनमा झार्न माग गरे ।

समितिको बैठकमा कसले के भने ?

संसदीय सुनुवाइ समितिमा ज्येष्ठ सदस्यका हैसियतले पशुपति शमशेर जबरा (राणा) सभापति छन् । सोमबार बिहान ११ बजेपछि समितिका सचिव पदम प्रसाद पाण्डेयले समितिमा प्राप्त भएको २९ थान उजुरी खोलेपछि त्यसको फोटोकपी समितिका सदस्यहरुलाई बाँडियो । त्यही समयमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पेस गरेका कार्ययोजना पनि सदस्यहरुलार्य वितरण गरियो ।

त्यसपछि संसदीय सुनुवाइ समितिको बैठकको कार्याविधिका सम्बन्धमा छलफल भयो । सचिव पदमप्रसाद पाण्डेयले उजुरीकर्तासँग छलफलका लागि जेठ ३० र ३१ गतेको समय छुट्याए र असार १ गते बिहान ८ बजेर प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई समितिमा बोलाएर उजुरीमाथि स्पष्ट पार्न समय दिने तथा कार्ययोजनाका सम्बन्धमा स्पष्ट पार्न समय दिने र सोही दिन निर्णय गर्ने प्रस्ताव पेस गरे ।

समितिका सचिवबाट प्रस्ताव पेस भएसँगै सदस्यहरुले आ–आफ्नो धारणा राखे । संसदीय सुनुवाइ समितिमा रहेका सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेपछि समितिका सचिव पदमप्रसाद पाण्डेयले कार्यसूचीमा केही फेरबदल गरी उजुरीकर्तालाई दिने समय र छलफलको मितिबारे संशोधित कार्यसूची प्रस्ताव गरे ।

समितिको बैठकमा सचिव पाण्डेयले उजुरीकर्ताले आफूलाई पनि फोन गरेको र सामूहिक छलफलमा बस्न पाउनुपर्ने धारणा राखेको सुनाए । उनले भने, ‘मलाई पनि उजुरीकर्ताले फोन गर्नुभयो । अनि आफूहरु २९ जनालाई नै एकैपटक छलफलमा बोलाउनु प¥यो भनेर प्रस्ताव गर्नुभएको कुरा सुनाए । मैले किन त्यसो गर्नुपर्ने भन्दा हामीले यही निर्णय गरिसक्यौँ भनेर भन्नुभयो । मैले कार्यविधि अनुसार हुन्छ भनेँ ।’

समितिका सदस्यहरुले उठाएका पेसेवर उजुरीकर्ताको सम्बन्धमा थप स्पष्ट पार्दै सचिव पाण्डेले आफूलाई पनि कोही पेसेवर उजुरीकर्ता भएको जस्तो लागेको सुनाए । पाण्डेयले भने, ‘मलाई आएको जानकारी अनुसार एकजना उजुरीकर्ता पटकपटक उजुरी लिएर आउनुभएको भन्ने सुनेको छु । हामीलाई पनि एक जना व्यक्ति पेसेवर उजुरीकर्ता हुनुहुन्छ भन्ने लागेको छ । उहाँले हरेकजस्तो नियुक्तिमा उजुरी गर्नु भएको छ ।’ समितिका सदस्यहरुले उजुरीकर्तालाई धेरै समय दिएको बताएपछि सचिव पाण्डेयले जेठ ३० गते मंगलबार सांसदहरुले उजुरीमाथि अध्ययन गर्ने र जेठ ३१ गते उजुरीकर्तासँग छलफल गर्ने तथा जेठ ३२ गते प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गरी निर्णय लिने प्रस्ताव गरे ।

साथसाथै कतिपय उजुरी गोप्य पनि आएको भन्दै उजुरीकर्तासँगको छलफलमा मिडियालाई प्रवेश नदिने प्रस्ताव राखे । सोही प्रस्तावमाथि सभापति पशुपति शमशेर जबराले केही धारणा छ कि भनेर सदस्यहरुलाई सोधे । सदस्यहरुले ठीक छ भनेपछि उक्त प्रस्तावलाई पास गर्दै संसदीय सुनुवाइ समितिको कार्याविधि, २०८० को दफा १५ पारित भएको घोषणा गरियो । २०८० जेठ ३१ गते बिहान ११ बजे अर्को बैठक बस्ने गरी सोमबारको बैठक समाप्त भएको घोषणा भयो ।

समितिमा कसले के भने ?

महेश बर्तौला, नेकपा एमाले

– उजुरीकर्ताहरूले आफूले दिएको उजुरी ठीक छ भन्नका लागि म्यासेज क्याम्पेनिङ गर्ने र समितिका सदस्यहरूलाई भेट्ने लगायतका काम गरिरहेका छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।

– एउटै मानिस राजदुत नियुक्तिमा पनि उजुरी, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिमा पनि उजुरी, संवैधानिक नियुक्तिमा पनि उजुरी लिएर आउँछन् । त्यो केबल पब्लिसिटी स्टण्टका लागि मात्रै हो । त्यसलाई पनि नियन्त्रण गर्नुपर्छ । उजुरीकर्तासँग छलफलका लागि प्रस्तावित दुई दिनको समय धेरै भयो । एकैदिनमा टुङ्ग्याउने गरी काम गरौं ।

– उजुरी दर्ता हुनुभन्दा पहिले नै मिडियालाई उजुरी दिएर प्रचारबाजी गर्नेलाई निरूत्साहित गरौं । पहिलेनै टिभीमा अन्तरवार्ता दिँदै हिँड्ने, मिडियामा उजुरी छपाउनेको सम्बन्धमा सजग बनौं ।

ज्ञानेन्द्र कार्की, नेपाली कांग्रेस

– उजुरीका लागि उजुरी गर्ने विकृति बढेको छ । उजुरीकर्तासँग छलफलका लागि प्रस्ताव गरिएको दुई दिनको समय धेरै भयो । प्रधानन्यायाधीश लागि धेरै समय उजुरीमै अलमलियौँ । उजुरीकर्तासँगको छलफल एकै दिनमा सकाऔँ ।

प्रकाश अधिकारी, जनता समाजवादी पार्टी

– संसदीय सुनुवाइ चाँडै टुङ्ग्याउनुपर्छ । प्रधानन्यायाधीशको पद लामो समय खाली भइसक्यो । उजुरीकर्तासँग धेरै समय छलफलमा नलगाउँ । एकैदिनमा टुङ्ग्याउन पनि सकिन्छ ।

रमेशजंग रायमाझी : नेपाली कांग्रेस

–पहिले खुइल्याएर ‘ल राम्रो गर्नुस्’ भन्नु ठीक हुँदैन । हामीलाई पनि लबिङ आएको थियो, उजुरी कर्ताबाट । त्यस्ता कुराहरूलाई इन्टरटेन गर्नुहुन्न । पटकपटक एउटै मान्छेको उजुरी आयो भने त्यस्तालाई प्राथमिकता दिनु हुँदैन । सुनुवाइको सबै काम जेठ महिनाभित्रै सकौँ । दुई दिनका लागि भनेर छुट्याइएको छलफल एकै दिनमा सकौं । अर्काे एक दिन प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गरौं ।

पदम गिरी : नेकपा एमाले

चर्चामा आउन उजुरी दिने र मानहानी गर्नेको लर्काे छ, त्यो विषयमा ख्याल गर्नुपर्छ । प्रधानन्यायाधीशको विषयमा आएका बेनामे उजुरीमा दम छ जस्तो लाग्दैन । त्यस्तालाई छलफलमा ल्याउनु पनि पर्दैन । उजुरीकर्तासँगको छलफल एक दिनमै सकाउनु ठीक हुन्छ ।

ईश्वरी घर्ती, नेकपा एमाले

मलाई एक उजुरीकर्ताले फोन गरेर एक एक गरी छलफलमा बोलाए भने हामी बहिष्कार गर्छाैँ भनेर धम्की दिएका छन् । २९ जना उजुरीकर्ताहरु एकैपटक आउने छलफल भएको छ भन्दै थिए र प्रस्तावित प्रधानन्यायाधीशलाई पनि सँगै राखेर छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् । यस्तो त कसरी सम्भव होला र ?

जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र

आएका उजुरीमध्ये छलफलका लागि आवश्यक देखिएका उजुरीलाई मात्रै छलफलमा ल्याउँ । अहिले जसरी कार्यतालिकाको प्रस्ताव गरिएको छ, सोही तालिकाभित्रै सक्ने गरी काम गरौं ।

डिपी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी

अहिले प्रस्ताव गरिएको कार्यातालिका सबै ठीक छ । तर माननीय सदस्यज्यूहरु समयमै उपिस्थत भएर छलफल सुरु गर्नुप¥यो । सबै उजुरीकर्ताहरुलाई एकैपटक बोलाउनु ठीक हुँदैन । सामूहिक उजुरी भए त्यही समूहकालाई बोलाउँ । नत्र छुट्टाछुट्टै बोलाउनुपर्छ । अनि आन्तरिक छलफलका लागि उनीहरुलाई बोलाउनुभन्दा एक घण्टा पहिले नै हामीहरु बैठकमा आएर छलफल गरौं । त्यसका लागि हामीले एक घण्टाको समय निकालौँ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप