शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणको पक्षबाट १५ वकिलको बहस : इमेज ड्यामेज गर्न मुद्दा चलाइएको जिकिर

बुधबार, ३१ जेठ २०८०, १४ : २८
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा  खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका हुन् । खाणको पक्षका वकिलले डेढ दिन लगाएर गरेको बहसमा पहिलो दिन मंगलबार १० जनाले बहस गरे । यस्तै बुधवार थप पाँच जना वकिलले बहस गरेका हुन् । 

मंगलबार खाणका तर्फबाट शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । 

यस्तै बुधवार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित सुरेन्द्र कुमार महतो, गोपालकृष्ण घिमिरे, ललितबहादुर बस्नेत र खम्बबहादुर खातीले बहस गरे । 

न्यायाधीश प्रेस प्रसाद न्यौपानको इजलासमा खाणको तर्फबाट बहस गर्दै गोपालकृष्ण घिमिरेले सम्भावना बोकेका नेताको इमेज ड्यामेज गर्न बिना प्रमाण मुद्दा चलाइएको जिकिर गरे । उनले टेकनारायण पाण्डेले हिरासतबाट खाणलाई लेखेको भनिएको पत्रको पनि कुनै आधिकारिकता नभएको जिकिर गरे । 

‘टेकनारायणको पत्र प्रमाण बनाउने कागजको रूपमा अभियोजन पक्षले पेस गरेको छ । तर त्यो कागजमा हस्ताक्षर र ल्याप्चे छैन’, घिमिरेले इजलासमा भने, ‘खाँणले पैसा बुझेको प्रमाण के छ ? सीसीटीभी फुटेको थियो होला । यो मुद्दा सार्वजनिक जीवन समाप्त पार्ने गरी बिना प्रमाण आएको छ ।’

भविष्यमा कांग्रेस पार्टीको सभापति बन्न सक्ने सम्भावना बोकेको मान्छेलाई ड्यामेज गरिएको उनको जिकिर थियो । ‘हचुवाको भरमा मुद्दा लगाइएको छ । उहाँलाई साधारण तारेखमा रिहा गरिनुपर्छ,’ उनले भने । 

उसो त मंगलबारको बहसमा पनि वकिलहरुले बालकृष्ण खाणको बचाउ गरेका थिए । अधिवक्ता पंकज कर्ण यससम्बन्धी जोहरीमा कतैपनि बालकृष्ण खाणको नाम उल्लेख नभएको बताए । 

इजलासमा बहसका क्रममा कर्णले सहअभियुक्तहरुले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने समेत जिकिर गरेका थिए । 

‘यो मिल्ने अवस्था छैन । यो प्रकरणमा टेकनारायण पाण्डेले नरेन्द्र केसीलाई पत्र लेखेको भन्ने कुरा जुन छ, केपी बालगायतलाई भनेर । त्यसमा ठूलो प्रमाण मानेको छ’, उनको भनाइ थियो, ‘त्यहाँ बालकृष्ण खाण अपराधी भनेर पुष्टि हुँदैन । सहअभियुक्तको पोलले खाणविरुद्ध वस्तुनिष्ठ प्रमाण पुग्दैन ।’

उनले लिखत किर्तेसम्बन्धी कसुरमा पनि खाणले यहाँ यहाँ कीर्ते गरेको कुनै प्रभाव नभएको बताए । उनले भने, ‘यो मुद्दामा लेनदेनमा कसैलाई मेसेज पनि गरेको छैन ।’

यसैगरी वरिष्ठ अधिवक्ता महादेव यादवले अदालतमा खाणले गरेको इन्कारी बयान अनुसन्धानमा प्राप्त दसी भन्दा विपरीत नभएको बताए । 

अर्का वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आरोपित पक्राउ गरेको २२ औँ दिनपछि प्रहरी प्रतिवेदनको भरमा मुद्दा ‘सङ्गठित’मा रूपान्तरण नहुने जिकिर गरेका थिए । बालकृष्ण खाणको विश्वसनीयता सिध्याउन सचिव टेकनारायण पाण्डेलाई दोस्रो पटक बयानमा पोल्न बाध्य पारेको खड्काको जिकिर थियो । 

अब इजलासमा आङ्टावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, टेकनाथ रिजाल र शमशेर मियातर्फका वकिलको बहस हुन बाँकी छ । उनीहरुको बहस आजै सकेर बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने तयारी छ । न्यायाधीशले आजै थुनछेक बहस सकेर आदेश दिने यसअघि घोषणा गरेको भएपनि प्रतिवादीतर्फका वकिल धेरै हुँदा बहस लम्बिन पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप